आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने



काभ्रे ।

नेपाली काँग्रेसका नेता मधुप्रसाद आचार्यले आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताउनु भएको छ । नेपाली काँग्रेस भित्र नेता र नीति दुवै रूपान्तरित हुनुपर्ने मूल एजेन्डा बोकेर आचार्यले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।

१२ औँ महाधिवेशन पछि सुशील कोइरालाको कार्यकालमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक भएर देशभर काँग्रेसको पक्षमा जनलहर सृजना गर्न अगुवाइ गर्नुभएको आचार्य काँग्रेस भित्र बौद्धिक नेताको रूपमा परिचित हुनुहुन्छ । बिपी विचार यात्रा र गणेशमान बलिदान अभियान सञ्चालन गरी देशभर बिपीको विचार र गणेशमानको क्रान्तिकारी गाथाको प्रचार गर्न अगुवाइ गर्नुभएको आचार्य १३औँ महाधिवेशनमा काभ्रे जिल्ला सभापति थिए ।

गणतन्त्रको पक्षमा खरो रूपमा उत्रने आचार्यले राजा ज्ञानेन्द्रको कु विरुद्ध जिल्ला सभापतिहरूको पहिलो भेला काठमाडौंको ठमेलमा राख्न अगुवाइ गर्दै त्यो भेलाबाट काँग्रेसले गणतन्त्रको बाटो लिनुपर्छ भन्ने प्रस्ताव पारित गराउनु महत्त्वपूर्ण भूमिका निभाउनु भएको थियो । गणतन्त्र र संविधानसभाको पक्षमा खरो रूपमा उत्रिएकै कारण राजा ज्ञानेन्द्रले कु गरेकै दिन आचार्यलाई ककनीमा लगी बन्दी बनाइएको थियो । बन्दी गृहबाट निस्किए लगत्तै आचार्यले नरहरि आचार्य, गगन थापा लगायतका नेताहरु हातेमालो गर्दै नेपाली काँग्रेस लोकतान्त्रिक गणराज्य अभियान सञ्चालन गर्दै नेपाल भए सबै जिल्लामा कार्यक्रम गर्नुभएको थियो ।

काँग्रेस नेता रामचन्द्र पौडेल पक्षको भनेर चिनिएका आचार्यले पार्टी विधि र विधान अनुसार चल्नुपर्ने कुरालाई प्राथमिकता राखेको बताउनु भएको छ । नेता र नीति दुवै रूपान्तरित काँग्रेस अबको आवश्यकता भन्दै उहाँले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्