नकुल र विष्णुले दोहोरीमा ल्याए ढल्की जाला त्यो लाली जोवन



सिन्धुपाल्चोकका गायकद्वय नकुल थापा र विष्णु थापाले मीठो भाकाको लोकदोहोरी सार्वजनिक गरेका छन्।गायकद्वयले मिठो भाकाका साथ बुधबार ढल्की जाला त्यो लाली जोवन बोलको लोकदोहोरी गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन्।

लोकदोहोरीमा गायकद्वय नकुल र विष्णुको स्वर तथा शब्द रचना रहेको छ। गायक नकुलकै लय रहेको दोहोरी गायनमा गायकद्वयलाई गायिकाहरू प्रतिमा अर्याल र रीता पौडेलले साथ दिएका छन्।

लोकदोहोरीका गायक तथा शब्द रचनाकार नकुल थापाले आफू जन्मे–हुर्केको जिल्लाको थप प्रवद्र्धनका लागि सो क्षेत्रको प्रसंग जोडेर यो लोकदोहोरी तयार पारिएको बताए।नकुल र विष्णुको गृहजिल्ला सिन्धुपाल्चोकस्थित सुनकोसी नदी तथा धार्मिक एवं पर्यटकीय गन्तव्य बलेफीलाई केन्द्रित गरी तयार पारिएको लोकदोहोरी भाकामा यसका शब्द रचनाकार नकुल र विष्णुले भनेका छन्

बलेफीमा सुनकोशी दोभान
चोखो माया लाइहाल बेलैमा
ढल्की जाला त्यो लाली जोवन।
यही थेगोमा पुरुष स्वरले
तड्पिराछु मायाको खेलैमा
भइयो भेट रमाइलो मेलामा
भन्दा महिला स्वरको जवाफ छ
विगत छोड्देऊ वर्तमान हेर
नतड्पेको म पनि काँ छु र?

बाल्यकालमा सँगै हुर्की लामो समयपछिको भेटघाटको सिलसिलामा गाइएको गीतको म्युजिक भिडियो आकर्षक बनेको छ।

 

जुनसुकै सभा समारोह र मनोरञ्जस्थल तथा मेला, पर्व र पिकनिकमा छम छम नाच्न मिल्ने गरी तयार पारिएको म्युजिक भिडियोमा मोडलहरू सञ्जीव ठकुरी र अस्मिता आचार्यका साथमा बाल कलाकारहरू निश्चल जंग थापा र गृष्मा थापा मगरले अभिनय र नृत्य गरेका छन् भने गायक–गायिका नकुल थापा, विष्णु थापा, प्रतिमा अर्याल र रीता पौडेललाई पनि देख्न सकिन्छ।

त्रिपुरा म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो कोरस कलाकारको नृत्यका साथ श्रीकाली चौरको रमणीय स्थलमा छायांकन गरिएको छ।

शिशिर बुढाथोकीको निर्देशन र कोरियोग्राफी रहेको म्युजिक भिडियोमा ड्रोनबाट छायांकन गरिएको सुनकोसी नदि, बलेफी र त्यस आसपासका आकर्षक तथा रमणीय दृश्यसमेत समावेश गरिको छ।

त्रिपुरा म्युजिक नेपाल प्रालिले उत्पादन तथा वितरण गरेको गीतको म्युजिक भिडियोमा दीपक गिरीको छायांकन, रोशन धितालको सम्पादन र रामचन्द्र बस्नेतको ड्रोन रहेको छ। गीतको संगीत संयोजन पवन वाङ लामाले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्