नेपाली कांग्रेस प्रतिको अपेक्षा



सत्तारूढ दल नेपाली कांग्रेसको महाधिवेशन अबको दुई दिनपछि राजधानीमा शुरु हुँदै छ । नेपालको पुरानो लोकतान्त्रिक पार्टीप्रति ठूलो परिमाणमा नेपालीले आशाको नजर लगाएका छन् ।

पछिल्लो समय राजनीतिक दलहरु लोकतान्त्रिक अभ्यासप्रति कमजोर भएका, लोभलालच बढी देखिएको, आर्थिक चलखेल बढेको र निर्वाचन पद्धति खर्चिलो भएका कारण विकृति चुलिएको गुनासो आइरहेका बेला नेपाली कांग्रेस कसरी अघि बढ्छ, सबैमा चासो हुनु स्वाभाविक पनि हो । तर, पछिल्ला गतिविधि हेर्दा निराशा नै बढी देखियो ।वडादेखि प्रदेश अधिवेशन सम्पन्न गरेको कांग्रेसको ध्यान अब महाधिवेशनतर्फ केन्द्रित हुन थालेको छ । पार्टीभित्र विभिन्न गुटमा विभाजित नेताहरु आफ्नो समूह बनाउन व्यस्त देखिन्छन् । महाधिवेशनको मिति नजिकिन थालेसंँगै नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रमले तीव्रता पाएको छ ।

पार्टीको नीति सिद्धान्तभन्दा पनि कुन नेताको दौराको फेर समातेर उम्मेदवारी घोषणा गर्ने भन्ने चिन्ता नेताहरुमा देखिन्छ । संस्थापन पक्ष र संस्थापनइतर पक्ष अहिले भिडेर लागेको देखिन्छ । संस्थापन पक्षको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने प्रयास गरे पनि सो समूहमा समेत सहमति हुन सकेको अवस्था छैन ।

पौडेल समूहमा देखिएको बेमेलको फाइदा संस्थापन पक्षले उठाउने प्रयास गरेको देखिन्छ । पौडेल समूहमा आबद्ध भनिएकाहरुबाटै भटाभट सभापतिमा उम्मेदवारी घोषणा गरिनुले पौडेल समूह नैतिक संकटमा परेको देखिन्छ । संस्थापन पक्ष भने संस्थापनइतरभित्र देखिएको बेमेलको फाइदा उठाएर फेरि सभापति बन्ने दौडमा देउवा रहेको देखिन्छ । संस्थापन पक्षभित्र पनि आफूले भनेको पद नपाए गुट परिर्वतन गरेर अर्को गुटमा जाने धम्की दिएपछि संस्थापन पक्षलाई पनि सजिलो भने छैन ।

पदाधिकारीमा आकांक्षीहरु बढी देखिएपछि संस्थापन पक्षभित्र पनि देउवाका किचन क्वाबिनेटमा रहेका नेताहरु आन्तरिक छलफलमा व्यस्त रहनुले पनि सो समूहलाई सजिलो भने देखिँदैन । संस्थापनइतर समूहले सभापतिको साझा उम्मेदवार छान्न सकस हुनु र संस्थापन पक्षलाई पदाधिकारीमा क–कसलाई ल्याउने भन्ने विषय जटिल बन्नुले आगामी महाधिवेशनमा कसले बाजी मार्छ भन्ने अवस्था अहिले जटिल बन्दै गएको छ । वडादेखि प्रदेश अधिवेशनमा दुई समूहमा विभाजन भएका नेता तथा कार्यकर्ताको मनलाई जोड्ने नेतृत्व अहिले कांग्रेसलाई चाहिएको छ ।

एक–आपसमा भिडन्त गरेर पार्टीभित्र नै विपक्षी समूह खडा भएकाले सो समूहलाई समेत पार्टीभित्र समाहित बनाएर लैजानुपर्ने नेतृत्व आउनु जरुरी देखिन्छ । स्थानीय तह, प्रदेश र संघीय निकायको निर्वाचनसमेत नजिकिँदो अवस्था रहेकाले त्यसलाई मध्यनजर गरेर नेपाली कांग्रेसले आफ्नो महाधिवेशनबाट एकताको सन्देश दिन जरुरी देखिन्छ ।मूलधारमा रहेका राजनीतिक दलहरु विभाजन र विघटनको संघारमा रहेकाले कांग्रेस विभाजित भएर होइन एकताबद्ध भएर महाधिवेशनमा जानुपर्ने आवश्यकता छ ।

होइन भने मुलुक फेरि अस्थिरतातर्फ नजाला भन्न सकिन्न । हालै चितवनमा महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेको १०औं महाधिवेशनले एकताको सन्देश दिएर देशभर नेता तथा कार्यकर्तालाई परिचालन गरेको अहिलेको अवस्थामा कांग्रेसले पनि अधिवेशनपछि नेता–कार्यकर्तालाई देशव्यापीरूपमा परिचालन गरी एकताको सन्देश दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्