वित्तीय संघीयतालाई बलियो बनाउन विश्व बैंकद्वारा ५ विषय पहिचान



काठमाडौं । 

नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरे पनि वित्तीय स्थिरताका लागि अझै प्रयासको जरुरी रहेको विश्व बैंकले जनाएको छ । सोमबार विश्व बैंकले काठमाडौंमा सार्वजनिक गरेको सार्वजनिक खर्चको समीक्षा ‘पब्लिक एक्सपेन्डिचर रिभ्यू अन फिस्कल पोलिसी फर सस्टेनेबल डेभलपमेन्ट’ प्रतिवेदनले वित्तीय स्थिरता र हरित, लचिलो र समावेशी विकासका लागि सहायताको आवश्यकता औंल्याएको हो ।

मुलुक संघीयतामा गएपछि खर्चको दायित्व पनि प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएको छ । अन्तर–सरकारी हस्तान्तरण र राजस्व बाँडफाँडको माध्यमबाट यस्तो लगानी हस्तान्तरण भएको छ । वार्षिक बजेटको करिब ३० प्रतिशत ९कुल गार्हस्थ उत्पादनको ८ देखि ९ प्रतिशत० लगानी हस्तान्तरण भइरहेको छ । संघीयताले नीति निर्माणको प्रक्रियालाई जनताको नजिक ल्याएको छ तर यसका कारण यसले वित्तीय खर्च बढेको छ ।

कोरोना महामारीका कारणले यस्तो खर्च अझै बढेको छ। यसरी खर्च बढ्दा देशको वित्तीय घाटा र सार्वजनिक ऋणको मात्रा बढेको प्रतिवेदनले देखाएको छ ।‘संघीयतालाई बलियो बनाउनका लागि हामीले गरेका प्रयास र हरित, पुनुरूत्थाशील र समावेशी विकासका लागि हामीले गरिरहेको पहलका लागि यो रिपोर्टले विश्लेषणात्मक आधार प्रदान गरेको छ’ अर्थसचिव मधुकुमार मरासिनीले भन्नुभयो–‘ वित्तीय हस्तान्तरण प्रणालीलाई सुधार गर्दै नियमन र प्रतिवेदन प्रणालीलाई स्थापित गरी स्थानीय सेवालाई थप परिणाममुखी र उत्तरदायी बनाउने हाम्रो प्रयासलाई यस प्रतिवेदनले थप बल दिनेछ ।’

प्रतिवेदनले वित्तीय दिगोपनालाई बलियो बनाएर हरित, पुनुरूत्थानशील तथा समावेशी विकासतर्फको यात्राका लागि गरिनुपर्ने सुधार पहिचान गरेको छ । यसले विशेषगरी पाँच प्रकारका उच्च प्राथमिकता पहिचान गरेको छ । अन्तर सरकारी अनुदान प्रणालीमार्फत् तहगत सरकारको खर्च उत्तरदायित्वलाई ताजगी पार्न उत्प्रेरित गर्ने, आयात करमा सुधारको माध्यमबाट निर्यात र रोजगारी सिर्जनामा सहयोग गर्ने, मूल्य अभिवृद्धि कर छुटमा गरिने समीक्षा जस्ता कामबाट आन्तरिक राजस्वलाई बलियो बनाउने, राष्ट्रिय परियोजना बैंकलाई कार्यान्वयनमा लिएर सार्वजनिक पुँजीगत खर्च बढाउनेस र हरित वृद्धितर्फको परिवर्तन लागि वित्तीय उत्प्रेरणा दिने रहेका छन् ।

प्रतिवेदनले देखाएका वित्तीय दिगोपना तथा वित्तीय संघीयता कार्यान्वयन जस्ता विषयमा सुधार गर्नका लागि सदाझैं विश्व बैंक सरकारलाई सहयोग गर्न तयार रहेको विश्व बैंकका नेपाल, श्रीलंका र माल्दिभ्सका लागि देशीय निर्देशक फारिस हदाद जार्भोसले बताए । ‘यो रिपोर्ट र विश्व वैंकको अर्को मानव विकाससम्बन्धी सार्वजनिक खर्चको समीक्षा रिपोर्टले विश्व बैंकलाई नेपाललाई गरिने सहयोगको खाका बनाउन मद्दत गर्नेछ र यो नीतिगत विकास ऋणलगायतका विभिन्न सहायता आयोजनाका लागि पनि सहयोगी हुनेछ।’ जार्भोसको भनाइ थियो ।

प्रतिवेदनले हरित वृद्धिको लागि लगानी प्रक्रिया र वित्तीय नीतिहरूको सुदृढिकरणको आवश्यकतालाई जोड दिएको छ । नेपालले जनताको स्वास्थ्य र अर्थतन्त्रको रक्षा गर्नका लागि वायु प्रदुषणको लक्ष्य पूरा गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ । हरित ऊर्जाको प्रयोग बढाउनका लागि गर्नुपर्ने वित्तीय सुधारतर्फ ध्यान दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्