निर्णयसँगै देशका लागि १० लाख घण्टा



लोकप्रिय र्यापर निर्णय श्रेष्ठको अगुवाइ तथा युवाहरूको सक्रियतामा मिलियन आवर च्यालेन्ज अभियान काभ्रेपलाञ्चोक जिल्लाको दुर्गम स्थान चौंरी देउराली गाउँ पालिकाको नाग्रेस्थित राजवासबाट शुरू भएको छ।

र्यापर निर्णय श्रेष्ठको अगुवाइ तथा युवा समाजसेवी विजय खड्काको सक्रियतामा देशका लागि १० लाख घण्टा श्रमदान, हाम्रो अभियान भन्ने नारासहित उक्त अभियान शुरू भएको हो। स्वयंसेवकको रूपमा सहभागिता जनाउनेहरूमा सञ्चारकर्मीदेखि कोरियोग्राफरसम्म, मोडलदेखि गायकसम्म तथा समाजसेवीदेखि चिकित्सकसम्म थिए। काठमाडौंबाट दोलालघाट भई करिब एक सय किलोमिटरको विकट पहाडी मार्गको यात्रा गर्दै युवा स्वयंसेवकहरूको समूह नाग्रे पुगेको थियो।

शनिबार बिहान योगा तथा लाइफस्टाइल कोच डा.चिन्तामणि गौतमले सहभागी सबै स्वयं सेवकहरूलाई करिब एक घण्टाको योग प्रशिक्षण दिएका थिए। योग प्रशिक्षणपश्चात् मिलियन आवर च्यालेञ्जअन्तर्गत वन डे फर नेसनका लागि स्वयंसेवकहरू आफूलाई छुट्याइएको क्षेत्रमा खटिएको निर्णयले जानकारी गराए। कार्यक्रमका नेतृत्व लिएका समाजसेवी गायक निर्णय श्रेष्ठ तथा कार्यक्रमका संयोजक विजय खड्काले स्वयंसेवकहरूलाई गाउँका विभिन्न स्थानमा सरसफाइ गर्ने जिम्मा सुम्पिएका थिए। जसअनुसार रातो रंगको मिलियन आवर च्यालेन्ज अंकित टिसर्ट लगाएका स्वयंसेवकले स्थानीय चौतारो, तामाखानी प्राथमिक विद्यालय, स्थानीय नदीमा निर्माण भएको झोलुंगे पुल, निर्माणाधीन अवस्थामा रहेको डे केयर सेन्टरलगायतको सरसफाइ गरेका थिए।

‘देशका लागि महत्वपूर्ण एक घण्टा दिन सकियो भने समाज आफैं बन्छ भन्ने उद्देश्यले यो दश लाख घण्टाको च्यालेन्ज अभियान प्रारम्भ गरिएको हो’ गायक तथा अभियानका नेतृत्वकर्ता मध्येका एक निर्णय श्रेष्ठले बताए। ‘हामी झन्डै सय जनाको समूहले काभ्रेको यो दुर्गम गाउँमा केही घण्टा श्रमदान गर्दा केही न केही परिवर्तनको अनूभूति स्थानीयले समेत गर्नुभएको छ’ उनी भन्छन्। स्वयंसेवकहरू भेला भइरहेको स्थानमा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री तथा नाग्रेकै स्थानीय बासिन्दा रत्नप्रसाद ढकाल पुगेर आफ्नो गाउँमा आएर विकास, निर्माण, सरसफाइलगायत कार्यमा सामाजिक अभियान सञ्चालन गरेकोमा धन्यवादज्ञापन गरेका थिए। अभियानमा सेसस एसोसिएसन अफ नेपालले समेत सहकार्य गर्दै अभियानमा आबद्ध स्वयंसेवकहरूलाई निःशुल्क खानपिनको व्यवस्था गरेको थियो।

प्रतिक्रिया दिनुहोस्