वीरगञ्जमा सोचेभन्दा बढी काम भएको छः सरावगी



????????????????????????????????????

मुलुकको प्रमुख प्रवेशद्वारको रूपमा रहेको वीरगञ्जलाई धेरै हिसाबमा महत्वपूर्ण सहरका रूपमा लिने गरिएको छ । तत्कालीन संघीय समाजवादी पार्टीका तर्फबाट उम्मेवार बनेर वीरगञ्ज महानगरपालिकाको प्रमुखमा विजयी विजय सरावगीलाई स्थानीय नागरिक जिम्मेवार नेता मान्छन् । उद्योगीसमेत रहेका सरावगीसँग नेपाल समाचारपत्रकर्मी कृष्णउदास खनालले उहाँको जिम्मेवारीलाई नै केन्द्रमा राखेर कुराकानी गर्नुभएको छ ।

तपाई वीरगञ्ज महानगरपालिकाको प्रमुख भएको पाँच वर्ष पुग्नै लाग्यो, यस समयमा वीरगञ्जको विकासका लागि के गरेँजस्तो लाग्छ ?

म वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख हुँदैगर्दा वीरगञ्जको अवस्था ज्यादै दयनीय थियो, यो कसैको सामु छिपेको कुरा होइन । चलिरहेका सबै ठूला र साना योजनाहरू लथालिंग थिए तर, अहिले सबै सम्पन्न हुने अवस्थामा छन् । फोहोर मैला व्यवस्थापनका लागि अहिले प्रयास भइरहेको छ र यो एक डेढ महिनाभित्रमा सञ्चालन गर्ने लक्ष्यछ ।

सुन्दर भएर पनि वीरगञ्ज कुरूपजस्तो थियो ।सबैभन्दा पहिला त मैले अस्तव्यस्त रहेको वीरगञ्जलाई एउटा लयमा ल्याउने काम गरेको छु । यो भन्दै सबैभन्दा ठूलो काम हो भन्ने लाग्छ मलाई । दोस्रो, वीरगञ्जका विभिन्न स्थानको अवस्था निकै भद्रगोल थियो । तिनीहरूको व्यवस्थापन गरें भन्ने लाग्छ । त्यसो त वीरगञ्जका बालबालिकाहरूका लागि खेल्ने ठाउँ नै थिएन, उनीहरूका लागि चिल्ड्रेन पार्कको निर्माण गरियो ।

वीरगञ्जको घण्टाघरमा रहेको मधेशी सहिदपार्क, (बिपी)उद्यानपार्कको व्यवस्थापनको काम भइरहेको छ । बनाउनका लागि डीपीआर तयार भइसकेको छ र टेन्डर पनि परेको छ अब यो निर्माण शुरू हुन्छ । आम नागरिकहरूको धारणा के छ भने वीरगञ्ज भनेको मूल सडक मात्रै हो । तर यसो होइन वीरगञ्जमा ३२ वटा वडा छन् ।

यी सबैको विकासका लागि मैले काम गरिरहेको छु । नगरका सामुदायिक विद्यालयको अवस्था सुधारमा लागेका छौं । सबै समु्दायिक विद्यालयमा सीसी क्यामरा जडान गरिँदैछ र केहीमा जडान भएका छन् । छात्राहरूका लागि सेनेटरी प्याडको व्यवस्था गरेको छौं ।

वीरगञ्जमा लैङ्गिक विभेद हटाउन, स्वास्थ्य र कृषि क्षेत्रमा सुधार ल्याउन तपाईंले के गर्नुभयो ?

यहाँ लैङ्गिक विभेद कायम छ । छोरीलाई सामुदायिक र छोरालाई बोर्डिङ स्कुल पठाउने चलन छ । त्यसको अन्त्यका लागि हामीले सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यामबाट पठन पाठनको व्यवस्था मिलाउँदै छौं । अर्को स्वास्थ्यको कुरा छ । स्वास्थ्यमा हामी अलि कमजोर छौं, स्वास्थ्य क्षेत्रमा सुधार गर्दै छौं ।

कृषिको अवस्थामा सुधार ल्याउँदै छौं । बेरोजगारहरूलाई रोजगार दिनका लागि कार्यक्रम ल्याउदै छौं । वीरगञ्जका हरेक घरलाई नम्बरिङ गर्दैछौं र सबै वडालाई अधिकार सम्पन्न बनाउँदैछौं । अब वडाका नागरिक नगरपालिका धाउन नपरोस् भन्ने योजना बनाउँदैछौं ।

यसलाई खुलामन्च, सहिदपार्क, बिपीपार्कसहित महानगरको एउटा उचित पार्किङ स्थल बनाउने योजना अगाडि सारिएको छ । यी सबै काम गर्न नीतिको आवश्यक पर्दथ्यो, त्यो हामीले बनाइसकेका छौं । करिब २० महिनाको यो अवधिमा ४ सय ७० योजना सम्पन्न भएका छन् ।

यसका साथै लामो समय जीर्ण रहेको वीरगञ्जको घण्टाघरको समेत मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । जनप्रतिनिधि नहँुदाको वीरगञ्ज र म नेतृत्वमा आएपछिको वीरगञ्जमा अहिले धेरै फरक भएको छ ।

फोहोर व्यवस्थापनको समस्या समाधानका लागि के गर्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनका लागि हामीले ठोस नीति बनाउदैछौं । साउन १ गतेबाट ५ वर्षका लागि पीपीपी मोडलमा निजी क्षेत्रलाई दिएका छौं । नालीबाहेक ।

नाली सफाको काम महानगरका कर्मचारीले गर्छन् । अरू निजी क्षेत्रले गर्छ । संस्थाको नाम मलाई याद भएन तर साउन १ गतेबाट फोहोर व्यवस्थापनका लागि काम गछौं ।

वीरगञ्जको बसपार्क भद्रगोल छ, व्यवस्थित नगर्ने ?

बसपार्क तयार भइसकेको छ । १८ करोडको लगातमा बनेको हो । वीरगञ्ज महानगरपालिकाले यो ऋण लिएर नै बनाएको हो । करिब करिब यो बनिसकेको छ ।

वीरगञ्ज, पानी पर्दा हिलाम्यै र घाम लाग्दा धुलाम्यै हुने अवस्था छ, यसमा किन ध्यान गएन मेयर साप ?

हेर्नुस्, यसमा म नगरवासीसँग माफी माग्न चाहन्छु । के भइरहेको छ भने, विकासको कुरा हो । ठेकेदार साथीहरूले बाटो बनाउँदा पानी छर्ने कुरा गर्नुहुन्छ तर काम नगरिदिँदा समस्या भएको हो ।

वीरगञ्जमा एकैपटक अहिले एक सय किलोमिटरको सडक निर्माण भइसकेको छ । एकैचोटी यो काम हुँदा केही कष्ट भएको हो । गाह्रो भएको ठाउँमा मिलाउने काम भएको छ । यदियस्तो समस्या कहीँ छ भने त्यो हामीलाई नागरिकले सीधै खबर गर्दा हुन्छ अनि मेरै कार्यकालमा वीरगञ्जको सडक सबै सफा र सुन्दर हुनेछ ।

यहाँको विकासका लागि केही रकम माग गरेको छु । त्यो पाएँ भने वीरगञ्ज सडकमा लागि सक्षम बन्नेछ । सीधै ग्रामीण भेगसम्म बस चलाउने लक्ष्य छ । सडक सञ्जाल वीरगञ्जभरि लैजाने र काम नभएका सिंचाइ पनि पुरेर सडक बनाइनेछ ।

सडक विभागलाई सडक बिस्तार गर्न बाधा पु¥याउने मेयर भनर तपाईंको विरोध भइरहेको छ नि?

मेयर बाधक छैन । जुनदिन वीरगञ्ज तोड्ने भनेर निर्णय हुन्छ, त्यही दिन मेरो घर म सबैभन्दा पहिला भत्काउनेछु । विजय सरावगी सडक बिस्तारको कहिल्यै बाधक हुनेछैन ।

म मेरै घर भत्काएर यो अभियानको श्री गणेश गर्छु, यसमा सबैजना ढुक्क भए हुन्छ । विरोधीहरूको बानी के भएको छ भने राम्रो कामको समेत आलोचना गर्ने । विरोध गर्ने ।

पद्म रोडमा बिनामुआब्जाको सडक चौडा गर्ने काम भएको छ , यो एउटा प्रमाण हो । तोड्न नै परेपछि सबैको इच्छाशक्तिअनुसार काम हुन्छ । कसैलाई दुःख दिएर सडक बिस्तार गरिन्न । सडकमा घर नपर्नेहरू नै बढी कराइरहेका छन् । यो अभियानमा मलाई लाग्छ नगरवासीको साथ रहनेछ ।

प्रतिक्रिया दिनुहोस्