पाल्पा–बुटवल सडक आजदेखि १५ दिन रातिमा बन्द हुने



पाल्पा ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।

चौडा बनाउन पहाड कटान गर्दा सडक बन्द गर्न लागिएको हो । सडक चौडा गर्दा माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गर्न थालिएको प्रमुख लम्सालले बताउनुभयो । बुटवलको सिद्धबाबाबाट झुम्सा पुलसम्म र कालिमाटीबाट गौडेपुलसम्मको क्षेत्रमा सडक चौडा गर्ने काम हुनेछ । हरेक दिन बुलुका ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने प्रमुख लम्सालले बताउनुभयो ।

रातिको समयमा सवारी बन्द गरेर काम गर्दा यात्रुलाई गन्तव्यमा पुग्न समस्या हुने भएकाले दिउँसोमा यात्रा गर्न अनुरोध गरिएको प्रमुख लम्सालले बताउनुभयो । पाल्पा, गुल्मी, स्याङ्जातर्फ सवारी आवागमन गर्ने प्रमुख सडकका रूपमा सिद्धार्थ राजमार्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्