पर्सामा निर्बाध रूपमा गिट्टी बालुवाको तस्करी



कृष्णउदास खनाल

वीरगन्ज,पर्साको ग्रामीण क्षेत्रमा रहेका खोलाहरूबाट प्रहरी र बन कर्मचारीको मिलेमतोमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन र तस्करी भइरहेको छ ।

पर्सा गढी नगरपालिका अन्तर्गत पर्ने सिङ्गगाही, जमुनिया खोला, जिराभवानि गाउँपालिकामा पर्ने सुगिभार र पटेर्वा सुगौली गाउँपालिकामा पर्ने गादी खोलाबाट अवैध रूपमा नदीजन्य प्रदार्थको उत्खनन तथा तस्करीमा वृद्धि भएको हो । स्थानिय तहले साउन १ गते देखिनै गिट्टी, बालुवा, डुङ्गाको उत्खनन तथा निकासीमा रोक लगाएपछि अहिले तस्करहरू प्रहरी र बन कर्मचारी कै मिलेमतोमा गिट्टी बालुवाको तस्करी गरी निजी कार्यको लागि स्थानीयलाई महँगो दरमा बिक्री गरिरहेका छन् ।

तस्करहरूले सिङ्गगाही खोला, गादी, जमुनिया सुगिभार  खोलाबाट बनका कर्मचारी र प्रहरीको मिलेमतोमा व्यापक रूपमा खोलाहरूबाट बिहान ,बेलुका र रातीको समयमा गिट्टी, बालुवा र डुङ्गाको तस्करी गरिरहेको स्थानीयहरूले बताएका छन् । खोलाको क्षेत्रमा पर्ने सब डिसिजन बन कार्यालय बड निहार, रेन्ज पोषट छतिवनटाडी, मनवा रेन्ज पोस्ट, सेक्टर बन कार्यालय रंगपुर, सब डिभिजन बन कार्यालय वसन्तपुर तथा बड निहार प्रहरी चौकी, मनवा प्रहरी चौकी रङपुर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली प्रहरी चौकी हरैया मिलेमतोमा तस्करी हुने गरेको छ ।

नदिहरुबाट बिहान बेलुका तथा राती गरी दर्जनौ टेक्टरहरु खोलामा प्रबेश गरी गिट्टी बालुवा तथा ढुंगा लोड गरी दिन दहाडै तस्करहरूले बन कार्यालय र प्रहरी चौकीको अगाडिबाट ल्याउदा समेत उनीहरु मुखदर्शक बन्ने गरेकोले उनीहरूको पनि मिलेमतो रहेको स्थानीयले अंशका गरेका छन् । अहिले पर्सा गढी नगरपालिका जिरा भवानी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिकामा २५ सय पर्ने गिट्टी बालुवा ४ हजारमा र ढुंगा ५ हजार पर्ने ८ हजारमा तस्करहरूसङ किनेर निजी कार्य गर्नु परिरहेको स्थानीयले बताएका छन् ।

पर्सामा जिरा भवानी गाउँपालिकामा पर्ने भलुवाहि खोला र पर्सागगढी नगरपालिकामा पर्ने कर्जनिया खोला बाहेक अरू खोलाको ठेक्का नभएकोले पनि प्रहरी र बन कर्मचारीले कमाउने भाडो बनाएपछि लाखौँको राजस्व खेर गइरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्