पुसदेखि विद्यार्थीलाई खोप

दुई मात्रा पूरा भएका नागरिकलाई बुस्टर डोज लगाइने



ईश्वरराज ढकाल, काठमाडौं । 

विद्यालय खुलेको झन्डै दुई महिना बितिसक्दा पनि विद्यार्थीलाई कोरोना संक्रमण बिरुद्धको खोप लगाउन कुनै निर्णय नगरेपछि सरकारको आलोचना भएको छ । विद्यार्थीले यति दुःख पाउँदा पनि सरकारले खोप दिन नसकेको भन्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबार बसेको बैठकमा सांसदहरूले खोपको सुनिश्चितता गर्न आग्रह गरेका थिए ।

बैठकमा समितिका सभापति जयपुरी घर्तीले खोपको विषयमा तत्काल निर्णय गर्न सरकारलाई आग्रह गरेपछि स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारको अबको प्राथमिकता विद्यार्थीलाई खोप लगाउने नै भएको बताउनुभएको थियो । उहाँले भन्नुभयो–‘पुषदेखि विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराइन्छ । १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी लक्षित गरी खोप उपलब्ध गराउन मन्त्रालयले तयारी गरिसकेको छ ।’

यसअघि प्याब्सन, राष्ट्रिय प्याब्सन लगायतका निकायले विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरिसकेका छन् । ती संगठनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर खोप उपलब्ध गराउन ज्ञापनपत्र दिइसकेका छन् ।
मन्त्री खतिवडाले देशैभरका सबै विद्यार्थीलाई अमेरिकी कम्पनीले निर्माण गरेको मोर्डना खोप ५ चरणमा उपलब्ध गराउने जानकारी दिनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार करिब ६५ लाख विद्यार्थीलाई खोप लगाउन बाँकी छ । केन्द्रका महानिर्देशक चुडामणि पौडेलले करिब दुई लाख विद्यार्थीले मात्र खोप लगाएको र अझै ६५ लाख विद्यार्थी कोभिड–१९ खोपबाट वञ्चित रहेको जानकारी दिनुभयो ।उहाँका अनुसार सरकारले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले खोपको व्यवस्था गर्ने तयारी गरेको छ ।

समितिको बैठकमा बोल्दै मन्त्री खतिवडाले सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको तीन महिना नाघेका नागरिकलाई बुस्टर डोज दिने तयारी भइरहेको बताउनुभयो । उहाँले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खोप लगाइसकेका सबैलाई बुस्टर डोज दिने निर्णय गरी सोहीअनुसार प्रकृया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘बुस्टर डोजको लागि आवश्यक पर्ने थप एक करोड मात्रा खोप ल्याउन प्रक्रिया अघि बढाइसकिएको छ ।’ बैठकमा मन्त्री खतिवडाले खोप केन्द्रको संख्या बढाएर १६ हजार पु¥याउने तयारी पनि भइरहेको जानकारी दिँदै भन्नुभयो–‘खोप केन्द्र करिब ५ हजार छन्, १६ हजार पु-याएर दैनिक २ लाख मात्रा खोप दिने तयारी भइरहेको छ ।’ उहाँले निर्वाचनको समयमा बुथबाटै पनि खोप दिन सकिने धारणा पनि अघि सार्नुुभएको थियो ।

समितिमा परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले स्वस्थ व्यक्तिलाई दोस्रो मात्रा खोप लगाएको ३ देखि ६ महिनाभित्र बुस्टर डोज दिन मिल्ने बताउनुभयो । उहाँले दीर्घ रोगीलाई पहिलो प्राथमिकतामा र त्यसपछि सबैलाई बुस्टर डोज खोप दिनेगरी तयारी अघि बढाइएको बताउनुभयो ।

समितिका सभापति घर्तीले नेपालमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस प्रवेश गर्नसक्ने भन्दै त्यसलाई रोक्न तत्काल योजना बनाउन सरकारलाई निर्देशन दिनुभयो । समितिको बैठकले आज सोमबार निर्णय सार्वजनिक गर्ने जनाएपछि आइतबार भएको बैठकमा ओमिक्रोनको बारेमा बढी चर्चा भएको थियो । डेल्टा भेरियन्ट भन्दा पनि खतरनाक मानिएको ओमिक्रोनबाट विश्वमा हालसम्म मुत्यु भएको खबर नआए पनि गम्भीर हुनुपर्नेमा समितिले जोड दिएको छ ।

विश्वका ४० मुलुकमा फैलिएको सो भेरियन्ट नेपालमा आउन नदिन सरकारले सबै नाकामा चेकजाँचमा कडाइ गरेको छ । विशेषगरी वीरगञ्ज, नेपालगञ्ज, धनगढी, भैरहवालगायत भारतसँग सीमा जोडिएका नाकामै कोभिडविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।मन्त्रालयले नाकाबाट प्रवेश गर्ने सबै भारतीय नागरिकको अनिवार्य खोप कार्ड जाँच गर्ने व्यवस्था गरेको छ । बैठकमा मन्त्री खतिवडाले ओमिक्रोन भाइरस नियन्त्रण गर्न मन्त्रालयले सबै उपाय अवलम्बन गरेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्