राजनीतिमा नैतिकता



कांग्रेसको १४औं महाधिवेशनको एउटा रोचक पाटो संस्थापन इतरपक्षको जसरी पनि नेतृत्व परिवर्तन गर्ने भन्ने थियो । यही एजेन्डा बोकेर सभापति शेरवहादुर देउवाबाहेक डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा उत्रिए । नयाँ नेतृत्व र युवा पुस्तालाई जिम्मेवारी भन्दै आएको यो समूह देउवाभन्दा पछि परेपछि एकीकृत ढंगले अघिबढ्ने, राजनीतिक इमान्दारी र नैतिकता बचाउने सबैको अपेक्षा थियो, तर त्यसो भएन । नेकाभित्र राजनीतिक नैतिकताको प्रश्न जन्मियो ।

पहिलो चरणको मतपरिणाम यी पाँचै जनाको पक्षमा आएन । अर्थात्, कुल खसेको मतमध्ये ५० प्रतिशतभन्दा बढी मत कसैले ल्याउन सकेनन् । कांग्रेसको विधानअनुसार दुईभन्दा बढी उम्मेदवार भएमा र कुल खसेको मतमध्य ५० प्रतिशत मत कसैले कटाउन नसके सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुन प्रतिस्पर्धा हुनेछ । परिणामतः दोस्रो चरणमा देउवा र कोइराला दोस्रो चरणमा पुगे । पहिलो चरणको मतदानको अन्तिम बेलासम्म सभापतिका दाबेदार कोइरालासँगै सिंह, निधि र गुरुङ देउवाको नेतृत्वमा कांग्रेस अघि बढ्न नसक्ने भन्दै महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्दै देउवाविरुद्ध पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत नआए दोस्रो चरणमा इतरपक्ष एक हुने बताइरहेका थिए । संस्थापनइतर समूह विभाजित भएर नेतृत्व दाबीका साथ चुनावी प्रतिस्पर्धामा आएपछि देउवा भने पहिलो चरणमै जितिन्छ भनेर हौसिएका थिए । कांग्रेसभित्र तेस्रो गुटको रूपमा रहेको कृष्णप्रसाद सिटौला समूहले समेत साथ दिइरहेको सन्दर्भमा आफ्नो सचिवालय समेतले मतदाताको जोड घटाउमा पहिलो चरणमै बाजी मार्ने रिपोर्ट दिएपछि देउवा अझ ढुक्क थिए ।

मतदान कार्यक्रम मध्यराती सकिएसँगै मतगणणा कार्य शुरू भयो । पहिलो चरणमै बाजी मार्ने दाउमा रहेका देउवा बिहान मतपरिणाम आएपछि संसंकित भए । चुनाव दोस्रो चरणमा गयो र इतर समूह मिल्दा पराजय हुने निश्चित भयो भनेर उनी चिन्तित बने । राजनीतिमा चतुर खेलाडीको रूपमा परिचित देउवा बिहानै सिंह र निधिलाई फकाउन खटिए । अघिल्लो दिन साँझसम्म जसरी पनि नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने एजेन्डा बोकेका सिंह र निधिको यु–टर्न भयो नेतृत्व पुनः देउवाको नभइ हुँदैन भनेर । नेतृत्व परिवर्तन गर्ने प्रमुख एजेन्डाका साथ कांग्रेस महाधिवेशन प्रक्रिया शुरू भएसँगै तीन महिनाअघिदेखि सभापतिको उमेद्वारी घोषणा गरी तयारी थालेका निधिले देउवासँग के त्यस्तो सम्झौता भयो र दोस्रो चरणमा देउवा नै चाहिन्छ भनेर समर्थन गरे ? अनि वर्षौंदेखि देउवाको कार्यक्षमतामाथि प्रश्न उठाउँदै नेतृत्व परिवर्तनको माग गर्दै आएका सिंहसँग के सम्झौता भयो एकै दिन देउवा सबैभन्दा उपयुक्त पात्र बन्ने ?

नेपाली कांग्रेसमा परिवर्तन र पुस्तान्तरणको नारा रटान गर्ने यी दुई नेताको बोलीमा एकाएक परिवर्तन केले ल्याइदियो ? के स्वार्थले निष्ठा र इमान्दारीतालाई तिलान्जली दिन पुगे ? आम कांग्रेस कार्यकताहरूले प्रश्न गर्न थालेका छन् । यो अघिवेशनबाट देउवाको शसक्त विकल्प बनेका नेता शेखर कोइरालाले भनेका छन–नैतिकता गुमाएपछि राजनीति हुँदैन । अघिल्लो अधिवेशनको प्रतिबद्धता फेरी दोहो¥याएर पुनः कांग्रेस नेतृत्व लिन सफल हुनुभएका सभापति देउवालाई बधाई ।

प्रतिक्रिया दिनुहोस्