हिमाली प्रेमकथामा मन्त्र



गात मल्ल, बुद्धि तामाङ र दिया पुन स्टारर फिल्म मन्त्र आगामी माघ २८ बाट रिलिजमा आउने भएको छ। कोरोना महामारी र लकडाउनका कारण थन्किएको फिल्ममा हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको छ।

गोर्खा सिरानचोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको मन्त्र अर्गानिक फिल्म बनेको निर्माण पक्षको दाबी छ। करिब पाँच हजार एक सय भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्यामसम्म पुगेर मेहनतका साथ फिल्मको छायांकन गरिएको निर्देशक खिलबहादुर गुरुङले बताए।

फिल्म गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको छ। मनास्लु क्षेत्रमा पहिलोपटक छायांकन गरिएको फिल्मका दृश्यले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ। फिल्ममा गोर्खा जिल्लाको चुमनुब्री, सामा गाउँ, वीरेन्द्र ताल र पुङिन गुम्बालगायतका रमणीय दृश्य कैद गरिएको छ।

फिल्मले हिमाली प्रेम कथा बोल्ने निर्देशक गुरुङले बताए। फिल्ममार्फत सौगात र दियाले पहिलोपटक स्क्रिन सेयर गरेका छन्। फिल्ममा नमिता घिसिङ, वीर बहादुर लामा, पासाङ टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ। देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ निर्माता रहेका छन्।

साम्तेन भुटियाले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्