विद्यार्थीलाई खोप



सरकारले विद्यालयमै कोभिडविरुद्धको खोप दिने निर्णय गरेको छ । यस निर्णयले करिब ६० लाख बालबालिका लाभान्वित हुने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पुस ४ गतेदेखि १४ गतेसम्म विद्यालयमै पुगेर खोप दिने निर्णयको सबैले स्वागत गरेका छन् । अभिभावकहरूले खोप पाए पनि आफ्ना बालबालिकाले उपचार नपाएका कारण उनीहरूका मनमा असुरक्षाको भावना चुलिएको थियो । बाबुआमाले खाने तर बालबालिका भोकै रहनेजस्तो अमानवीय अवस्था थियो । त्यसलाई सरकारको पछिल्लो निर्णयले सच्याएको छ । सबै प्रसन्न हुनु स्वाभाविक छ ।

अविभावक महासंघ, प्याब्सन, एन प्याब्सनलगायत सरोकारवाला संस्थाले मन्त्री खतिवडाको यस निर्णयलाई महत्वपूर्ण भन्दै सबैलाई खोपको व्यवस्था गर्न अनुरोध गरेका छन् । सरकारले उपत्यकाबाहेक ५७ जिल्लाका स्कुले बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिने भएको छ । यो १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको लागि हो । सरकारले सबै नागरिकलाई अनिवार्यरूपमा खोप लगाउन सार्वजनिक अपिल गरिसकेको छ । यहाँसम्म कि खोप केन्द्र थप गरेर भए पनि यस वर्षभित्र सबैलाई खोप लगाउने योजना सार्वजनिक गरिसकेको छ । खोप लगाउन छुटेका सबैलाई आफूलाई पायक पर्ने स्थानमा पुगी कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले पटक–पटक आग्रह गरिसकेको छ । यहाँसम्म कि सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत खोप लगाउन अपिल गरिसकेको छ । घर र समाजसँग प्रत्यक्ष सम्बन्ध राख्ने बालबालिकालाई खोपको व्यवस्था गर्न मन्त्रालयले विशेष व्यवस्था गरिसकेको छ । हुन त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडालाई सबै विद्यार्थीलाई तत्काल खोपको प्रबन्ध गर्न आग्रह गरिसक्नुभएको जानकारीमा आएको थियो । सोही आधारमा स्वास्थ्य मन्त्रालयले विद्यालयमै खोपको व्यवस्था गर्ने निर्णय गरेको हो ।

पछिल्लो १० महिनाको अवधिमा नेपालमा २ करोड ९ लाख ९५ हजार ५ सय ३६ मात्रा खोप लगाइसकिएको छ, जसमध्ये १ करोड १६ लाख २९ हजार ६ सय २१ जनाले एक मात्रा खोप लगाएका छन् । दुई मात्रा अर्थात् पूर्ण मात्रामा खोप लगाउनेको संख्या ९३ लाख ६५ हजार ९ सय १५ भएको मन्त्रालयले जनाएको छ । यही तथ्यांकलाई आधार मान्दा अब करिब १ करोड जनसंख्या खोप लगाउन बाँकी देखिन्छन् । तीमध्ये अधिकांश स्कुले विद्यार्थी वा किशोरहरू छन् । सरकारले पुस मसान्तसम्ममा दुई तिहाइ जनसंख्यालाई पूर्ण मात्रा खोप दिने लक्ष्य राखेको छ । लक्ष्यअनुसार विभिन्न मुलुकबाट खोप आउने क्रम जारी छ । हिजो बिहीबार मात्र कोभ्यास सुविधाअन्तर्गत जर्मन सरकारले ४१ लाख डोज खोप उपलब्ध गराएको छ । यसरी, लगातार खोप आउने र लक्षित वर्गलाई उपलब्ध गराउँदै जाने हो भने अबको ३ महिनाभित्र सबै जनताले खोप लगाउन पाउनेछन् । पछिल्लो समय ओमिक्रोन भेरियन्टको तनाव बढिरहेको अवस्थामा सरकारले सबै नागरिकलाई समयमै खोपको व्यवस्था गरेर महत्वपूर्ण भूमिका खेलेको छ । यसका लागि सरकारलाई साधुवाद छ ।

प्रतिक्रिया दिनुहोस्