स्थानीय सरकारले पनि उठाउन नसकेको लोकप्रिय खेल



फिरोज राजोपाध्याय

भौतिक पूर्वाधार, संरचना र आर्थिक स्रोत बलियो भएमा देशमा खेलकुदले गति लिनसक्छ । यो नेपालमा मात्रै होइन विश्वकै देशमा लागू हुन्छ । यसका लागि सरकारको चासो खेलकुदमा गम्भीर रूपमा हुनुपर्छ । अनि मात्रै हरेक देशको खेलकुद उभो लाग्छ । नेपालमा यी तीन चीजमध्ये एकको कमी धेरै रहेको छ, त्यो हो आर्थिक स्रोत ।

नेपालमा कयौं खेल छन्, त्यही खेलका लागि मैदान पनि छ, कभर्डहल पनि छ । तापनि, नेपालको खेलकुदले विश्वमा उचाइ लिन सकिरहेको छैन । यसको प्रमुख कारण अर्थ हो । फुटबल नेपालमा निकै लोकप्रिय खेल हो । तर, यसले भने जस्तो विश्वमा सफलता पाउन सकेको छैन । फुटबलका लागि सातै प्रदेशमा मैदान उपलब्ध रहेको छ । तापनि, कुनै घाँस उमे्रर त्यतिकै रहेको छ त कुनैमा संरचना अपूरो रहेको छ ।प्रदेश एकअन्तर्गत विराटनगर र इटहरीमा फुटबल मैदान बनेको छ । प्रदेश २ को शहर वीरगञ्जमा पनि मैदान छ । त्यस्तै, बागमती प्रदेशमा त दशरथ रंगशाला उपलब्ध रहेको छ । यो नेपालको सबैभन्दा लोकप्रिय रंगशाला समेत हो । यस्तै, गण्डकी प्रदेशमा त झनै राम्रो सुविधा सम्पन्न रंगशाला बनिरहेको छ । प्रदेश ५ मा नेपालगञ्ज रंगशाला रहेको छ । प्रदेश ६ र कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा पनि फुटबल खेल्न मैदान रहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले रंगशाला सातै प्रदेशमा रहेको तर, यसलाई अझ व्यवस्थित गर्न सरकारले चासो राख्नुपर्ने बताउनुभयो । सिंहले नेपाल समाचारपत्रलाई बताउनुभयो—‘सातै प्रदेशमा रंगशाला बनेको छ । यसमध्ये पोखरामा निकै सुविधा सम्पन्न बहुउद्देश्यीय रंगशाला बन्दैछ । यसमा रेफ्री कोर्स, कोचिङ, गर्न हुने रंगशाला बनिरहेको छ । यो रंगशाला बनेपछि यहाँ अन्तर्राष्ट्रिय खेल खेलाउन सकिनेछ । रंगशाला मात्रै भएर हुँदैन यसलाई जोगाउन यसलाई कसरी व्यवस्थित गर्ने र साथै कसरी सुविधा सम्पन्न बनाउने भन्ने विषयमा सरकारको ध्यान जानुपर्छ । एन्फा एक्लैको प्रयासले सातै प्रदेशमा रंगशालालाई अझ व्यवस्थित बनाउन सकिँदैन । यो कुरा सबैले मनन गर्नुपर्छ ।

नेपालमा मैदान भएअनुसार फुटबलमा लगानी पनि त्यहीरूपमा भइरहेको छ । यसमा करोडौं लगानी हुन्छ । नेपालमा सबैभन्दा बढी व्यस्त भनेको फुटबल टिम नै हो । हालै मात्र पनि फुटबल टिमले विश्वकप छनोट, एसियन छनोट र विभिन्न मैत्री खेल खेलेको छ । अहिले ‘ए’ डिभिजन लिग शुरू भइरहेको छ । ‘ए’ डिभिजन लिगको लागि एन्फाले करिब ४० करोड खर्च गरेको छ । सहभागी १४ क्लबलाई प्रत्येकको लागि तयारी २० लाख दिइएको छ । हरेक खेलको विजेता टिमले ५० हजार पाउने र हरेक बराबरी नतिजामा टिमलाई २५-२५ हजार दिइने गरी लिगलाई आकर्षक बनाइएको छ ।एन्फाले लिग खेल फ्लड लाइटमा खेलाएर यसलाई अझ आकर्षक र चमक बनाएको छ । दर्शक पनि दिउँसोको खेलमा भन्दा बढी बेलुकीको खेलमै रहेका छन् । उनीहरूले जाडोको बेवास्ता गरेर रंगशालामा लिगको महत्व झल्काइरहेका पनि छन् । लिगमा शीर्ष तीनमा आउने टिमलाई क्रमशः ७५ लाख, ५० लाख र २५ लाख नगद पुरस्कार दिइनाले पनि फुटबलले नेपालमा ठूलै लगानी गरेको प्रस्ट छ । यस्तो खेललाई अझ प्रभावशाली बनाउन भने सरकार चुकेको छ । जुन सुकै सरकार आएपनि फुटबलमा विकास गर्न कुनै पहल गर्दैन । यही नै दुर्भाग्य भएको छ ।

 

 

 

 

 

 

 

 

यस्तै, क्रिकेटको कुरा गर्ने हो भने फुटबलपछि नेपालमा लोकप्रिय बनेको छ । क्रिकेटमा अवसर छ तर, त्यो अवसरलाई सदुपयोग भने गर्न सकिरहेको छैन । कारण एउटै हो बजेट र मैदानको अभाव । नेपालमा दुई वटा मात्रै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पीच रहेका छन् । एउटा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान र अर्को पोखरा रंगशालामा रहेको क्रिकेट मैदान हुन् । मूलपानी क्रिकेट मैदान भने अझै पूर्णरूपले निर्माण सम्पन्न भएको छैन । यसलाई पनि अन्तर्राष्ट्रियस्तरको रूपमा बनाइरहेको छ । तर, आर्थिकका कारण नै यसको निर्माणमा ढिलाइ भइरहेको छ ।

कीर्तिपुरको मैदानमा विदेशी खेलाडीले खेलिसकेका छन् । उनीहरूले यो मैदानको प्रशंसा पनि गरेका छन् । यसलाई व्यवस्थित ढंगले संरचना गर्न भने सरकारले उदासिनता देखाइरहेको छ । नेपाल क्रिकेट संघ (क्यान) एक्लैले यसलाई व्यवस्थित गर्ने कुनै अवस्था छैन । सरकारले आर्थिक सहयोग गरेर क्यानसँग मिलेर जाने हो भने कीर्तिपुरको पिचमा दर्शक बस्ने सिट बनाउन सकिनेछ । तर, यो भइरहेको छैन । अहिले पनि अन्तर्राष्ट्रिय खेल हुँदा घाँसमै दर्शक बस्न बाध्य छन् ।अर्को नेपालको राष्ट्रिय खेल भलिबलको हालत पनि उस्तै छ । त्रिपुरेश्वरस्थित कभर्ड हल, विभागीय तीन टिमको कभर्ड हलमा भलिबल प्रतियोगिता आयोजना हुँदा खचाखच दर्शक आउने गर्छन् । यतिका लोकप्रियता भएपनि थप कभर्ड हल बनाउनेमा भने अहिलेसम्म कुनै पहल भइरहेको छैन । कीर्तिपुरमा बनाउने भनेको कभर्ड हल पनि बन्न सकिरहेको छैन ।

त्यसो त भलिबल खेल्न कभर्ड हल आवश्यक त छैन । एउटा फराकिलो ठाउँ भएमा त्यही खेलाउन सकिनेछ । यसबाट पनि खेलको विकास गर्न सकिन्छ । तर, सार्वजनिक मैदानमा भलिबल खेलाउँदा सुरक्षाको खतरा र दुर्घटना हुने धेरै भएको हुँदा सरकारबाट नै कभर्ड हल बनाउन पहल गरिदिनुपर्ने एक भलिबल प्रशिक्षकले (उहाँ मिडियामा आउन नचाहेकोले नाम नखुलाएको) बताउनुभयो । उहाँले बताउनुभयो—‘सार्वजनिक स्थानमा घाउ चोट लाग्न सक्छ, खेलाडी हुन् उनीहरूलाई सकेसम्म हामीले सुरक्षा गर्नुपर्छ । उनीहरूले धेरै खेल्नुपर्ने भएको हुँदा कभर्ड हल कमसेकम ८÷१० वटा बन्नुपर्छ । यसमा व्यक्ति र भलिबल संघले मात्रै गर्न सकिँदैन यसका लागि सरकार नै अघि आउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्