ओमिक्रोन सतर्कता



कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर आतंक मच्चाएको छ । उक्त भाइरसका कारण हालसम्म कसैको मृत्यु भएको समाचार नआए पनि यसले पार्नसक्ने असरलाई लिएर विश्व त्रस्त छ ।

दुई साताअघि दक्षिण अफ्रिकाबाट सरेको सो भाइरस विश्वका २३ राष्ट्रमा फैलिसकेको छ । त्यसले नेपालमा पनि असर गर्नसक्ने आँंकलन गर्दै सरकारले सबैलाई सतर्क रहन आह्वान गरेको छ । भाइरस संक्रमण हुनसक्ने आशंका गर्दै सरकारले सबै सरकारी निकायका अधिकारीलाई अत्यावश्यक काममा बाहेक विदेश जान रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले आदेश जारी गर्दै दक्षिण अफ्रिकी मुलुकबाट नेपाल आएका पर्यटक र नेपाली नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइन बस्न निर्देशन गरेको छ ।नेपालमा सरुवा रोगको संक्रमणको कुरा चल्नासाथ छिमेकी भारतसँगको खुला सिमानाको स्मरण भइहाल्छ । भारतमा कुनै संक्रमणले प्रवेश पाउनासाथ नेपालीले विशेष सतर्क हुनैपर्छ ।

नेपालमा हालसम्म प्रवेश नगरेको ओमिक्रोन छिमेकी भारतमा पनि पुष्टि भने भएको छैन । कोरोना संक्रमणको कारण दुई वर्षसम्म ठप्प विद्यालय भर्खरै खुलेका र जनजीवन सामान्य बन्नलागेका बेला नयाँ संक्रमण साँच्चिकै निराशाको विषय हो । थलिएको व्यवसाय बल्ल जुरमुराएर उठ्न खोज्दैछ । यस्तो अवस्थामा नयाँ भेरियन्टको आतंकले समग्र नेपालको अर्थतन्त्रका गम्भीर असर पु-याउन सक्ने आशंकाले सरकारलाई झस्काएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विमानस्थलमा विशेष स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । भाइरस आतंककै कारण अस्ट्रेलिया र जापानले विदेशी विद्यार्थी लैजाने निर्णय स्थगित गरेको सन्दर्भमा नेपालले पनि स्वास्थ्य परीक्षणमा कडाइ गर्नु स्वाभाविक छ । यी दुई देशमा अध्ययन गर्नजाने तयारीमा रहेका सयाै‌ नेपाली विद्यार्थी यतिखेर अलपत्र अवस्थामा छन् । डिसेम्बर १ तारिखदेखि विदेश जाने तयारीमा रहेका विद्यार्थीको विदेश जाने काम दुई साताको लागि रोकिएको छ ।

जीवनवृत्ति नै प्रभावित हुने त्रासले नयाँ पुस्ता चिन्तामा छ । तर, कोरोना भाइरसविरुद्ध जनस्तरबाट जुन अभियान र तदारुकता चाल्नुपर्नेहो त्यो भएको देखिन्न । मास्कको प्रयोगसम्म गरेको देखिँदैन । कोरोना संक्रमण बढेको अवस्थामा सबै जनताको हातमा सेनिटाइजर हुने गथ्र्यो, अहिले सेनिटाइजर बोकेको बिरलै देखिन्छ । नयाँ भाइरसको आतंकपछि सरकारले सबैलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिसकेको छ तर आम नागरिक निरपेक्ष उभिएको देखिन्छ । विदेशमा भाइरस फैलिए पनि नागरिकले खासै आतंकित हुनुपर्दैन । किनभने त्यसबाट जोगिन के गर्ने भन्ने विषयमा सरकार पूर्ण तयारीका साथ उभिएको हुन्छ । सरकारले जनतालाई नयाँ भाइरसबाट जोजिन सजग गराउँनैपर्छ, कडाइपूर्ण कदम पनि चाल्न हिचकिचाउनुहुन्न ।

सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्नु र कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनु सरकारको पहिलो दायित्व हो । घरबाहिर निस्कदा अनिवार्य रूपमा मास्क प्रयोग गर्नु र घर पुगेपछि साबुनपानीले हात धुनु अनिवार्य छ । सकेसम्म सेनिटाइजर बोक्ने बानी टुटाउनु हुुँदैन । यति गरेमा कोरोना भाइरसको नयाँ भेरियन्ट आउँदैमा डराउनु पर्दैन भन्ने चिकित्सकको सुझाव मननीय लाग्छ । यतिखेर डराउने होइन, सतर्क हुने हो ।

प्रतिक्रिया दिनुहोस्