कोरोनाको अगुल्टो ओमिक्रोनको बिजुली !



काठमाडौं ।

यही मंसिर १० गते नामकरण गरिएको ‘ओमिक्रोन’को तागत के हो, विश्वका ठूला वैज्ञानिकहरूलाई पनि थाहा छैन, तर आजसम्म कोरोनाको यो भेरियन्ट देखिएका मुलुक २९ पुगेका छन् ।

नेपालको नजिकै भारतको नयाँदिल्लीमा पनि ओमिक्रोन देखिइसकेको छ । आजसम्म एक जनाको ज्यान नलिएको ओमिक्रोनकै नाममा विश्वका केही मुलुकले लकडाउन नै शुरू गरिसकेका छन् ।नामाकरण गरिएको १० दिन पनि नबित्दै ओमिक्रोनले विश्वलाई जसरी त्रसित बनाएको छ, यो आफैंमा रेकर्ड हो । कोरोनाको डेल्टा, गामा, बेटा र अल्फाजस्तै एक सन्तानका रूपमा देखिएको ओमिक्रोनका विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत खासै जानकारी दिनसकेको छैन । संक्रमणको तीव्रता, जटिलता, प्रतिरोधात्मक क्षमतामाथिको प्रहारका बारेमा डब्लुएचओले बोलेको छैन ।

‘कोरोना भाइरस रूप परिवर्तन गर्दै आक्रमण गर्ने विषाणु हो, डेल्टापछि ओमिक्रोन यसको पछिल्लो रूप हो’ डब्लुएचओका वैज्ञानिकहरूले यति मात्र भनेका छन्– आजसम्म यसले ३० भन्दा बढी स्वरूप परिवर्तन गरिसकेको छ, प्रोटिनको भाला बनाएर मानवशरीरको कोषमा प्रवेश गर्ने यसको समान स्वभाव देखिन्छ ।अफ्रिकी मुलुक बोत्सानामा पहिलोपटक देखिएको ओमिक्रोनको विशेषताका बारेमा विज्ञहरूले भनेका छन्– ‘यसबाट दक्षिण अफ्रिका सबैभन्दा बढी प्रभावित भएको मुलुक हो । तर, यस भेरिएन्टले मानव शरीरमा कुन स्तरको असर गर्छ उनीहरूले भन्न सकेका छैनन् । उनीहरूले कोरोनाविरुद्धको खोप, सामाजिक दूरी, मास्क, स्यानिटाइजर आदिमा जोड दिएका छन् ।

डब्लुएचओले ओमिक्रोन र अन्य भेरिएन्टको असर र लक्षणहरू समान रहने बताएको छ । ओमिक्रोनभन्दा डेल्टा बढी खतरनाक भएको, यसले स्वासप्रश्वासमा बढी असर पार्ने बताइएको छ । अक्सिजनको मात्र न्यून भएर मान्छेको ज्यान जाने हुन्छ । तर, ओमिक्रोनका कारण कसैको ज्यान गएको जानकारीमा आएको छैन । यसरी हेर्दा ओमिक्रोन नेपाली उखान ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ सँग मिल्दोजुल्दो लाग्छ । यद्यपि, बिजुली चम्किँदा खस्ने चट्याङ टाउकोमाथि प-यो भने ज्यान जान पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्