साफ यू–१९ खेल्ने फुटबल टोलीको बिदाइ



काठमाडौं । 

साफ यू–१९ च्याम्पियनसिपमा खेल्ने नेपाली महिला यू–१९ फुटबल टिमलाई सोमबार बिदाइ गरिएको छ । टिम मंगलबार बंगलादेश जाने कार्यक्रम रहेको छ । बंगलादेशको ढाकामा डिसेम्बर ११–२२ सम्म हुने प्रतियोगिता आयोजना हुनेछ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटानले सहभागिता जनाउनेछन् । राउन्ड रोबिनमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । नेपालको फाइनल पुग्ने सम्भावना बलियो रहेको छ ।आइतबार अञ्जना रानामगरको कप्तानीमा २३ सदस्यीय टोली घोषणा भएको थियो । प्रशिक्षक हरिओम श्रेष्ठको नेतृत्वमा पछिल्लो तीन सातायता टिम एन्फा कम्प्लेस सातदोबाटोमा प्रशिक्षणमा थियो । उपमेयर कपको प्रदर्शनको आधारमा एन्फाले टिम दुई चरण गरी खेलाडी छनोट गरेको थियो ।

यसअघि, ४० खेलाडी पहिलो चरण छनोट भएका थिए ।नेपाली टिमको नेतृत्व गर्ने गोलरक्षक अञ्जना रानामगर राष्ट्रिय महिला टिमकी सदस्यसमेत हुन् । अन्य राष्ट्रिय खेलाडी डिफेन्डर विमला विक, मिडफिल्डर प्रीति राई र फरवार्ड रश्मीकुमारी घिसिङ, सविता रानामगर र रजनी थोकर पनि यू–१९ टिमा समावेश भएका छन् । यस्तै, यू–१६ उमेर समूह र यसअघि यू–१९ उमेर समूहमा खेलिसकेका खेलाडी टिममा रहेका छन् ।

नेपाली टिम: अञ्जना राना मगर, सावित्री किसान, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मञ्जु कुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मीकुमारी घिसिङ, सदीपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दीपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रीति राई, अमिषा कार्की, मेनुका कुमारी आलेमगर ।

प्रतिक्रिया दिनुहोस्