पाँच सातापछि सर्वोच्च अदालतमा उत्साहजनक सुनुवाइ



काठमाडौँ ।

सर्वोच्च अदालतमा पाँचसातापछि निकै उत्साहजनक सुनुवाइ भएको छ । आज १२ मुद्दामा फैसला र २९ मुद्दामा आदेश भएको छ । न्यायाधीशहरु दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि २१ था न मुद्दा तोकिएको थियो । त्यसमध्ये १२ वटा मुद्दामा आदेश भएको छ । हेर्न नमिल्ने तीन मुद्दा र निवेदकतर्फबाट स्थगित गरेका छ मुद्दाबाहेक अधिकाश मुद्दामा सुनुवाइ भएको छ । हेर्न नभ्याइने सूचीमा एउटा पनि मुद्दा छैन ।

त्यस्तै न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजलासमा १५ थान मुद्दा सुनुवाइ लागि तोकिएको थियो । त्यसमध्ये चार मुद्दामा आदेश र दुई थान मुद्दामा फैसा भएको छ । हेर्न नभ्याइने सूचीमा जम्मा तीन थान मुद्दा मात्र छ ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा सुनुवाइका लागि चार थान मुद्दा तोकिएको थियो । चारै थान मुद्दामा आदेश भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा तीन थान मुद्दामा पेसी तोकिएको थियो । त्यसमा दुई थान मुद्दामा आदेश भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा एक थान मुद्दामा पेसी तोकिएको थियो । त्यसमा फैसला भएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा १९ थान पेसी तोकिएकोमा दुई मुद्दामा फैसला र पाँच मुद्दामा आदेश भएको छ ।

सुनुवाइका लागि ११ वटा इजलास गठन भएका थिए । तीमध्ये नौ वटा संयुक्त र दुई एकल इजलास रहेका थिए । आज शुक्रबारको दिन पनि समयअवधिभर अधिकांश इजलासमा मुद्दामा राम्रो सुनुवाइ भएको देखिएको छ ।

“पाँच सातापछि सर्वोच्च अदालतमा मुद्दाको आकर्षक सुनुवाइ भएको छ”, सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले भन्नुभयो, “आज १२ मुद्दामा फैसला र २९ मुद्दामा आदेश भएको छ, अधिकांश इजलासमा आज पूरै समयाधिभर सुनुवाइ भएको छ ।”

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ भएको छ । उक्त प्रक्रियाबाट पेसी तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ सङ्क्रमण र निमोनियाका कारण अस्पतालमा भर्ना भएको र कायममुकायम प्रधानन्यायाधीश नतोकिएको विवादका कारण बुधबार र बिहीबार प्रभावकारीरूपमा सुनुवाइ हुन सकेको थिएन । यद्यपि आजदेखि न्यायाधीशहरु पूर्णरूपमा काममा फर्किनुभएको छ ।

प्रधानन्यायाधीश राणा पनि आज अस्पतालबाट घर फर्कनु भएको छ । उहाँ उपचारका लागि सशस्त्र प्रहरी बलको अस्पतालमा सोमबार भर्ना हुनुभएको थियो ।

सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफ, सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । बन्दी र निवेदनका मुद्दाबाहेक अरु मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।

यही मङ्सिर १५ गतेदेखि न्यायाधीश र नेपाल बार एसोसिएनको मागअनुसार गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ गर्ने काम प्रारम्भ भएको छ । आजदेखि न्यायाधीश पूर्णरूपमा इजलासमा बसेर सुनुवाइ गर्न थाल्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्