एघार महिनामा २० प्रतिशत काम



नेपाल समाचारपत्र, बाँके ।

नेपालगञ्जमा कछुवा गतिमा सुख्खा बन्दरगाहको काम भएको छ ।भारत सरकारको सहयोगमा नेपालगञ्ज नाकामा बन्दै गरेको सुख्खा बन्दरगाहको काम एघार महिनामा २० प्रतिशतमात्रै भएको छ ।

दुई सय ३५ करोडमा बन्दै गरेको सुख्खा बन्दरगाह दुई वर्षमा सक्ने भनिएको छ । २८ जनवरी २०२३ सम्मको सम्झौता रहेको सुख्खा बन्दरगाहको काम सन्तोषजनक हुन सकेको छैन । ‘एघार महिनामा २० प्रतिशत काम भएको छ । यो सन्तोषजनक भएन, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भन्नुभयो, बचेको १३ महिनामा काम सक्नका लागि हामीले दबाब बढाएका छौं ।’

८८ विगाहमा सुख्खा बन्दरगाह बन्दैछ । ६७ विगाहमा भवनहरू र बाँकीमा सडक बन्छ । यो जग्गामध्ये ४० प्रतिशतमा भवन र ६० प्रतिशतमा बाटो बन्छ । सुख्खा बन्दरगाहको अनुगमन गरेका प्रजिअ खत्रीले अतिरिक्त जनशक्ति लगाएर समयमै काम सम्पन्न गर्न आग्रह गरेको बताउनुभयो । ‘अब अहिलेको जसरी काम गर्ने हो भने समयमा काम सकिँदैन, अतिरिक्त जनशक्ति बढाएर काम गर्नैपर्छ, ठेकेदार कम्पनीले पनि अतिरिक्त जनशक्ति बढाएर काम गर्ने बताएको छ, प्रजिअ खत्रीले भन्नुभयो, अब दु्रतगतिमा काम हुन्छ भन्नु भएको छ । समयमै काम सकिन्छ भन्ने विश्वास गरौं ।’

प्रजिअ खत्रीले ठेकेदारी कम्पनीलाई आफू १५-१५ दिनमा अनुगमनमा आउने बताउनुभएको छ । उहाँले निर्माणमा क्रममा कुनै पनि समस्या भए तत्काल बताउन आग्रह गर्नुभयो ।शहरी विकास मन्त्रालयअन्तर्गतको भवन डिभिजन कार्यालयका प्रमुख रमेश थिङले एघार महिनामा आधा काम भइसक्नु पर्नेमा जम्मा २० प्रतिशतमात्रै काम भएको बताउनुभयो । उहाँले अब अतिरिक्त जनशक्ति लगाएर काम नगर्ने हो भने समयमा काम सक्न नसकिने बताउनुभयो ।

भारतीय सहयोगमा बन्दै गरेको सुख्खा बन्दरगाहको निर्माण ठेक्का भारतीय कम्पनीले नै लिएको छ । ठेकेदार कम्पनीका नितेश श्रीवास्तवले लेवरको काम सकिएको र मेसिनको काममात्रै बाँकी रहेको समयमै सकिने बताउनुभयो । उहाँले काम ट्रयाकमा अघि बढेकाले फटाफटा हुने बताउनुभयो ।नेपालगञ्ज नाकामा नेपाल र भारततिर सुख्खा बन्दरगाह बनिरहेको छ । भारततर्फ काम अलि दु्रतगतिमा भइरहेको छ । नेपालतर्फ ढिलो गरी काम शुरू भएको छ ।

शुरू भइसकेपछि पनि काम सुस्तगतिमा अघि बढेको छ । ठेकेदार कम्पनीले १५ जना लेबर परिचालन गरेर काम अघि बढाइरहेको छ । बीचमा कोरोनाको कारणले काम रोकिएको अवस्थामा थियो । सुख्खा बन्दरगाह बन्न थालेको ठाउँ डुवान क्षेत्रमध्येमा पर्छ ।सुख्खा बन्दरगाह निर्माणमा स्थानीय तहमा कुनै समस्या आउन दिइएको छैन । त्यहाँ चाहिने कच्चा पदार्थको व्यवस्था सहज रुपमा उपलब्ध गराइएको छ । सुख्खा बन्दरगाहको ठेकेदार कम्पनी र हेर्ने अधिकार पनि भारतीयकै रहेको छ । भारतीयले नै बनाइरहेको र काम सुस्तगतिमा भइरहेकाले कतै भारतीयले ओगेटेरमात्रै बस्ने त होइन भनेर आशंका गर्नेहरूलाई बल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्