म्यानचेस्टर युनाइटेडको जित



लन्डन, (एजेन्सी) । 

नयाँ अन्तरिम प्रशिक्षक राल्फ राङनिकको डेब्यू खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जितको नतिजा निकालेको छ ।

प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको १५औं साताको खेलमा युनाइटेडले आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्ड रंगशालामा पाहुना टोली क्रिस्टल प्यालेसमाथि १–० गोलअन्तरको साँघुरो जित निकालेको हो । योसँगै युनाइटेडले जारी सिजनमा सातौं जित निकालेको छ ।

जर्मन प्रशिक्षक राङनिकले टोली सम्हालेपछिको पहिलो खेलमा युनाइटेडले पाहुना टोलीविरुद्ध कठिन जित निकाल्दा एक मात्रै विजयी गोल ब्राजिलियन खेलाडी फ्रेडले गरेका थिए । पछिल्लो समय लगातार उत्कृष्ट लयमा रहेका उनले ७७औं मिनेटमा डी–बक्स बाहिरबाट वान टचमा गरेको प्रहारले सोझै जाली चुमेको थियो । गोल सट रोक्न क्रिस्टल प्यालेसका किपरले कुनै मौका नै पाएनन् । उनको गोलमा सब्सिच्यूट खेलाडी मासोन ग्रिनउडले पास दिएका थिए ।

ठूलो संघर्षपछि गोल गरेर खेलमा लिड लिएको युनाइटेडले अन्ततः सोही अग्रता बचाएर १–० ले खेल जित्न सफल भयो । यससँगै युनाइटेडले घरेलु लिगमा लगातार दोस्रो जित हात पारेको छ । पछिल्ला खेलमा लगातार खराब नतिजा भोग्दै आएको उसले पछिल्ला दुई खेलमा भने लगातार जित निकालेको छ । यसअघिको खेलमा उसले आर्सेनलमाथि ३–२ को जित निकालेको थियो । अब यो जितपछि युनाइटेड १५ खेल सकिँदा २४ अंक जोडेको छ । अर्कोतिर, युनाइटेडसँग पराजित प्यालेसको १६ अंक मात्र छ ।

प्रतिक्रिया दिनुहोस्