हाम्रो संस्कार र संस्कृतिमा बालाचतुर्दशी



  • प्रेममान डंगोल

नेपाल एक बहुभाषी, बहुजाति, बहुसंस्कार र संस्कृति भएको देश भनी विश्वमै चर्तित रही आएको छ । त्यसमा पनि काठमाडौं उपत्यकाको संस्कार र संस्कृतिले गर्दा त झन् नेपालको पहिचानलाई अझ बढी चर्चित बनाएको छ । विदेशी पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु बनाएको छ ।मुख्यरुपमा नेपालको संस्कृति झल्काउने विभिन्न जात्रा, चाड, मेला र पर्वले हामीलाई गौरवान्वित बनाएको छ । साथै यहाँको संस्कृतिको धरोहरको रुपमा रही आएको नेवारको संस्कार र संस्कृति महत्वपूर्ण रही आएको छ ।

नेवारको जन्मदेखि मृत्युपर्यन्तको संस्कारमध्ये महत्वपूर्ण रही आएको एउटा संस्कार हो बाला चतुर्दशीका दिन सतबीज छर्ने । धान, गहुँ, चामल, मकै, भटमास, लावा, मास, सस्र्यूं, कालो तील, जौ, सानो केराउ, नौथरी गेडागुडी, केरा, सुन्तला, स–साना टुक्रा गरी काटेको उखु आदिको मिश्रणलाई सतबीज भनिन्छ । बीउको रुपमा यी चीज पशुपति, गुह्येश्वरी क्षेत्रका वनमा छरेर बाला चतुर्दशी मनाउने गरिन्छ । दिवंगत भैसकेका पुर्खाका नाममा यसरी सतबीज छरेर उनीहरुको उद्धार होस्, सुखावती भुवनमा बास होस् भनी कामना गरिने हो ।

बाला चतुर्दशीका दिन सृष्टिकर्ताको प्रतीकको रुपमा लिइराखेका शिवलिंग र गुह्येश्वरीमा पनि सतबीज छर्ने गरिन्छ । बाला चतुर्दशीका दिन पशुपतिमा रहेका एक सय आठ शिवलिंग, श्लेषमान्तक वन, मृगस्थली र गुह्येश्वरी क्षेत्रमा मृतकका नाममा सतबीज छर्ने गरिन्छ भने अघिल्लो दिन राति त्यहीँ बास बसेर, रातभर जाग्राम रहेर, लाख बत्ती बालेर मृतकका आत्मा र परमात्माको सम्बन्धलाई सम्झिने गरिन्छ ।पशुपति र गुह्येश्वरीलाई दुईजना महिला र पुरुष अर्थात् पुलिंग र स्त्रीलिंगका प्रतीकको रुपमा मान्ने गरिन्छ । सृष्टिको प्रतीकको रुपमा पशुपति र गुह्येश्वरीलाई मान्दै आएको पाइन्छ । श्लेष्मान्तक वन र मृगस्थली पशुपति र गुह्येश्वरीको यौनलीलासँग सम्बन्ध रहेको पवित्र स्थानको रुपमा पनि मान्ने गरिन्छ । पशुपतिमा रहेको एक सय आठ शिवलिंगको स्थापना राजा प्रताप मल्लले गराएका हुन् । राजा प्रताप मल्लले एउटी नाबालिकालाई यौनसम्बन्ध राखी हत्या गरेकाले प्रायश्चित्तको रुपमा शिवलिंग स्थापना गरेका हुन् ।

मृतकलाई मसानमा जलाई भष्म गर्ने अर्थात् अन्त्येष्टि कर्म गर्ने स्थान र सृष्टिचक्र चलाइरहने पशुपति एवं गुह्येश्वरीबीच रहेको अन्तरसम्बन्ध सम्झिने अनि बाला चतुर्दशीमा पुर्खाको नाम स्मरण गर्दै सतबीज छर्ने परम्पराक छ ।बाला चतुर्दशीको विषयमा एउटा परम्परागत किवंदन्ती रही आएको, जसले गर्दा बाला चतुर्दशीमा सतबीज छर्ने चलन नेवारहरुले नै चलाउँदै आइरहेको हो भन्न सकिन्छ । परापूर्वकालमा एकपटक पशुपतिको मसानमा लास जलाइरहेको बेलामा गुठियारहरुले खाना खाइरहेको बेला अपर्भmट लासको टाउको पड्किएर गुठियार बालानन्दले खाइरहेको भागमा गिदी पर्न जान्छ । तर बालानन्दलाई यो कुरा थाहा हुँदैन । उनले मासु–चिउरासँगै मरेको मान्छेको गिदी पनि खाइदिन्छन् । पछि बालानन्दले थाहा पाउँछन् । तर उनलाई धेरै मीठो लाग्छ ।

पछि बालानन्दले पशुपतिको मसानमा गएर मृतकका गिदी खाने गर्न थाले । बालानन्द पशुपतिको मसानमै बसी लास जलाउने र मसान सफा गर्ने काम गर्न थाले । बालानन्दलाई मृतकका लुगा र पैसा पनि दिन थालियो । लास जलाउँदै गर्दा बालानन्दले मृतकका गिदी मात्र खाएर नपुगी मासु पनि खान थाले । मृतकका गिदी र मासु खाँदा–खाँदा बालानन्दको टाउको पनि चाँदीको जस्तै टल्कन थाल्यो । अनि उनको नाम बालानन्द होइन, बालासुर हुन गयो । यसरी मानिसको मासु खाने बालानन्दलाई राक्षसको रुपमा बालासुर भनी सबैले भन्न थाले ।

यसरी मरेको मान्छेको गिदी र मासु खान पल्केका बालासुर राक्षसले त्यहाँ जलाउन ल्याएका मृतक मसानमा पुग्न नपाउँदै बीचबाटोमै खोसेर लग्न थाले । त्यसपछि जंगलमा गई सो लास खाने गर्न थाले । बालासुरले यसरी दुःख दिएकाले सबै जनता मिलेर त्यस बेलाका राजा भुवनकेशरीलाई भन्न गए । त्यहाँ छलफल गरी कसरी बालासुरलाई मार्न सकिन्छ भनी सल्लाह गरे ।त्यसपछि राजाले बालासुरका मीत वृषसिंहलाई धेरै धनसम्पत्ति दिने लोभ देखाएर बालासुर राक्षसलाई मार्न आदेश दिन्छन् । राजाको आदेश पूरा गर्न वृषसिंहले आफ्ना मीत बालासुरलाई मार्ने शक्ति प्राप्त गर्न पशुपतिनाथको तपस्या गर्छन् । तपस्याबाट प्रसन्न भई पशुपतिनाथले वृषसिंहलाई दर्शन दिन्छन् । यसै क्रममा पशुपतिले ‘मैले बालासुरलाई मार्ने शक्ति दिन्छु तर तिमीले उसलाई मारिसकेपछि उसको टाउकाको मुकुट बनाएर चढाउन ल्याउनुपर्छ’ भनेर अन्तध्र्यान हुन्छन् ।

यसरी महादेवले वरदान दिएपछि वृषसिंहले बालासुरलाई खुवाउन १० जना ज्यामीहरुलाई जाँड, रक्सी, मासु, चिउरा बोकाएर बालासुरकहाँ जान्छन् । बालासुर आफ्नो मीत आएको देखी धेरै खुशी हुन्छन् । वृषसिंहले बालासुरलाई खुवाउन लगेको खानेकुरा खुवाउँछन् । उनले जाँड–रक्सी धेरै खुवाई बालासुरलाई मताइदिन्छन् । अनि वृषसिंह र ज्यामीहरु मिलेर बालासुरलाई डोरीले बाँधेर इनारमा खसाली मारिदिन्छन् । त्यसपछि वृषसिंहले बालासुरको टाउकोको मुकुट बनाएर पशुपतिमा चढाउँछन् ।

वृषसिंहले महादेवसँग आफ्नो मीत मारेको पापबाट मुक्त हुने वरदान माग्छन् । महादेवले पनि वृषसिंहलाई पापबाट मुक्त हुने सुझाउँछन् । महादेव भन्छन्, ‘बालासुर मारेको दिन पशुपतिमा बालासुरको टाउकोको मुकुट बनाएर लागाइदिई पूजा गरेमा मीत मारेको पापबाट मुक्त हुन्छ ।’ यसरी बालासुरको मुकुट लगाएको दिन जसले महादेवको दर्शन गरेर सतबीज छर्ने गर्छ उसको सात पुस्तासम्म मोक्ष प्राप्त हुनेछ र स्वर्गमा जान पाउनेछ भनी महादेवले भनेको दिन नै बाला चतुर्दशीको दिन हो । उहिलेदेखिको यो सतबीज छर्ने चलन आजसम्म पनि चल्दै आइरहेको छ । यो चलन नेवार संस्कारको मौलिक संस्कृति हो । पशुपतिनाथ परिसरमा मात्र नभएर अन्य शिव मन्दिर भएका स्थानमा समेत सतबीज छर्ने परम्परा अद्यापि छ ।

प्रतिक्रिया दिनुहोस्