भरतको गोलमा आर्मीलाई जितको स्वाद



काठमाडौं  ।

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले जितको स्वाद लिएको छ । अघिल्ला दुई खेलमा निरस नतिजा बेहोरेको आर्मीले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हरायो । विभागीय टिमको लागि निर्णायक गोल कप्तान भरत खवासले गरेका हुन् । खवासले निर्धारित समय सकिन ५ मिनेट बाँकी हुँदा वान भर्सेस वानमा गोल गरे । उनलाई सन्तोष तामाङले बल सप्लाई गरेका थिए ।

शुरूदेखि आक्रामक खेलेको आर्मीले जित हात पार्न निकै कसरत गर्नुपरेको थियो । तालमेल नमिल्दा पहिलो हाफमा पाएका केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा पनि दुवै टिमका खेलाडीले निरस प्रदर्शन गरेका थिए । तर, खेल बराबरीतिर लम्किरहेको अवस्थामा खवासले गोल गरेर आर्मीलाई स्पष्ट ३ अंकको हकदार बनाए ।

यो आर्मीको तीन खेलमा पहिलो जित हो । यसअघि पुलिससँग १–१ खेलेको आर्मीले दोस्रो चरणमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । आर्मीको ३ खेलबाट ५ अंक भएको छ । उता ब्रिगेड ब्वाइजले पहिलो हार बेहोरेको छ । यसअघि एपीएफलाई हराएको र एनआरटीसँग बराबरी खेलेको ब्रिगेडको तीन खेलबाट ४ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्