देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग नगरेको बताएका हुन् ।

“निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढङ्गले केही अनलाइनमा आएको भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, नेता सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेता सिंहले प्रथम चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नुभएका तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्ने प्रतिबद्धताअनुसार आफूले सभापतिमा देउवालाई समर्थन गरेको बताए । उनले अन्य खाले अनर्गल भ्रममा नपर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्