पर्यटन पूर्वाधारका लागि पैदल मार्ग मौलिक उपलब्धि



युवराज कुँवर अध्यक्ष, अन्नपूर्ण गाउँपालिका, कास्की

निर्वाचनका समयमा तपाईंको घोषणापत्रमा प्रस्तुत भएका प्रतिबद्वता के कति पूरा भए ?

२०७४ सालको स्थानीय निर्वाचनको समयमा हाम्रो पार्टीको नीति तथा निर्वाचनको समयमा जनतासामु हामीले गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा अन्नपूर्ण गाउँपालिकामा कृषिको लागि उर्वर जमिन भएको साथै अन्नपूर्ण गाउँपालिका पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य घान्द्रुक तथा अन्नपूर्ण वेस क्याम्पसमेत यस गाउँपालिका रहेको हुँदा अन्नपूर्ण गाउँपालिकाले कृषि,पर्यटन र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार भन्ने नारा तय गरी कृषि पर्यटन र पूर्वाधारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राखी यस क्षेत्रमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्ने बाचा गरेका थियौं,पूरा गर्न नसकिने खालको काम गर्ने झुट्ठो आश्वासन दिएका थिएनौं ।

स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्न लागेको छ । यस अन्तरालमा हरेक वर्ष अन्नपूर्ण गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा यिनै कुरालाई प्राथमिकता दिँंदै सोही अनुसारको योजनाहरू सञ्चालन गर्दै आइरहेको छ जसबाट अन्नपूर्णबासीले नै महसुस गर्ने गरी हामीले प्रतिबद्धता व्यक्त गरेका अधिकांश काम तथा योजनाहरू पूरा भएका छन्, पूरा हुने क्रममा समेत छन्। जनताका आवश्यकताहरू पहिचान गरेका छौं, यो पनि समाधानको एउटा पाटो हो ।

पालिका पर्यटनसँगै जल, जंगल र जडीबुटीमा सम्पन्नछ । कत्तिको सदुपयोग गर्नुभयो ?

अन्नपूर्ण गाउँपालिका पर्यटनमा प्रचुर सम्भावना भएको ठाउँ हो । यो गाउँपालिका अन्नपूर्ण पदयात्रा र अन्नपूर्ण आधार शिबिर यसै पालिकाभित्र पर्दछन्,हाम्रो नारा नै ‘कृषि,पर्यटन र पूर्वाधार,अन्नपूर्ण समृद्धिको आधार’ भएको हुँदा पर्यटनको महत्व स्पस्ट छ ।

सडकको निर्माण सँगसँगै पैदल मार्गको निर्माणसमेत गर्ने गरेका छौं,हरेक वर्ष अन्तर्राष्ट्रिय अन्नपूर्ण म्याराथन दौड र सेन्चुरी पर्यटन महोत्सव आयोजना गरेर देश विदेशमा प्रचार प्रसार गर्दै आएका छौं । हाम्रो पालिकाभित्र मोदी नदीको प्रवाह रहेकोले ५० मेगावाटको माथिल्लो मोदी,१२ मेगावाटको तल्लो मोदी,१७ मेगावाटको बुलौंदी निर्माणको सहजिकरण गरेका छौं साथै सम्भाव्यता अध्ययन भएका थुप्रै जलविद्युत् आयोजनासमेत रहेका छन् ।

सबै जल विद्युत् परियोजनामा गाउँपालिकाको निश्चित सेयर हिस्सा हुनुपर्नेमा आवाज उठाएको छु ।जंगलको विषयमा वन संघीय सरकारको क्षेत्राधिकारमा पर्ने,हाम्रो गाउँपालिका एक्यापको क्षेत्र रहेकाले अधिकारको दोहोरोपना भएको पाएको छु ।गाउँपालिकाले अधिकतम उपयोग गर्न एक्यापको अधिकारमा पुनर्विचार गर्नुपर्ने देखेको छु ।

प्रायः स्थानीय तहमा बेरूजु बढ्दो मात्रामा रहेको सुनिन्छ ? तपाईंको पालिकामा बेरूजुको अवस्था कस्तो छ ?

अन्नपूर्ण गाउँपालिकामा हामी निर्वाचित भएपछि आन्तरिक नियन्त्रण प्रणाली अपनाई बेरुजुको अवस्थालाई शून्यमा झार्ने नीति लिएको छु ।कुनै पनि योजनाको भुक्तानी पेश्की नभई रनिङ बिलको आधारमा भुक्तानी गर्ने व्यवस्था मिलाएको छु । गाउँपालिकामा पेश्की शून्य छ ।

अघिल्लो गाविसहरूको सरी आएको लगत बेरुजुबाहेक हाल गाउँपालिकाको बेरुजु तीन प्रतिशतभन्दा कम छ ।नमुना माध्यामिक विद्यालयको रकम संघीय सरकारबाट असारको अन्त्यमा निकासा हुने र भुक्तानी कार्यसम्पन्न प्रतिवेदन अन्तिममा गर्न नसक्दा केही थोरै अंश मात्र भएको कुरा अनुरोध गर्दछु ।

मलेप प्रतिवेदनमा रहेको सैधान्तिक बेरुजुहरू गाउँसभाको बैठक बसी सम्परीक्षणको लागि पेस गर्ने गरेको छु,आशा छ आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी कार्यान्वयन गरी यसतर्फ ठोस कदम चाल्नेछु । नपुग बिल भरपाई निर्णयहरू समयमै सम्पन्न गर्ने प्रतिबद्धता गर्दछु ।

तपाईंले हासिल गरेका प्रमुख पाँच उपलव्धि के हुन् ?

  • स्थानीय तहको निर्वाचनपश्चात् ऐन कानुन निर्माण गरेर मात्र कार्यालय व्यवस्थापन तथा सेवा प्रवाह गर्ने काम गर्यौं ।
  •  पर्यटन विकासको लागि सडक मार्गको विकल्पमा पैदल मार्गको अवधारणा लागु गर्यौं र करिब ८ कि.मी पैदल मार्ग निर्माण गर्यौं ।
  •  मानव स्वास्थ्यका लागि स्वास्थ्य चौकी र स्वास्थ्य इकाइबाट ३७ प्रकारका निशुल्क औषधीको अनिवार्य वितरणको व्यवस्था गर्यौं । १५ श्ययाको अस्पतालको कार्यान्वयन शुरूगर्यौं ।
  •  १ घर एक धारा खानेपानीलाई सबै वडामा लागु गर्यौं ।
  •  अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको स्थापना र कृषितर्फका जनशक्ति उत्पादनको सुरुआत गरेका छौ

तपाईंले भोग्नुपरेका चुनौतीमध्ये प्रमुख पाँच चुनौती के हुन् ?

आर्थिक वर्ष श्रावणबाट शुरू हुने लगत्तै चाडबाड शुरू हुने र त्यसपछि खेतीबाली थन्क्याउने समय हुने कारणले योजना कार्यान्वयनमा समय अभाव हुने ठानेको छु ।

विकास निर्माण ठेक्का प्रक्रियाको सूचना प्रकाशन लगायत मूल्यांकनमा लामो समय व्यतीत गर्नुपर्ने अवस्था, संघ, प्रदेश सरकारले दिएको बजेट सिलिङअनुसार बजेट निर्माण गर्दा तोकिएको स्रोत प्राप्त नहुने, स्थानीय तहलाई प्राप्त अधिकार अनुसार करको दायरा साँगुरो हुनु, राजश्व बाँडफाँडमा संघीय सरकारले कम हिस्सा प्रदान गर्नु चुनौतिको रूपमा लिएको छु ।

स्थानीय तह गठन भएपछि विकासको लहर गाउँसम्म पुगेको छ । जनताहरू बसाइँ सरी शहर प्रवेश गर्दैछन् । जसले गर्दा जनसहभागिता जुटाउन योजना कार्यान्वयन गर्न अप्ठेरो परेको छ । जनप्रतिनिधिको विचार सधैं जनताको जीवनस्तर परिवर्तनको लागि हुन्छ ।

काम गर्दै जाँदा नीति र विधिले काम गर्न ढिलाइ हुने गरेको छ । देशको विषम परिस्थिति, कानुनी जटिलता ,समयमै बजेटको उपलब्धता,काम गर्ने कर्मचारीको कार्यदक्षता,स्थानीयको विकासप्रतिको अपनत्व स्वीकार गर्ने बानीको विकास भयो भने समयमै काम गर्न सकिन्छ,कामले परिवर्तन ल्याउँछ ,परिवर्तनले सकारात्मक प्रवाह ल्याउँछ भन्ने लाग्दछ ।

तपाई फेरि उम्मेदवार हुने हो ? हो भने तपाईंलाई नै भोट दिनुपर्ने पाँच कारण ?

म एउटा नेपाली कांग्रेसको पार्टीको पहरेदार कार्यकर्ता हो । पार्टीले लिएको उद्देश्य र जिम्मेवारी इमान्दार कार्यकर्ताको हैसियतले पूरा गर्दै आएको छु ।

भोलिका दिनमा पार्टीले उद्देश्य पूरा गर्न दिएको जिमेवारी पूरा गर्न सधैं तयार छु,जुन तह र पदको जिम्मेवारी प्राप्त गर्छु त्यसमा इमान्दारिताका साथ पूरा गरी सधैं जनताकै माझमा रहनेछु ।

प्रस्तुति : टंक अधिकारी

प्रतिक्रिया दिनुहोस्