पुस ४ देखि बालबालिकालाई कोरोनाविरुद्धको खोप



ईश्वरराज ढकाल, काठमाडौं । 

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकालाई कोरोना संक्रमणविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यही पुस ४ गतेबाट अभियानकै रूपमा उपत्यकाबाहेक ५७ जिल्लामा खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

अभियानका रूपमा लगाउन लागिएको मोडर्ना खोप हो । फाइजर खोप लगाएकालाई यो खोप दिन मिल्दैन । त्यसैले काठमाडौंमा फाइजर खोप लगाइएका कारण पुस ४ देखिको अभियानमा काठमाडौं उपत्यका छुटेको छ । केही दिनमा फाइजर खोप आउनेबित्तिकै राजधानीका बालबालिकालाई लगाइने बताइएको छ ।शिक्षण संस्थाहरू कोरोनाको उच्च जोखिम रहेकाले विद्यार्थी लक्षित खोप कार्यक्रम अघि बढाइएको प्रवक्ता डा. शर्माको भनाइ छ । सरकारले यो खोप विद्यालयमै पुगेर लगाइदिने तयारी गरेको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट बिहीबार १४ लाख ९७ हजार मात्रा मोडर्ना खोप नेपाल आइसकेको छ । यो साता करिब २० लाख मात्रा खोप नेपाल भित्रिँदै छ ।

यसअघि १ लाख ८४ हजार मात्रा मोडर्ना खोप नेपाल भित्रिएर देशभरका २४ अस्पतालबाट १२ वर्षमाथिका बालबालिकालाई लगाइएको थियो । दीर्घरोगी बालबालिकाको संख्या न्यून भएपछि अन्यलाई समेत सो खोप लगाइसकेको थियो ।यसअघि फाइजरको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्र लगाउने तयारी छ । केही दिनभित्र फाइजर खोप नेपाल आउने र काठमाडौंका बालबालिकालाई लगाउन शुरू गर्ने मन्त्रालयको भनाइ छ ।कोभ्याक्स सुविधाबाट नेपालले २०२२ मार्चसम्ममा ४० लाख मात्रा मोडर्ना खोप पाउने मन्त्रालयले जनाएको छ । सोही अवधिमा आउने गरी बालबालिकालाई नै लक्षित गरी ६० लाख मात्रा फाइजर खोप पनि खरिद गरिसकेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार नेपालमा १२ वर्षदेखि १७ वर्षसम्मका ३० लाखजति बालबालिकालाई खोप लगाउनुपर्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार करिब ६५ लाख विद्यार्थी खोप लगाउने प्रतीक्षामा छन् । ती बालबालिकालाई खोप उलपब्ध गराउने विषयमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच कुराकानी भएको थियो । सोही आधारमा सरकारले विद्यालयमै पुगेर खोप लगाउने तयारी गरेको हो ।१२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि पनि चाँडै नै खोपको व्यवस्थापन गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो विषयमा मन्त्रीज्यूले स्वास्थ्य मन्त्रीसँग कुराकानी गरिरहनुभएको छ । सम्भवतः केही दिनभित्र विद्यार्थीलक्षित अभियान शुरू हुनेछ । सरकारले अहिले ५७ जिल्लाका विद्यालयहरूबाट अभियान शुरु भएपछि निरन्तर अघि बढ्नेछ ।’

फाइजर खोप दिइएका २४ अस्पताल रहेका जिल्ला र सिन्धुलीबाहेकका ५७ जिल्लाका विद्यालयबाट मोडर्ना खोप लगाइनेछ । खोप व्यवस्थापन स्थानीय तहले गर्नेछ । खोप कार्यक्रम सञ्चालन हुने जिल्लामा सर्लाही, रामेछाप, दोलखा, बारा, रौतहट, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, मनाङ, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, गुल्मी, पाल्पा, म्याग्दी, पर्वत, मुस्ताङ, प्युठान, रोल्पा, रुकुम, सल्यान बर्दिया, दैलेख र जाजरकोटका विद्यालयहरूमा खोप केन्द्र राखिनेछ ।

त्यस्तै डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, बैतडी, दार्चुला, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, सिराहा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र महोत्तरीमा पनि यो अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अब कुनै पनि बहाना नगरी विद्यार्थीलाई खोपको बन्दोबस्त गर्न आग्रह गर्नुभएको छ । उहाँले समाज र परिवारसँग प्रत्यक्ष सम्बन्ध राख्ने बालबालिकालाई तत्काल खोप नलगाए कोभिड संक्रमण पुनः बढ्न सक्ने खतरा रहेको अवस्थामा विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न सबैलाई आग्रह गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्