स्वास्थ्य शिविरबाट २ हजार बढीले लिए सेवा



वासुदेव शर्मा, जाजरकोट ।

जाजरकोटको बारेकोट गाउँपालिका–२ लिम्सामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ हजार बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् । बारेकोट गाउँपालिकाको समन्वय र कादुरी एग्रिकल्चरल एसोसियसन ब्रिटिस गोर्खाज नेपाल पोखरा–१६ कास्कीको आयोजनामा बारेकोट प्रशासनिक केन्द्र लिम्सामा शिविर सञ्चालन भएको थियो ।

भौगोलिक हिसाबले दुर्गम बारेकोटका अधिकांश नागरिकलाई साँझ–बिहानको छाक टार्न नै मुस्किल हुने गरेको छ । जग्गा–जमिनमा उब्जनी गरेको अनाजले उनीहरूलाई ६ महिना पनि खान पुग्दैन । ज्यालामजदुरी गरी जीविका चलाइरहेका नागरिक घरआँगनमै निःशुल्क उपचार तथा औषधि पाएपछि खुसी भएका थिए् ।

बारेकोट–४ जिरीका ७७ वर्षीय धनबहादुर सार्कीले आठ बर्ष पहिले दुईवटै आँखामा मोतीबिन्दु लागेका कारण ज्योति गुमाएका थिए । आठ वर्षपछि आँखाको उपचार पाएर नयाँ संसार देख्न पाएको उहाँले बताउनुभयो । त्यस्तै, बारेकोट–३ मुलसामकी ६० वर्षीय रतनकला शाहीले पनि आँखाको ज्योति गुमाउनुभएको थियो । ‘गाउँमै निःशुल्क उपचार पाउँदा नयाँ संसार देख्न पाइयो ।’–उहाँको कथन छ ।

नागरिकलाई सामान्य उपाचार गर्न जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । घर–आँगनमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुसी लागेककोस्थानिय भीमबहादुर सिंह बताउनुहुन्छ । ‘निःशुल्क सेवा दिएर नयाँ संसार देखाउने समन्वयकर्ता र आयोजकलाई धन्यवाद छ ।’ –उहाँ भननुहुन्छ । दुर्गमका २ हजार बढी नागरिकलााई स्वास्थ्य सेवा दिने उद्देश्यले गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरेको क्याम्प इन्चार्ज राजन राईले बताउनुभयो । पोखरा, काठमाडौंलगाएत अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य सेवा दिएको उहाँको भनाइ छ ।

स्त्री रोगसम्बन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतीबिन्दुको शल्यक्रिया, दाँतको उपचारलगायत अन्य सामान्य स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरिएको थियो । २३ जना मेडिकल स्टाप र १४ जना स्वास्थ्यकर्मी शिबिरमा खटिएका थिए । कमजोर आर्थिक अवस्था भएका उपचार गर्न नपाएका नागरिकलाई स्वास्थ्य सेवा दिन शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्