विदेशमा गएर नेपाली संस्कृति चिनाउने हामी सांस्कृतिक दूत हौं: जोगेन्द्र केसी



प्यूठानको गुरी गाउँमा जन्मेर हाल राजधानीमा बसोबास गरी नृत्य र कोरियोेग्राफीमा नाम बनाएका छन् जोगन्द्र केसीले। शुरूमा कोरस डान्सर र त्यसपछि डान्सर हुँदै सहायक कोरियोग्राफरबाटर कोरियाग्राफरका रूपमा आफूलाई स्थापित गराई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कार्यक्रममा समेत डान्सर र कोरियोग्राफरका रूपमा चिनाउन सफल जोगेन्द्र आधुनिक, लोक, शास्त्रीयजस्तो सबै विधाको नृत्य र कोरियोग्राफीमा पारंगत छन्।

तर, पछिल्लो समयमा भने देश विदेशमा लोकनृत्य र लोकनृत्य कोरियाग्राफीमा रमाइरहेका छन्। तीन दशकभन्दा लामो समयदेखि नृत्य र कोरियोग्राफीलाई लगातार करियरका रूपमा अगाडि बढाउँदै आएका उनी स्कुलका विद्यार्थीदेखि देश विदेशका रंगमञ्चीय कार्यक्रमसँगै मेला महोत्सवका लागि नृत्य र कोरियोग्राफी गरिरहेका छन् भने त्यसबाट बचेको समयमा म्युजिक भिडियो निर्देशन र कोरियोग्राफी गर्दै आएका छन्। अनाथ बालबालिकाको लागि स्थापित सामाजिक संस्था आमा घरको बोर्ड सदस्य, लालीगुराँस नेसनल एकेडेमीको अतिरिक्त क्रियाकलाप डाइरेक्टर तथा विभिन्न विद्यालयमा वरिष्ठ नृत्य निर्देशक रहेका केसीले नायक दिलीप रायमाझीका साथ राजु शाह र स्व वसन्तजंग रायमाझीको सहायक नृत्य निर्देशकका रूपमा कार्य गरी त्यसैको अनुभवबाट कोरियाग्राफीमा छुट्टै नाम बनाएका छन्।

कोरस कलाकारका रूपमा दुई दर्जन बढी, सहायक नृत्य निर्देशकका रूपमा एक दर्जन बढी नृत्य र नृत्य निर्देशकका रूपमा सपनाको नौलो संसार नामक फिल्मका लागि कोरियाग्र्राफी गरेका उनले दुई दर्जन बढी म्युजिक भिडियो कोरियोग्राफी गरेका छन् भने चार सय जति देश विदेशका रंगमञ्चीय कार्यक्रमका लागि नृत्य र नृत्य कोरियोग्राफी गरेका छन्। रियालिटी शो लेट मि डान्स सिजन–२ को प्रमुख निर्णायक तथा विभिन्न नृत्य प्रतियोगिताको निर्णायक रहेका उनी विभिन्न प्रशिक्षण केन्द्रमा नृत्य गुरुका रूपमा समेत सक्रिय छन्। नृत्य र कोरियाग्राफी लागि विभिन्न अवार्ड र सम्मानका साथ जनसेवाश्री पदकबाट विभूषितसमेत भएका छन्। नेपाल समाचारपत्रका लागि उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

हाल के गर्दै हुनुहुन्छ ?
लामो समयपछि स्कुल र प्रशिक्षण केन्द्र खुलेका छन्। त्यसैले, अहिले स्कुल र प्रशिक्षण केन्द्रमा नृत्य सिकाउनमै व्यस्त छु। केही म्युजिक भिडियो पनि गरिरहेको छु।

कोरस कलाकार रहँदाका दिनलाई कसरी सम्झनुहुन्छ?

त्यो वास्तवमा संघर्षका दिन थिए। तर, संघर्षका दिनलाई पनि उत्साह र अवसरको रूपमा लिन्छु। त्यतिखेर दिलिप रायमाझी, सुशील क्षत्री, शंकर बिसी, मलगायतको राजश्री ग्रुप थियो। हाम्रो राजश्री गु्रप भनेपछि कुरै अर्कै हुन्थ्यो। हामी डान्स गर्दा सकेसम्म एक टेकमै ओके हुने गरी गथ्र्यौं।

पर्दामा हाम्रो अनुहार चिनिने गरेर खिचे पनि, नचिनिने गरी खिचे पनि हामी भने जतिसक्दो एक्सप्रेसन दिइरहेका हुन्थ्यौँ। एउटा गीतको सुटिङ सकिन करिब २-३ दिन लाग्थ्यो। अहिले जस्तो एकै दिन एकै रातमा सिंगो गीतको सुटिङ सक्काउने भन्ने हुन्न थियो। त्यसो हुँदा परिणाम पनि गजबको राम्रो हुन्थ्यो। हामीलाई पैसाको अभाव त हुन्थ्यो, तर पनि पैसा कमाउनभन्दा काम देखाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। राम्रो नाच्नेहरू फस्ट लाइनमा हुन्थ्यो। त्यसैले, कसरी हुन्छ फस्ट लाइनमा परौं र डान्स डाइरेक्टरको मन जितौं भन्नेमा लागि रहन्थ्यौँ।

नृत्य पेसामा कसरी आकर्षित हुनुभयो ?

गाउँमा नाटकहरू हुन्थ्यो। ती नाटक प्र्रायः राति हुन्थ्यो। गाउँमा त्यस बेला बिजुली बत्ती थिएन। त्यसैले मानिसहरू नाटक हेर्न खाना खाइसकेपछि लाल्टिन बोकेर भेला हुन्थे। पेट्रोम्याक्स बालेर स्टेज उज्यालो बनाइएको हुन्थ्यो। त्यहाँ गीत गाउने, नाच्ने अभिनय गर्ने, कमिक भन्ने काम हुन्थ्यो। अग्रज कलाकारको नृत्यले आकर्षित भएर म यस क्षेत्रमा आएँ। स्कुलका कार्यक्रममा पनि सहभागी हुन्थें। स्कुलबाट छानिएर जिल्लाको कार्यक्रममा सहभागी हुन्थें र जिल्लाको कार्यक्रममा जितेर अगाडि बढिन्थ्यो। माध्यामिक शिक्षा पूरा गरेर काठमाडौं आइ व्यावसायिक प्रशिक्षण लिएँ। त्यसपछि, प्रज्ञा प्रतिष्ठानमा भएको टेलिभिजनको वार्षिकोत्सव कार्यक्रममा पहिलो मौका राजु शाहबाट पाएँ। त्यसपश्चात् लगातार यही क्षेत्रमा छु।

यति लामो समयसम्म नृत्य पेसामा टिक्न कसरी सम्भव भयो ?

म खास डक्टर बन्छु भनेर काठमाडौं आएको थिएँ। सौखको रूपमा नृत्य पेसालाई अ”गाले। लगातार यसै क्षेत्रमा कर्म गर्दै जाँदा यही नै पेसा बन्न गयो। म नृत्य र कोरियोग्राफी क्षेत्रमा लाग्दा कहिले पैसा भनेर लागिन”। फलस्वरूप एकपछि अर्को काम पाउँदै गए। जुनसुकै अवस्थामा पनि यो क्षेत्रलाई छोडिन”। जे–जस्तो हुन्छ यसैमा लागिरहेँ। अर्को पेसाको बारेमा सोच्दै सोचिन”। त्यसैले, पनि यसलाई पेसा बनाउन सम्भव भयो।

नृत्य कलाकार वा कोरियोग्राफर भएर जीवन धान्न सम्भव छ?

निरन्तरता दिएर साधना ग-यो भने यो क्षेत्रमा पनि भविष्य बनाउन सम्भव छ, यसैलाई पेसा बनाएर जीवन यापन गर्न सम्भव छ। त्यसको एउटा उदाहरण म स्वयं नै हुँ। खासमा कसैले पनि कुनै क्षेत्रमा लाग्दा आफ्ना लागि यो क्षेत्रमा फिट छ कि छैन त्यो यकिन गर्नुपर्छ। अरूको भविष्य देखेर हुँदैन, आफ्ना लागि फिट छ कि छैन भन्ने निक्र्यौल गर्नुपर्छ। समर्पित भएर लागे यो क्षेत्रमा वर्तमानसँगै भविष्य पनि छ।

विदेशका धेरै कार्यक्रममा संलग्न हुनुभयो, नेपाली नृत्यप्रतिको प्रतिक्रिया के–कस्तो पाउनुभयो ?

म प्रायः युरोपका कार्यक्रममा संलग्न हुन्छु। युरोपमा एउटै खालको कला संस्कृति, पहिरन र चाल चलन हुँदो रहेछ। तर, हाम्रो कला संस्कृति र भेषभूषामा भेराइटी छ। जिल्ला– जिल्ला प्रदेशपिच्छे फरक छ। हिमाल, पहाड र तराईमा आ–आफ्नै कला र संस्कृति छ। हामी आफैले सिकेर सिक्न नसकिने कल्चरको भेराइटी हामीकहाँ छ। हामी त्यसैलाई अन्तर्राष्ट्रिय मञ्चमा पस्कन्छौं। यसलाई हेरेर उनीहरू छक्क पर्छन्। यो सबै तिमीहरूकै देशको कला र संस्कृति हो ररु भनेर आश्चर्य व्यक्त गर्छन्। तिमीहरू कल्चरको खानी रहेछाै, हामी तिमीहरूको देशमा जन्मिन पाएको भए कत्ति भाग्यमानी हुन्थ्यौँ भन्छन्। उनीहरू बुद्ध र सगरमाथाको बारेमा सुने पनि नेपाललाई भारतको प्रन्त भन्ठान्दा रहेछन्। हामी हाम्रो पर्पमेन्सबाट नेपाल भिन्न र सार्वभौम राष्ट्र हो भनेर बुझाउन सफल भएका छौ। उनीहरू हाम्रो प्रस्तुति हेरेर प्रभावित भई नेपाल आएर भ्रमण गरेर गएको उदाहरण थुप्रै छ। यसरी हेर्दा हामी सांस्कृतिक दूत हौं भन्ने लाग्छ।

नेपाली लोक र परम्परागत नृत्यको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि के–कसो गर्नुपर्ला ?

यसका लागि खास पर्यटन बोर्ड, संस्कृति मन्त्रालयजस्ता निकायले पहल गर्नुपर्ने हो। त्यस्तो पहल राजाको पालामा हुन्थ्यो। राजाको पालमा प्रज्ञा प्रतिष्ठानको टिम लिएर गई नेपाली लोक र परम्परागत नाच देखाइन्थ्यो। राजासम्मलाई नेपाली बाजा संगीत र नृत्यको बारेमा ज्ञान थियो। अहिले भने यसका लागि कसैले पहल गरेको छैन, विदेशी संस्थासँग मिलेर हामीले गरिरहेको छौँ। कमसेकम सरकार प्रमुख र राष्ट्र प्रमुख विदेश जाँदा नेपाली कलाकारलाई सँगै लगेर नेपालको बाजा र नृत्य प्रस्तुत गर्नुपर्ने हो। तर, सरकारी निकायले गर्ने काम हामीले गरिरहेका छौँ।

कोरियोग्राफी र नृत्य कलाकारितामा कुन सजिलो ?

सजिलोको हिसाबले त डान्सर हुन नै धेरै सजिलो। कोरियोग्राफर भनेको पर्दापछाडिको कन्सेप्ट मेकर हो। यसलाई कोच पनि भन्न सकिन्छ, अथवा गेम विनर पनि भन्न सकिन्छ। कसरी मासलाई हिट गरेर डान्सलाई हिट बनाउने भन्ने उसको हातमा हुन्छ। कसरी एउटा सानो स्टेप दिएर सबैको मनमा राज गर्ने, कुन स्टेप दिएर एउटा निर्माता वा निर्देशक वा हिरो हिरोइनले सोचेको सोचलाई सफल पार्ने काम उसको हुन्छ। कोरियोग्राफरले आफ्नाे चाहना नभए पनि सबैको मन र कलाकारको क्षमता अनि दर्शकको भावनालाई बुझनुपर्छ।

रंगमञ्च, फिल्म, म्युजिक भिडियो र स्कुलका विद्यार्थीमध्ये कसलाई डान्स गराउन सजिलो ?

सजिलोको हिसाबले त स्कुलको विद्यार्थीलाई डान्स सिकाउन सजिलो। किनभने उनीहरूमा सिक्ने खालको एक किसिमको उत्सुकता हुन्छ। सिकाउन नपाउँदै सिकिसकेको हुन्छ। अर्को, कलाकारलाई हो भने सिकाउन त ठीक छ, तर सबै कलाकार निखारिएर आएका हुँदैनन्। उनीहरूलाई डान्स सिकाउन समय दिनुपर्छ। कतिपयलाई त लोकेसनमै जर्बजस्ती ढंगले सिकाउनुपर्छ। त्यो भनेको नेचुरल नभएर अननेचुरल खालको हुन्छ।

यति लामो करियरमा फिल्म त एउटै मात्र गर्नुभयो, नपत्याएर हो कि ?

पत्याएर र नपत्याएर भन्दा पनि मेरो भित्रैदेखिको चाहना भनेको म माससँग प्रत्यक्षरूपमा फेस टु फेस हुने कार्यक्रममा सहभागी हुनु हो। म एक टेकमा सबै कुरा देखिने गरी प्रस्तुति दिन चाहन्छु, लाइभ शो गर्न चाहन्छु। फिल्ममा भन्दा लाइभ शोमा इन्जोय गर्छु। सफल पनि त्यसमै छु। जुन आनन्द रंगमञ्चमा छ, फिल्म र म्युजिक भिडियोमा छैन।

 

अन्त्यमा नसोधेको केही कुरा ?

धेरैले बच्चालाई डान्स सिकाउन किन तम्सिएको भन्छन्। स्कुलमा सिकाउने डान्स गुरुलाई सम्मान छैन। तर, देशकै कर्णधार र भविष्यलाई धुरन्धर शिक्षकले सिकाउन नसकेको कुरा हामीजस्तो स्कुलका नृत्य शिक्षकले सिकाइरहका छौं। यसप्रति गर्व लाग्छ।

प्रतिक्रिया दिनुहोस्