अल्छी हनुमानहरुलाई रोजगारीको आवश्यकता



  • रमेशकेशरी वैद्य

संसारमा सन्तोष नै एउटा यस्तो वास्तविकता हो जसले मानिसलाई हरसमय आनन्द दिइराखेको हुन्छ । यसैको उल्टा ज्यादा लालच र लोभ एक प्रकारको यस्तो रोग हो जसले टेन्सन, रोग ज्वरोलाई निम्त्याइराखेको हुन्छ । अब मुलुकको कुरा गर्ने हो भने हामी यो भन्दैनौं कि मुलुकमा विकास भएको छैन । हो, मुलुकमा विकास आएको छ तर अधुरो विकास । यसको मुख्य कारण नाङ्लो पसलदेखि सरकारी पदका व्यक्तिसम्मलाई अकुत सम्पत्ति कमाउनेको चाहना । यसले गर्दा देशमा सुस्त विकास र पसलैपिच्छे भाउ फरक हुने हो । यसको मार भने जनताले खेप्नुपरिराखेको छ । यी कुरा भनिराख्नुपर्ने पनि होइन, स्वतः सिद्ध छ ।

जसरी कलकारखाना, सवारीसाधन आदि चलाउनको लागि इन्जिनको जरुरत पर्दछ त्यसरी नै देश द्रुत विकासमा जानका लागि मन र सोच राम्रो भएका बुद्धिजीवीहरुको जरुरत पर्दछ । तर दुर्भाग्य, हाम्रो मुलुकमा राम्रा बुद्धिजीवीहरु पलाउनुभन्दा उही पुराना झगडालु बुद्धिजीवी र थरी–थरीका बुद्धिजीवीहरुले ठाउँ ओगटेका छन् । जस्तै– चम्चा बुद्धिजीवी, झगडालु बुद्धिजीवी, नकारात्मक बुद्धिजीवी, गफाडी बुद्धिजीवी, द्रव्यलाल बुद्धिजीवी, बिचौलिया बुद्धिजीवी आदिले गर्दा राम्रा बुद्धिजीवीहरु हलुवा गलेझैँ बस्नुपरेको छ । यिनीहरुले चाहेर पनि मुलुकको लागि राम्रो योगदान गर्न सकिराखेका छैनन् । आमाबाबुको नराम्रो संस्कार, शिक्षाको कमी, स्वार्थ, लालच आदिका कारण आजभोलि देशमा थुप्रै यस्ता बुद्धिजीवीहरुको संख्या बढिराखेको छ ।

तर यस्ता व्यक्तिहरु परिवर्तन हुने हो भने मुलुकको कायापलट हुन समय लाग्दैन । यसका लागि उनीहरुले यस्तो सोच्नुपर्छ– लालच र स्वार्थले गर्दा हामीले अति ग¥यौं, हामीले गर्दा समाज धेरै उकुसमुकुस भएको छ, युवापुस्ताहरु छटपटाएर बसेका छन्, ठेकेदारहरुको हौसला बढेको छ, वृद्धवृद्धा सन्तान बाहिएर बेहाल भएका छन्, रक्सी, बेरोजगार, शिक्षाको कमीले प्रायः घरमा यातनाका रोग फैलिएका छन् ।यिनै कारणहरुले गर्दा देशमा रहेका बुद्धिजीवीहरु बदलिनु जरुरी छ । यिनीहरु बदलिएपछि मात्र विकासको पूर्वाधार हुँदै जाने हो । देशको ठूलो विडम्बना नै कानुन मजबुत नहुनु हो ।

देशमा यत्रो भ्रष्टाचारको विकास हुँदा पनि कानुन दह्रो हुनुको बदला कानुनविद्हरु एक–आपसमा लडिराखेका छन् । फितलो कानुनले गर्दा नै देशमा अपराधका हाँगाहरु फैलिराखेका छन् । यो हुनु नै द्रुत विकासका सबै पक्षलाई बाधक बनाउनु हो । महँगी, अपराध, बेरोजगार तथा पूर्वाधारका विकास सधैँ अलपत्र पर्नुको कारण पनि यही नै हो । यसबाहेक राजनीतिक कलह र धेरै नेताहरु हुनाले यस मुलकमा सरकार असफल भइरहेको छ ।देशको अर्को विडम्बना, कृषिप्रधान मुलुक भएर पनि अहिले नाममात्रको कृषिप्रधान देश भएको छ । जब कि अर्बाैं रुपियाँको खाद्यपदार्थ हामीले भारत तथा अन्य देशबाट झिकाएर खाइराखेका छौं ।

सरकारले यस क्षेत्रमा ध्यान पु-याउने हो भने हामीले यी सामग्रीहरु निर्यात गरेर उल्टो रकम कमाउन सक्छौं । तर जुन सरकार आए पनि यो क्षेत्रमा भिजन बनाउन सकिराखेको छैन । यसको खास कारण सरकार कलह र गफ छोडेर कठोर एवं इमानदार हुन नसक्नु हो । इच्छाशक्ति जगाउन नसक्नु हो । अहिलेको परिप्रेक्ष्यमा यो समस्या सल्टाउने हो भने सरकारले कृषकहरुलाई सेवा–सुविधा, सहुलियत, तालिम, मलजस्ता कुराहरु उपलब्ध गराएर प्रोत्साहन दिनुपर्छ । यसले गर्दा कृषि क्षेत्रमा भरपूर विकास हुनेछ । तर सरकार व्यवहारमा कडा हुन सकिराखेको छैन ।

नेपालमा प्रायः कृषकहरु दुःखी हुनुको कारण यही नै हो । त्यसकारण अब सरकारले गफ र स्वार्थ छोडी कडा भएर कृषकहरुलाई साथ दिनुपर्दछ । तर यहाँ सरकारले हनुमानहरु मात्र च्यापेर बस्ने गरेको देखिन्छ । हनुमानहरु जम्मा गर्ने प्रतिस्पर्धा गर्छन् यहाँका नेताहरु, जेन गलत हो । बरु यिनीहरुलाई दीर्घकालीन रोजगार सरकारले दिन सक्नुपर्दछ ।यो देशमा पर्यटन क्षेत्रको विकासको कुरा गर्ने हो भने, हामी अतिथि देवो भव भन्ने गर्दछौं तर यिनीहरुलाई ठग्ने हिसाबले अघि बढिराखेका हुन्छौ । अब भन्नुस्, कसरी पर्यटन क्षेत्रको विकास हुन्छ ? सर्वप्रथम त पर्यटकहरुलाई सेवा–सुविधा, सहुलियत दिई आकर्षण गर्नुपर्छ ।

यसको लागि सर्वप्रथम शुल्कहरु कम गर्नुपर्दछ । सरसफाइमा ध्यान पु¥याउनुपर्छ । यिनीहरुलाई झन्झट र बाधा पु¥याउनुहुँदैन । यस्ता कुरामा नागरिक तथा सरकारले ध्यान पु¥याउने हो भने हामीले सोचेको भन्दा बढी पर्यटक भित्र्याउन सक्छौं । यस सन्दर्भमा सरकारले एउटा अर्को कुरामा पनि ध्यान पु¥याउनु जरुरी छ, जसले गर्दा पर्यटकलाई एलर्जी नहोस् । फोहोर निराकरण एवं सहज बाटोघाटो तथा मगन्तेहरुको व्यवस्थापन गर्नुपर्छ । यी कुरा पर्यटकले मन पराउँदैनन् ।

वास्तवमा भन्ने हो भने, अहिले हाम्रो मुलुकमा जलविद्युत्को विकास भएको छ । तैपनि यो क्षेत्रबाट राज्यले उति फाइदा लिन सकिराखेको छैन । यसबाट फाइदा लिने र विदेशमा बिजुली बेच्ने प्रयास हुन सकेको छैन । हेर्दै जाऊँ, यसमा हामी कति सफल हुने हो ? त्यो समयले बताउनेछ ।हामीले सधैँ एक–दुई कुरा मनमा राख्नुपर्छ । त्यो हो नेपाली नागरिक इमानदार छ, देशमा रकम छ, श्रमशक्ति छ, वातावरण छ । तैपनि मुलुक अघि बढ्न नसक्नुको कारण केही खराब, लालची, स्वार्थी व्यक्तिहरुको हातमा डाडु–पन्यु हुनु हो । यसलाई नागरिक तथा बुद्धिजीवीहरुले नै दिशानिर्देश गर्नुपर्छ । देशमा रहेका राम्रा व्यक्ति, शिक्षण संस्था, सूचना बैंक, चलचित्र, मिडिया, अखबार आदिले नेता तथा स्वार्थलाई नअपनाई सरकार तथा नागरिकलाई बदल्ने कोशिश गर्नुपर्छ । त्यसपछि मात्र मुलुकको रुप फेरिनेछ । हुन त यसको शुरुवात भई पनि राखेको छ, जसलाई निरन्तर गर्दै लैजाने हो ।

देशको ठूलो समस्या भनेकै राजनीतिक अस्थिरता, बेरोजगार, अधुरा पूर्वाधार विकास र नागरिकका समस्या हुन् । यस्तो बेलामा जुन सरकारले राज गरे पनि अल्छी हनुमान, आफ्ना मान्छे र कार्यकर्ताहरु मात्रै पाल्ने होइन, उनीहरुसहित सबैलाई दीर्घकालीन रोजगार दिने हो । यसबाहेक गफ र भाषण मात्र गरेर आफ्नो कार्यकाल सिध्याउने होइन । यो देशमा देश चलाउनेहरुले सधैँ आपूm मात्र कुर्सीमा बस्ने, छेपारोले घ्याम्पो बोकेसरह सबै आफैंले गर्ने होइन, प्रायः ठूला कार्यहरु प्राइभेट सेक्टरहरुलाई छोडिदिने हो र लगानीको वातावरण बनाइदिने हो । तर भनेर के गर्ने, प्राइभेट सेक्टरले पनि विभिन्न बहानामा नागरिकलाई लुटिराखेका छन् यहाँ । यी कुराहरु पनि प्रतिस्पर्धाले गर्दा समाधान हुँदै जाने हुन् । जुनसुकै सरकारले देशमा राज गरे पनि लगानीकर्ताहरुलाई हौसला दिने हो, करले सताउने वा उसको सम्पत्तिमा डाह गर्ने र मनोबल गिराइदिने होइन । प्रशासनिक झमेलाले दुःख दिनेजस्ता कार्य सरकारले गर्नुहुँदैन । सरकार भनेको उदार मनको हुनुपर्छ अनि मात्र देश राम्रो हुने हो । बरु गलत तरिकाले अकुत सम्पत्ति कमाउनेलाई कानुनको दायरामा ल्याउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्