ओली–नेपाल र प्रचण्ड एउटै मञ्चमा !



काठमाडौं ।

नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुने भएको छ । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उहाँ महाधिवेशनमा शुभकामना दिन जानुहुने भएको हो ।

महाधिवेशनमा सहभागी हुन ओलीलाई कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले निवासमै पुगेर आग्रह गर्नुभएको थियो । महतको आग्रहअनुसार आफू शुभकामना दिन सहभागी हुने आश्वासन दिनुभएको थियो । यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने जवाफ दिनुभएको थियो ।

एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चितवनमा पुगेर शुभकामना दिनुभएको थियो । एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–माधव समूहले निर्णायक कदम चालेदेखि ओली, प्रचण्ड र माधवकुमार नेपाल एकै मञ्चनमा सहभागी भएका छैनन् । शुक्रबार कांग्रेस महाधिवेशनमा ओली सहभागी भएको अवस्थामा प्रचण्ड–माधवसँग पहिलोपटक एकै मञ्चमा भेट हुने भएको छ ।

नेकपा एमालेका नेता शेरबहादुर तामाङले कांग्रेसका महाधिवेशनमा अध्यक्ष ओली शुभकामना दिन जाने कार्यक्रम रहेको बताउनुभयो । एमालेका अध्यक्ष ओलीले एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुने कार्यक्रममा सहभागी नहुने नीति लिँदै आउनुभएको छ । यसअघि संसद्को अवरोध हटाउनको प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादी सहभागी भएको भन्दै एमालेले बहिष्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्