उद्योगहरुलाई तत्काल २ सय मेगावाटसम्म थप विद्युत दिन सकिने



काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाटसम्म थप विद्युत दिन सक्ने देखिएको छ । अशोक स्टीललाई थप २०।५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले हाल १६ एमभीए क्षमताको ट्रान्सफर्मर राखेकोले सोही क्षमता अनुसार विद्युत दिन सकिने छ । ट्रान्सफर्मर थप गरेपछि उद्योगले मागेजति विद्युत दिन सकिने छ ।

प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउने भएको छ ।बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ,वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले व्यापक रुपमा विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।

प्राधिकरणले मुख्य रुपमा उद्योगहरुलाई मागेजति भरपर्दो र गुणस्तरीय विद्युत दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ । प्राधिकरणले तराई क्षेत्रमा विद्युत लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४ सय केभी प्रसारण लाइन निर्माणको अवधारण अगाडि बढाएको छ ।

सिमरा र विरगञ्ज क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्