दुवै खेल बराबरीमा सकियो 



 काठमाडौं

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको दुवै खेल बराबरीमा सकिएका छन् ।दशरथ रंगशालामा भएको पहिलो खेलमा संकटा क्लबविरुद्ध मनाङ मस्र्याङदी क्लबले बराबरी खेलेको हो । त्यस्तै, दोस्रो खेलमा एनआरटीले च्यासल युवा क्लबलाई बराबरीमा रोक्यो । संकटा र मनाङले २–२ तथा एनआरटी र च्यासलले १–१ बराबरी खेल्दै अंक बाँडेका हुन् । यो सँगै मनाङले तीन खेलबाट ७ अंक जोडेको छ भने संकटाले त्यति नै खेलबाट ५ अंक बटुलेको छ ।

यस्तै, एनआरटीले दुई बराबरी खेल्दै २ अंक जोडेको छ । एनआरटी पहिलो खेलमा मच्छिन्द्रसँग हारेको थियो । च्यासलको भने एक जित र एक बराबरी नतिजाले ४ अंक भएको छ । च्यासलले पनि पहिलो खेलमा हार बेहोरेको थियो । च्यासल थ्रीस्टारसँग ३–० ले हारेको थियो । त्यसपछि च्यासलले जावलाखेल युवा क्लबलाई हराएको थियो ।

संकटालाई संकट

संकटाको लागि इन्जुरी समय फापेन । २–१ को स्पष्ट अग्रतासँगै तीन अंक लिने धुनमा थियो संकटा । तर, मनाङका विदेशी खेलाडी फ्रान्कलिन कोटेटालाले डी–बक्सबाट भली प्रहारमा शानदार गोल गरेपछि खेल २–२ बराबरीमा पुगेको थियो । संकटा दुई पटक खेलमा अग्रतामा पुगे पनि त्यसलाई जितमा परिणत गर्न असफल भयो ।

यसअघि, संकटाका लागि निरज बस्नेतले ३१औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले लक्ष्मण रुचालले प्रहार गरेको फ्रिकिकमा हेड गर्दै गोलको दिशा दिएका थिए । तर, यो अग्रता धेरै बेर पनि टिकेट । चार मिनेटपछि मनाङका दयानन्द सिंहले पुजन उपरकोटीको फ्रिकिकमा ओलावाले आफिजले हेड पास दिएको बललाई हेडमार्फत गोल गरेका थिए ।

पहिलो हाफ १–१ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि संकटाले मनाङमा दबाब दिएको थियो । संकटाका लागि सब्सिच्युट खेलाडी उत्तम राईले गोल गरेका थए । उत्तमले फोफानाको क्रसलाई सदुपयोग गरेका थिए । फोफोनाले क्रस गर्दा मनाङका डिफेन्डर बिट भए र अनमार्कमा रहेका उत्तमले क्लोज रेन्जमा गोल गर्न सफल भए । फोफोनाले खेलमा केही राम्रा क्रस गरेकोमध्ये यो एक मात्रै गोलमा परिणत भएको थियो ।

एनआरटीले रोक्यो च्यासललाई

यस्तै, न्युरोड टिम (एनआरटी) ले च्यासलसँग हारबाट जोगिँदै लगातार दोस्रो बराबरी नतिजा बेहोरेको छ । सब्सिच्युट खेलाडी दीपेश घलेले ७९ औं मिनेटमा गोल गरेर च्यासलको जितको सपनालाई तुहाइदिएका थिए । उनले च्यासलका डिफेन्डरको गल्तीमा गोल गर्न सफल भएका थिए । यसअघि, रुमेश बर्तौलाले ४३ औं मिनेटमा गोल गर्दा च्यासलले अग्रता लिएको थियो । कमल श्रेष्ठको कर्नर प्रहार बल मेसुके ओउमोउले राम्ररी क्लियर गर्न नसक्दा रुमेशले फाइदा उठाउँदै गोल गरेका थिए ।
आजको खेलः

आर्मी भर्सेस ब्रिगेड ब्वाइज (४ः४५ बजे)

प्रतिक्रिया दिनुहोस्