देशको शिर निहुरिने कुनै पनि काम गर्दिन : मन्त्री आले



विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुँरीने खालका कुनै पनि काम र गतिविधि नगर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले तीन करोड नेपाली जनताको हितका लागि काम गर्न आफू मन्त्री भएकाले पदमा रहँदा वा नरहँदा गलत काम कहिल्यै पनि नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली नागरिक र देशको हित हुने बाहेक म अन्य कुनै पनि गलत काम गर्दिन र गर्न पनि दिन्न ।”

कसैको करकाप तथा दबाबमा पनि गलत काम नगर्ने र त्यस्ता कार्य गर्नेलाई कारबाही गरिने समेत मन्त्री आलेले स्पष्ट पार्नुभयो । मन्त्री भएको दुई महिने कार्यकालमै आफूले मन्त्रालय तथा मातहतका निकायमा हुँदै आएका कमी कमजोरी तथा गलत कामलाई निरुत्साहित गर्दै आएको दाबी गर्नु हुँदै मन्त्री आलेले थप भन्नुभयो, “मन्त्रालय तथा मातहतका निकायमा सदियौँदेखि हुँदै आएका सूचना, टेन्डर (ठेक्का) सेटिङ गर्ने देखि अन्य विभिन्न कामलाई बन्द गरेको छु, गलत काम गर्ने कारबाही गर्छु, राम्रो काम गर्ने लाई पुरस्कृत गर्छु ।” मन्त्रालय तथा मातहतका निकायमा हुने गरेका कमी कमजोरीका बारेमा जानकारी भए आफूलाई जानकारी दिन समेत उहाँले सबैमा आग्रह गर्नुभयो ।

उक्त कार्यक्रमका अधिकांश वक्ताहरूले नेपालका विमानस्थलमा पलाएका घाँसमा चरा चराचुरुङ्गी गुड बनाउने भएका कारण चराहरू र जङ्गली जनावर विमानमा ठोकिने र ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेकाले विमानस्थल आसपासमा पलाएका ठूला घासँहरु हटाउनु पर्ने माग राखेका थिए ।

वक्ताहरूले राखेका मागहरूको सम्बोधन गर्ने क्रममा मन्त्री आलेले विमानस्थलमा उम्रिएका घाँस तत्काल काट्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । “विमानस्थलमा उम्रिएका घाँसहरु हटाउनुस्, घाँस नहटाएका कारण विमानमा जनावर वा चराचुरुङ्गीबाट क्षति वा दुर्घटना भए त्यसको भागिदार सम्बन्धित विमानस्थल प्रमुख हुने छ” उहाँले भन्नुभयो, “घाँस काट्ने बजेट विनियोजन गछौँ, घाँस हटाउनुस् ।”

मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल वायुसेवा निगमलाई माथि उकास्नका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वायुसेवा निगमले जहाज किनेको ऋण तिर्नै बाँकी छ, निगमलाई जोगाइ राख्न भए पनि सबैको साथ र सहयोग अपरिहार्य रहेको छ ।” यसै गरी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले विमानस्थल तथा नेपाल वायुसेवा निगमहरूमा सुधारका कामहरू भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्