अडान नभएका पदाधिकारीको कारण त्रिविमा समस्या

खुला प्रतियोगिताबाट मात्र स्थायी गर्न प्रमलाई ज्ञापनपत्र



ईश्वरराज ढकाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । आन्दोलनरत ६ पार्टी आबद्ध विद्यार्थी संगठनले खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्ति गर्न चेतावनी दिएका छन् ।

त्रिविका तीन पदाधिकारीले आफ्नो कुर्सी जोगाउन १० वर्ष काम गरेका शिक्षकलाई स्थायी गर्ने प्रपञ्च बनाएका थिए । विभिन्न दलका नेताका आफन्त, त्रिविका पदाधिकारी, कर्मचारी र विद्यार्थी संगठनका नेताका आफन्तलाई करारमा जागिर खुवाएपनि उनीहरुलाईनै स्थायी गर्न पदाधिकारीले सिनेटबाट प्रस्ताब पारित गरेका थिए ।तीनै पदाधिकारीको अडान नभएको कारण गम्भीर समस्या आएको हो । करिब ५ सय आंशिक शिक्षकलाई व्यवस्थापन गर्दा आर्थिक अभावको कारण त्रिवि टाट पल्टन सक्ने विषयलाई वेवास्ता गर्ने पदाधिकारीका कारण समस्या देखिएको हो ।

सो प्रस्ताबको विरुद्धमा विद्यार्थी संगठनले उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा तालाबन्दी गरेका थिए । कुनै ठोस निर्णय गर्न नसक्ने उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कुलपति एवं प्रधानमन्त्री शेरबाहुर देउवाको निर्देशनमा आंशिक प्राध्यापकलाई स्थायी गर्ने निर्णय गराएका थिए ।

खुला प्रतिस्पर्धा बिना स्थायी गर्न नहुने भन्ने विषयमा अडान राख्न नसकेका उपकुलपति बास्कोटाले कुलपतिको आदेश सहर्ष स्वीकार गरेको एक कर्मचारीको आरोप छ । सोही कारण सबै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएको छ– ती कर्मचारीले भने । उपकुलपति कहा हुनुहन्छ जानकारी छैन , वार्ता गरेर वा सिनेटको विशेष बैठक बोलाएर निर्णय नगरेसम्म उहाहरुलाई सबैले विरोध गर्नेछन– ती कर्मचारीको भनाई थियो ।

त्रिविको मनोमानीको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियु सहित सात विद्यार्थी संगठनका नेताहरुले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै हचुवाको भरमा स्थायी नगर्न चेतावनी दिएका थिए ।ज्ञापन पत्रमा विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा खुल्ला प्रतिस्पर्धाबाट मात्र शिक्षक कर्मचारी नियुक्तिको वातावरण बनाउन माग गरिएको छ । यसैगरी चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने मणिपाल लगायतका सबै मेडिकल कलेजलाई कारबाही गर्दै शुल्क फिर्ता गर्न,सात विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

ज्ञापन पत्रमा अनेरास्ववियु अध्यक्ष सुनिता बराल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र,वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक राजेश्वरी सुवेदी, अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर रायमाझी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियनका अध्यक्ष धनसुर शाही, राष्ट्रिय विद्यार्थी संघका महासचिव रोशन मिश्र र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेको हस्ताक्षर छ ।

उता पुर्व उपकुलपतिहरुले पनि सो निर्णय प्रति कडा आपत्ती जनाएका छन् । पुर्व उपकुलपतिको तर्फबाट केदारभक्त माथेमा, प्राडा कमलकृष्ण जोशी, हिराबहादुर महर्जन लगायतले हस्ताक्षर गरेका छन् । पुर्वउपकुलपतिहरुले तत्काल सिनेटको विशेष बैठक गरी निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

यही मंसिर १४ गते वालुबाटारमा बसेको सिनेट बैठकले आंशिक शिक्षकलाई स्थायी गर्ने निर्णय गरेको थियो । तीन
जना पदाधिकारीले अडान नलिएको कारण समस्या आएको कर्मचारीको भनाई छ । खुला प्रतिस्पर्धामा आउन नसकेपछि विशेषगरी नेपाली काग्रेस निकट प्राध्यापक संघको दबाबमा आंशिकशिक्षकलाई स्थायी गर्न लागिएको हो । देशभरबाट भेला भएका आंशिक र करार शिक्षकले त्रिविमा दैनिक धर्ना सहित कोणसभा जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्