लुम्बिनीमा योजना सम्मेलन सुरु : रिजल्ट निकालेर काम गर्न मुख्यमन्त्री केसीको निर्देशन



यमलाल भुसाल, बुटवल ।

लुम्बिनीको व्यवस्थित र एकीकृत विकास गर्ने योजना सहित लुम्बिनी प्रदेश सरकारले दुई दिने योजना सम्मेलन सुरु गरेको छ ।
प्रदेश सरकारले अघि सारेका योजनाहरूको कार्यान्वयन र नयाँ योजनाहरूको पहिचान गर्ने गरी लुम्बिनी प्रदेश योजना आयोगले योजना सम्मेलन सुरु गरेको हो ।

सम्मेलनको आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्नु भयो । उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री केसीले योजना कार्यान्वयनका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनु भयो । जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी संयन्त्र र तीनै तहका सरकारबीच सहमति, सहकार्य र समन्वय गरेर अगाडि बढे मात्रै योजना सफल हुने उहाँले बताउनु भयो ।

‘प्रदेश सरकार सबैसँग सहकार्य गर्न तयार छ’ मुख्यमन्त्री केसीले भन्नु भयो ‘एक अर्कालाई दोषारोपण गरेर उम्कने छुट कसैलाई छैन ।’ मुख्यमन्त्री केसीले कागजी योजना मात्रै राम्रो भएको बताउँदै अब जनताले परिवर्तनको अनुभूति गर्ने गरी परिणाममुखी काम  गर्न निर्देशन दिनुभयो । ‘हामीले बनाएका योजनाहरू किन सफल भएनन् भन्ने विषयमा निर्ममतापूर्वक समीक्षा गर्नुपर्छ’ उहाँले भन्नु भयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षत्रीले लुम्बिनीको विकासमा केही नयाँ काम गर्ने उद्देश्यले योजना सम्मेलन गरिएको बताउँदै कर्मचारी संयन्त्रको सहयोग जरुरी रहेको बताउनु भयो । सम्मेलन उद्घाटनमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का ,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।विश्वनाथ पौडेल,राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह, राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारी लगायतले बोल्नु भएको थियो ।

राष्ट्रिय योजना आयोग र सातै प्रदेशका योजना आयोगका पदाधिकारी, सचिव तथा अधिकारीहरूको सहभागितामा योजना सम्मेलनमा सहभागिता छ । राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले ‘प्रादेशिक योजना तथा बजेट तर्जुमा, परियोजना बैंक र सम्भाव्य लगानीका क्षेत्रहरू, तहगत समन्वयः समस्या,चुनौती र भावी कार्यदिशा’ विषयक प्रस्तुति राखेका थिए ।

उक्त अवसरमा राष्ट्रिय योजना आयोगबाट निर्माण भएको एमटीइएफ, परियोजना बैंक र वित्तीय हस्तान्तरण सम्बन्धी विद्युतीय प्रणाली सबै प्रदेश योजना आयोगहरूलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्