चीनमा मेडिकल अध्ययनरत विद्याार्थीहरुद्वारा नेपालमै इन्टर्नसिप नपाए आन्दोलन गर्ने चेतावनी



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना महामारीको कारण नेपाल फर्किएका चीनमा मेडिकल अध्ययनरत विधार्थीहरुले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै इन्टर्नसिपको बाँकी अवधि पूरा गर्ने व्यवस्था नेपालमै मिलाउन पीडित विद्यार्थीहरुले सरकारसँग आग्रह गरेका हुन् ।

विद्यार्थीहरुले डेढ वर्षको इन्टर्नसिप नेपालकै सरकारी अस्पतालमा गर्न पाउनुपर्ने माग गरेका छन् । विद्यार्थीहरुले आफ्नो जायज माग पुरा नगरेमा आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् । समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्नेपनि उनीहरुको चेतावनी छ । चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुरले २०७८ साल साउन २३ गते इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरुलाई अनलाइन आवेदन गर्न सुचित गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, त्रिवि र काठमाडौं विश्वविद्यालयका उपकुलपतिहरु, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष लगायतका उपस्थितिमा मंसिर १७ गते भएको छलफलले विदेशमा विभिन्न शिक्षण संस्थाहरुमा शिक्षाको एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीहरुले कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन पुरा गर्न नपाएका विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित् भई अध्ययन निरन्तरता दिनको लागि सम्बन्धित सरकारसमक्ष उच्चस्तरमा कुटनितिक पहल गर्ने र उल्लेखित नियामक निकायहरु समेतको समन्वय र सहकार्यमा आवश्यकता अनुसार समस्याको सकारात्मक निकास दिन पहल गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पीडित विद्यार्थीहरुले नेपाल मेडिकलले काउन्सिलमा बुझ्न जाँदा अनलाइन मार्फत लिइएको कक्षालाई मान्यता दिने भनेपछि आफूहरुले अनलाइन कक्षा लिएको बताए । अनलाइन कक्षा लिएर पूरै रकमसमेत बुझाएको उनीहरुको भनाई छ । काउन्सिल र विश्वविद्यालयको समन्वयपछि पीडित विद्यार्थीहरुले अनलाइनमार्फत सैद्धान्तिक विषयहरु पढेको सुनाए ।

बाध्यात्मक परिस्थितिमा इन्टर्नसिप लिन बाध्य भएका विद्यार्थीहरुले राहत दिनुपर्नेमा थप पीडा दिईएको बताए । पटक–पटक सम्बन्धित् निकायमा धर्ना तथा विरोधका कार्यक्रम गरेको भएपनि अहिलेसम्म आफूहरुको मागको सुनुवाई नभएको उनीहरुको भनाई छ ।
एमबीबीएस अध्ययरत अर्का विद्यार्थीले स्वदेशमै प्रयोगात्मक विषयको लागि आवश्यक सामाग्रीसहित व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । इन्टर्नसिप गर्न बाँकी विद्यार्थीहरुले सबैले अनलाइनमार्फत विषयको ज्ञान लिएको उनले बताए ।

अनलाइनबाट शिक्षा लिँदा पनि पुरै रकम तिरेको भन्दै फेरि विश्वविद्यालयमा नै गएर कक्षा लिनुपर्ने मन्त्रालयले निर्णय गरेपछि थप पीडा भएको सुनाए । उनले भने,‘सम्बन्धित् विश्वविद्यालयमै गएर कक्षा लिनुपर्ने मन्त्रालयले भनेपछि हामीहरु थप संकटमा परेका छौं ।’ उनले इन्टर्नसिपको मागबारे पीडित विद्यार्थीहरुसँग कुनैपनि छलफल नभएको र सरकारविद्यार्थीहरुको बारेमा जानकार हुँदाहुँदै पनि विद्यार्थीहरुको हितका केही निर्णय नगरेकोमा आपत्ति जनाए ।

मन्त्रीलगायत काउन्सिलको उपस्थितिमा भएको छलफलले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको उनको गुनासो थियो । उनले भने,‘यदि विद्यार्थीको समस्या के हो र उचित समाधान गर्नुपर्छ भन्ने महसुस भएको भए विद्यार्थीहरुलाई पनि समेटेर छलफल गरिन्थ्यो ।’ देशका दक्ष जनशक्तिहरुलाई यसरी अप्ठ्यारोमा पार्न नहुने उनको भनाई थियो ।

एमबीबीएस अध्ययरत एक छात्राले कार्यक्रममा बोल्दै मन्त्रालयको यो निर्णयले विद्यार्थीहरु र अभिभावकहरुलाई निकै गाह्रो भएको सुनाईन् । यसले आर्थिक भार थपिँदा अभिभावकलाई थप पीडा भएको उनको भनाई थियो । उनले भनिन्,‘सरकारले निजी विश्वविद्यालयसँग मिलेर मोटो रकम लिनलाई कुनै षड्यन्त्र भैरहेको देखिन्छ र यसको निर्णयप्रति हामी विद्यार्थी असन्तुष्ट छौं ।’
अर्का विद्यार्थीले मन्त्रालयले विद्यार्थीलाई फसाउन लागेको बताए ।

अर्की छात्राले कार्यक्रममा बोल्दै अनलाइनबाट लिईएको शिक्षालाई मान्यता दिएअनुसार अनलाइनबाट पुरै कोर्श पुरा गरेको बताइन् । उनले भनिन्–‘प्रत्येक सेमिस्टार २ महिनामा सकाएर कोर्श सकाएको हो । फेरी कोर्श पुरा गर्न सोही विश्वविद्यालय जानपर्ने निर्णयले हाम्रो भविष्यलाई अन्धकारमा धकलेको छ ।’

मन्त्रालयको यो निर्णयले नीजि विश्वविद्यालयहरुमा फेरी कोर्श पढ्न बाध्य बनाएर दोहोरो भार लगाउन खोजेको उनले आरोप लगाईन् । युवा शक्तिलाई समय खेर फाल्न लगाउन बाध्य पार्न खोजिएको बताइन् । चीनमा विद्यार्थीहरुलाई पठाउने निर्णय विद्यार्थीको हितमा नभएको समेत उनको भनाई थियो । ‘यो निर्णयलाई अस्विकार गर्छां, हामी कुनैपनि हालतमा यो निर्णय स्विकार गर्न सक्दैनौ ।’–उनले भनिन् ।

त्यस्तै, अर्का चीनमा अध्ययनरत विद्यार्थीले नेपाल मेडिकल काउन्सिललाई समस्याको बारेमा जानकारी दिँदापनि आजसम्म समस्या समाधान नभएको बताए । विद्यार्थीहरुको माग सम्बोधन नहुनुमा शिक्षा मन्त्रालयनै जिम्मेवार भएको उनको आरोप थियो ।
उनले चीनमा एमबीबीएस अध्ययन गरेका आएका चिकित्सकहरुले नै विद्यार्थीहरुलाई सहयोग नगरेको पनि बताए । सम्बन्धित् निकायका जिम्मेवार व्यक्तिहरुले नै विद्यार्थीहरुको मागलाई गैरजिम्मेवार जवाफ दिएको बताए ।

उनले आफ्ना मागहरु जायज भएको भन्दै तत्काल कार्यान्वयन गर्न माग गरे । र, उनले अघि भने,‘मेडिकल इतिहासमा तपाईँहरुको नाम सुनौला अक्षरले लेखियोस र पछिका विद्यार्थीहरु सबैले तपाईंको नाम लिन पाउन त्यसरी हामीलाई सहयोग गर्नुहोस् ।’ नयाँ भेरियन्ट आइरहेको बेला अब फेरी चीन बन्द हुने भएको र चाँडै नै यतै व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्