स्वास्थ्य बिमा प्रभावकारी तर रिफरको सास्ती



पाल्पा ।

सुविधा लिन गाहे भए पनि सरकारले लागू गरेको स्वास्थ्य बिमा पाल्पामा प्रभावकारी वनेको छ । स्वास्थ्य बिमा बोर्ड पाल्पाका अनुसार पाँच वर्षको अवधिमा जिल्लामा करिब ८३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । पाँच वर्षमा २ लाख ६१ हजार १ सय ८० कुल जनसंख्या रहेको पाल्पामा २ लाख १७ हजार ९२ जना अर्थात् ८३ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गराएको कार्यालयका प्रमुख यम बहादुर चिदीले जानकारी दिनुभयो । नेपाल सरकारले योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम २०७३ देखि जिल्लामा शुरू गरेको थियो । यहाँका दुई नगरपालिका र ८ गाउँपालिकामा गरी १ लाख १३ हजार ४ सय ४२ जना महिला र १ लाख ३ हजार ५ सय ५३ जना पुरुषले स्वास्थ्य बिमा गराएको कार्यालयको भनाइ छ ।

बोर्डका अनुसार माथागढी गाउँपालिकामा १६ हजार १ सय ५२, पूर्वखोला गाउँपालिकामा १० हजार १ सय २२, निस्दी गाउँपालिकामा ७ हजार ६ सय ६१, रामपुर नगरपालिकामा २२ हजार १६, रम्भा गाउँपालिकामा १३ हजार ८ सय, बगनासकाली गाउँपालिकामा १७ हजार ७ सय ७७, तानसेन नगरपालिकामा ५४ हजार ३ सय ७२, तिनाउ गाउँपालिकामा ७ हजार ६ सय ६६, रिब्दीकोट गाउँपालिकामा १३ हजार ३ सय ६२ र रैनादेवी छहरा गाउँपालिकामा १४ हजार ३ सय ७७ जना नागरिकले स्वास्थ्य बिमा गराएका छन् । यहाँ २७ हजार ८ सय २२ जना जेष्ठ नागरिक, ५ सय ५९ जना पूर्ण अपाता भएका, १ सय ४९ जना एचआइभी संक्रमित,१ जना टिभी रोगी र १० जना कुष्ठरोगीहरुको निःशुल्क बिमा गरिदिएको बोर्डले जनाएको छ । ४ सय ३६ जना स्वयंसेविकाको भने ५० प्रतिशत सरकारले व्यहोर्ने छ ।

स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रतिपरिवारबाट वार्षिक ३ हजार ५ सय बुझाउनुपर्दछ । स्वास्थ्य बिमाको नाममा रिफर लिन सास्ती खेप्नु परेको आमनागरिकको गुनासो छ । प्रथम केन्द्र विन्दुबाहेक अन्यत्र जानका लागि रिफर कार्ड चाहिने हुँदा नागरिकले सहजै पाउन नसक्दा सास्ती खेप्नु परेको हो । सरकारी स्वास्थ्य संस्थामा गएका बीमितहरुको स्वास्थ्य परीक्षणबिना मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि रिफर दिइँदैन । जसका कारण बिरामीले एक दिन सरकारी अस्पताल र अर्को दिन आफुले चाहेको अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ । प्रथम सेवा केन्द्र विन्दु रहेका स्वास्थ्य संस्थाहरूले सिफारिस गरेवापत बीमितको बिमा रकमबाट प्रतिव्यक्ति २ सय रुपियाँ काट्ने गर्दछन् ।

यस कार्यक्रममार्फत् सरकारको अरबौं रुपियाँ खर्च भएको छ । सरकारको नीति स्पष्ट भए पनि आमजनताको बुझाई र कार्यन्वयन गलत रहेको जिल्ला बोर्ड प्रमुख चिदीले बताउनुभयो । सरकारले सरकारी अस्पताल तथा प्राथमिक उपचार केन्द्रलाई स्वास्थ्य बीमितको पहिलो सेवा लिनुपर्ने बाध्यात्मक व्यबस्था गरेपछि पाल्पाका स्वास्थ्य बीमितहरूले उपचारमा सास्ती भोग्दै आएका हुन । स्वास्थ्य बिमा वोर्डले पाल्पामा जिल्ला अस्पताल, रामपुर अस्पताल, खस्यौली प्राथमिक उपचार केन्द्र र ताहुँ प्राथमिक उपचार केन्द्रमा पहिलो सेवा लिनुपर्ने बाध्यकारी नियमकै कारण बीमितहरूले सास्ती भोग्नु परेको हो ।

जिल्ला अस्पताल पाल्पामा उपचारको पूर्ण सुविधा नहुँदा बिरामीहरू रिफर लिनकै लागि दुई दिनदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको छ । बिरामीले रिफरकै लागि एक दिन पाल्पा अस्पताल बिताउनुपर्छ अर्को दिन मात्र रिफर लिएर मिसन अस्पताल तथा लुम्बिनी मेडिकल जानुपर्ने बाध्यता रहेको छ । रिफर लिने झन्झटिलो प्रक्रियाका कारण बिरामीहरुको अनावश्यक खर्च बढेको छ । एकै दिन उपचार गराएर घर फर्किने बिरामीहरू दुई तिन होटलमा बसेर उपचार गर्नुपर्ने बाध्यता रहेको बिरामी धनकुमारी थापाले गुनासो गर्नुभयो ।

जिल्ला अस्पताल पाल्पामा हाल दैनिक १ हजार बिरामीले टिकट काट्ने र ९ सयभन्दा बढीले रिफर लिँदै आएका छन् । रिफर लिनेको अत्याधिक भीडलाई जिल्ला अस्पतालले समेत व्यवस्थापन गर्न सकेको छैन । बिमा बोर्ड, जिल्ला प्रशासन, जिल्ला स्वास्थ्य कार्यालयमा रिफरको समस्या सम्बोधन गर्न अनुरोध गरेको, अस्पतालले सक्दो व्यवस्थापन गर्दै आएको अस्पतालका मेडिकल सुपरिडेन्ट डा. जगदिश कुँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्