चौधरी समूहको प्यानल घोषणा



काठमाडौ(नेस) ।

नाडा अटो मोवाईल एसोसिएसन अफ नेपालको आगामी अधिवेशनको लागि करण चौधरीको समूहले आफ्नो प्यानल घोषणा गरेको छ । यही मंसिर २२ गते आयोजना हुने २२ औं साधारण सभा तथा २३ गते हुने निर्वाचनमा दुई समूह निर्वाचनमा होमिएको छ ।

हालको नाडाको कार्य समितिका ८० प्रतिशत भन्दा बढी सदस्य चौधरीको समूहमा रहेकाले आगामी निर्वाचनमा आफ्नो समूह बिजयी हुने दावी गरेको छ । सो समूहले आफ्नो विजय सुनिश्चित भए पनि एसोसिएसनलाई साझा बनाउनकालागि जस्तो सुकै त्याग गर्न पनि तयार रहेको बताएको छ ।

सो समूहमा ब्यवसायिक समूह संलग्न रहेको दावी गरिएको छ । हालका महासचिव सुनील रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती,बिक्रम सिंघानिया, राजनबावु श्रेष्ठ,अभिक ज्योति, मिलनबावु मल्ल, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणी पाठक, बरदान बस्नेत, निसान्त ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगा भट्टराई, बर्ण न्यौपाने र देवराज भण्डारी कार्यसमिति सदस्यको रुपमा उमेदवारी दिएका छन ।

एसोसिएसनमा सबै पक्षलाई समेटेर अगाडि बढाउने तयारीमा रहेको सो समूहले सातै प्रदेशमा प्रदेश समिति बनाउने र सो समिति मार्फत नाडाको गतिविधिलिाई सक्रिय बनाउने चौधरीले जानकारी दिनुभयो ।

आफ्नो समुहका सदस्य सार्वजनिक गर्दै चौधरीले चुनावमा जसको हारजित भए पनि एकअर्काको सुझावलाई आत्मसात गर्दै अगाडि बड्ने प्रतिबद्धता जाहेर गरेका छन्। सोही क्रममा उहांले भन्नुभयो – चुनावमा कुनै प्रतिस्पर्धा छैन। नेतृत्वमा जो आए पनि एकअर्काको सुझावलाई आत्मसात गर्दै अगाडि बढ्नेछौं ।

चौधरीले आफ्नो प्यानलमा अटोमोवाइल क्षेत्रमा लामो अनुभव बटुलेका व्यवसायीदेखि नयाँ पुस्ताका युवा व्यवसायीहरुसम्म समेटिएको बताउनुभयो । जसमा दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन व्यवसायी, स्पेयर पार्ट्स बिक्रेतादेखि हेभी इक्विपमेन्ट व्यवसायी लगायत सबै क्षेत्रलाई समेटिएको उहांको दाबी छ ।

हाम्रो समूहमा अनुभव र जोशको राम्रो समिश्रण छ। त्यसैले अनुकुलता र प्रतिकुलता दुवैमा अटोमोवाइल क्षेत्रलाई सन्तुलित तरिकाले अगाडि लैजान हाम्रो समुह सक्षम छ,’ उहांले भन्नुभयो । चौधरीसँग अध्यक्षमा पोखराका व्यवसायी ध्रुब थापाले प्रतिस्पर्धा गर्न लाग्नु भएको छ । थापा नेपालका लागि फोर्स मोटरको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्