रेडपाण्डाको छालासहित २ जना पक्राउ



बासुदेव शर्मा ,जाजरकोट । 

जाजरकोटमा रेडपाण्डा हाब्रेको छाला सहित दुई जना पक्राउ परेको छन् । बारेको गाउँपालिका ३ मलसामुका लोक बहादुर रोकाय र सोही ठाँउका गोरख बहादुर रोकायलाई लोपोन्मुख रेडपाण्डाको छाला सहित प्रहरीले पक्राउ गरेको हो ।

बारेकाट ३ मलसामुका लोक बहादुर रोकायले लोपोन्मुख रेडपाण्डाको छाला ओसारपसार तथा बिक्रि वितरण गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूको निगरानी तथा खोजतलास गर्दै जाने क्रममा विहिवार दिउसो ४ बजे बारेको गाउँपालिका ८ सेपुखोला स्थित रमिता कुमाई बोहराले संन्चालन गर्दै आएको कौशिला कटेज एण्ड रेस्टुरेन्टको तल्लो तलाको बाँया तर्फको उत्तर पश्चिमको कोठाबाट बारेको ३ मलसामुका ३५ वर्षीय लोक बहादुर रोकाय र २० वर्षीय गोरख बहादुर रोकायलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

पक्राउ परेका उनीहरूको झोला खोजतलास गर्ने क्रममा पिठयुमा बोक्ने कालो रंगको झोला भित्र सेतो रङ्गको चिनिको कट्टामा पोको पारेको अवस्थामा दुर्लभ वन्यजन्तु रेडपाण्डा जस्तो देखिने पूर्ण आकृति भएको २८ इन्च लम्वाई भएको रातो कालो सेतो रौ भएको एक थान रेडपाण्डाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधु कुमार थापाले बताउनु भयो ।छाला सहित पक्राउ परेका लोक बहादुर र गोरख बहादुरलाई आवश्यक काबार्हिको लागी डिभिजन बन कार्यालय जाजरकोटमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी थापाले बताउनु भयो ।

दुर्लभ वन्यजन्तुको छाला लगायत अवैध धन्दा चोरी पैठारी गर्ने, मार्ने एक गाउँबाट अर्को ठाउँ ओसार पसारमा गर्ने उक्त कार्यमा संलग्नलाई कारवाही हुने नेपालको कानुनमा सुनिश्चित भए पनि यस्ता अवैध गतिविधि हुँदै आएका छन् । अवैध धन्दामा संलग्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय अथवा नजिकको प्रहरी चौकीमा गोप्य सूचना दिएर सहयोग गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्