सात सय मेट्रिक टनको कोल्ड स्टोर बन्दै



बाँके । 

बाँके डुडुवा गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निर्माण शुरु भएको छ । डुडुवा–६, हिरिमिनियामा निर्माण थालिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरेजको पूजापाठ गरी शिलान्यास गरिएको छ ।

भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले आलुलगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढ्ने बताउनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकाको दोस्रो वर्षको योजनामा परेको यो योजनालाई अहिले कार्यन्वयनमा ल्याउदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

करिब १३ कठ्ठा जग्गामा निर्माण हुन लागेको अत्याधुनिक प्रविधि मल्टीप्रपोजको लागत ६ करोड, ७ लाख ५४ हजार २ सय १२ रहेको छ । कोल्ड स्टोरेजसंगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउन्ड्री वाल, पार्किङको निर्माण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताउनुभयो ।

कोल्ड स्टोरेजको निर्माणपछि गाउँपालिकाका किसानसँंगै जिल्लाका अन्य किसानलाई पनि राहत मिल्ने छ । १८ महिनाको अवधिमा निर्माण सम्पन्न गर्ने गरी काठमाडाैंस्थित पारामाउन्ट नेचुरल जेवी निर्माण कम्पनीले ठेक्का लिएको इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । उहाँका अनुसार, ६ महिना लगाएर योजनाको अत्याधुनिक डीपीआर तयार गरिएको हो ।

गाउँपालिकाको पहिलो ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन रहेको छ । उक्त भवन अहिले निर्माणधीन रहेको र हालसम्म करिब ८० प्रतिशत निर्र्माण सकिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्