मेसीलाई सातौंपटक ‘बालोन डी ओर’ अवार्ड



पेरिस, (एजेन्सी) । 

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले सातौंपटक ‘बालोन डी ओर’ अवार्ड जितेका छन् ।
उनले सोमबार राति वर्ष २०२१ को बालोन डीओर अवार्ड जितेका हुन् । फ्रान्सको चर्चित पत्रिका ‘फ्रान्स फुटबल’ ले दिने बालोन डीओर अवार्ड जितेसँगै उनले कीर्तिमानी सातौंपटक उक्त अवार्ड हात पारेका हुन् । यस वर्षको अवार्डमा मेसीले जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

यससँगै मेसी अब बालोन डीओर अवार्ड सातौंपटक जित्ने कीर्तिमानी खेलाडीसमेत बनेका छन् । हुन त २०१९ मै छैटौंपटक जित्दै मेसी बालोन डीओर जित्ने कीर्तिमानी खेलाडी बनेका थिए । उनीभन्दा थोरै कम पोर्चुगलका रोनाल्डोले ५ पटक उक्त अवार्ड जितेका छन् । अब मेसीका नाममा रोनाल्डोको भन्दा २ बढी ७ वटा बालोन डीओर भएका छन् ।मेसीले बालोन डीओर अवार्ड पहिलोपटक सन् २००९ मा जितेका थिए । पहिलो वर्ष अवार्ड जितेपछि उनले लगातार चार वर्ष सो अवार्ड जितेका थिए । उनले २००९, २०१०, २०११ र २०१२ मा लगातार चार वर्ष एकलौटी रूपमा बालोन डीओरमा बाजी मारेका थिए । त्यसपछि उनले पाँचौंपटक २०१५ मा जिते भने छैटौंपटक २०१९ मा जितेका थिए ।

अवार्ड घोषणा कार्यक्रममा भाग लिन मेसी आफ्ना तीन जना छोराहरू र श्रीमतीका साथ कार्यक्रमस्थल पुगेका थिए । उनीसँगै उनका निकटम प्रतिद्वन्द्वी रोबर्ट लेवान्डोस्की पनि आफ्नी श्रीमतीसहित पुगेका थिए । यसपटक उक्त अवार्ड घोषणा कार्यक्रमस्थलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने सहभागी भएनन् ।
यस वर्ष मेसीले दुई उपाधि जितेका थिए । पूर्वक्लब बार्सिलोनाबाट कोपा डेल रे कप र अर्जेन्टिनाबाट कोपा अमेरिका । उनले यसै वर्ष अर्जेन्टिनाबाट पहिलो ठूलो उपाधि जितेका हुन् । उनले यस वर्षभरिमा कुल ४१ गोल गर्दै १७ गोलमा असिस्ट गरे । दोस्रो बनेका लेवान्डोस्कीले यस वर्ष कुल ६४ गोल र १२ गोलमा असिस्ट गर्दै तीन उपाधि तथा युरोपियन गोल्डेन बुट पनि जितेका छन् ।

यस वर्ष मेसीका साथमा जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्की र इंग्लिस चेल्सी तथा इटालीका मिडफिल्डर जर्जिन्होलाई मुख्य दाबेदार मानिएको थियो । जसमा ३४ वर्षका मेसीले पोल्यान्डका ३२ वर्षीय लेवान्डोस्कीलाई पछि पारे । मेसी विजेता र लेवान्डोस्की दोस्रो बन्दा चेल्सीका जर्जिन्हो भने तेस्रो बने ।उता, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो भने यसपटक छैटौं स्थानमा रहे । उनीभन्दा पछि सातौं स्थानमा इंग्लिस क्लब लिभरपुलका इजिप्टिएन फरवार्ड मोहमद सालाह रहे भने चौथो स्थानमा चेल्सी तथा फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे रहे । चौथो स्थानमा रियल मेड्रिड तथा फ्रान्सका फरवार्ड करिम बेन्जेमा रहे । पिएसजी तथा फ्रान्सका क्लियन एमबाप्पे नवौं स्थानमा रहे ।

‘फ्रान्स फुटबल’ का अनुसार अवार्ड विजेता मेसीले बार्यनका लेवान्डोस्कीलाई मात्रै ३३ अंकको साँघुरो अन्तरमा पछि पारेको बताइएको छ । यो चार जनाको भोटको मात्रै अन्तर हो । प्रकाशित नतिजाअनुसार मेसीले कुल ६ सय १३ अंक पाए । दोस्रो स्थानमा रहेका लेवान्डोस्कीले ५ सय ८० अंक पाए भने तेस्रो स्थानमा रहेका जर्जिन्होले ४ सय ६० अंक पाए ।

चौथो स्थानमा रहेका करिम बेन्जेमाले २ सय ३९ अंक पाउँदा पाँचौं स्थानमा रहेका कान्टेले १ सय ८६ अंक पाए ।
बालोन डीओर अवार्डका लागि आयोजक ‘फ्रान्स फुटबल’ ले अधिकार दिएका विभिन्न १ सय ७० देशका १ सय ७० जना खेल पत्रकारले भोट गर्ने गर्छन् । उनीहरूले पहिलो, दोस्रो र तेस्रो गरी तीन जनालाई फरक–फरक अंकभारको भोट दिनुपर्छ । कूल भोटलाई अंकभारमा रूपान्तरण गरेर अन्तिम नतिजा घोषणा गरिन्छ । यसअघि, ५ पटक यो अवार्ड जितेका पोर्चुगलका रोनाल्डोले यसपटक जम्मा १ सय ७८ अंक मात्रै पाए । दशौं स्थानमा रहेका इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले मात्रै ३६ अंक पाए ।

एलेक्सियालाई अवार्ड

महिलातर्फ एलेक्सिया पुटेलासले बालोन डीअर अवार्ड जितेकी छन् । उनी यो अवार्ड जित्ने तेस्रो महिला खेलाडी हुन् । यो अवार्ड महिला फुटबलरको लागि २०१८ देखि शुरू गरेको हो । बार्सिलोना क्लबकी एलेक्सियाले गत सिजनमा तेहेरो उपाधि क्लबलाई दिलाएकी हुन् । बार्सिलोनाको महिला टिमले गत सिजनमा च्याम्पियन्स लिग, कोपा डे ला रेइना र प्रिमेरा इबेरड्रोला गरी तीन उपाधि जितेको थियो ।

लेवान्डोस्की सर्वोत्कृष्ट गोलकर्ता

यसपटक मेसीलाई ब्यालोन डी ओर अवार्ड मा कडा टक्कर दिएका जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोस्कीले भने ‘फ्रान्स फुटबल’ ले दिने उत्कृष्ट गोलकर्ता खेलाडीको अवार्ड जिते । फ्रान्सको पेरिसमा भएको बालोन डीओर घोषणा कार्यक्रममा लेवान्डोस्कीले ‘स्ट्राइकर अफ् द इयर’ अवार्ड जितेका हुन् । बालोन डीओर अवार्डमा मेसीसँग पछि परेका उनले उक्त नयाँ अवार्डमा चित्त बुझाउनुपरेको हो ।

आयोजकले यसै वर्षदेखि ‘स्ट्राइकर अफ् द इयर’ र ‘क्लब अफ् द इयर’ गरी दुई नयाँ अवार्ड स्थापना गरेको छ । जसमध्ये लेवान्डोस्कीले २०२१ को सर्वोत्कृष्ट गोलकर्ता खेलाडीको अवार्ड जितेका हुन् । यी दुई अवार्ड यसै वर्षबाट मात्रै दिन थालिएको हो । बालोन डीओरमा लेवान्डोस्कीलाई पनि मुख्य दाबेदार मानिएको थियो । गत वर्ष २०२० मा उनी नम्बर एक दाबेदार भए पनि अवार्ड नैै रद्द हुँदा उनी अभागी सावित भएका थिए । तर, यसपटक व्यक्तिगत प्रदर्शन निकै शानदार भएर पनि उनले बालोन डीओर अवार्ड जित्न सकेनन् ।

यस वर्ष लेवान्डोस्कीले क्लब र देशका लागि गरी कुल ५४ खेल खेल्दै ६४ गोल गरे भने १२ गोलमा असिस्ट पनि गरे । उनी वर्षका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले यस वर्ष युरोपियन गोल्डेन बुट अवार्ड जितेका थिए । उनी यो सिजन च्याम्पियन्स लिग र टप फाइभ लिगमा पनि सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

डोनारुम्मा उत्कृष्ट गोलकिपर

फ्रेन्च क्लब पीएसजी तथा इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले वर्षको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् । ‘फ्रान्स फुटबल’ ले घोषणा गरेको बालोन डीओर अवार्ड घोषणा सभामा उनले याचिने अवार्ड जितेका हुन् । यो ‘बेस्ट गोलकिपर अफ् द गोलकिपर’ ले पाउने अवार्ड हो ।गत सिजन इटालियन क्लब एसी मिलानमा रहेका इटालियन गोलकिपरले क्लब र यस वर्ष इटालीको राष्ट्रिय टोलीमा पनि शानदार प्रदर्शन गरेका थिए । यस वर्ष इटालीले युरो कपको उपाधि जित्दा उनी एक मुख्य नायक थिए उनी युरो कप ‘बेस्ट प्लेयर अफ् द टुर्नामेन्ट’ पनि घोषित भएका थिए ।

केही समय अघि मात्र उनी मिलानबाट फ्री ट्रान्सफरमा पीएसजी पुगेका थिए । याचिने अवार्डमा डोनारुम्माले इंग्लिस चेल्सीका गोलकिपर इडुआर्डो मेन्डीलाई पछि पारेर अवार्डमा बाजी मार्न सफल भए । मेन्डीले गत सिजन चेल्सीलाई च्याम्पियन्स लिग जिताउन उच्च प्रदर्शन गरेका थिए ।

पेड्रीलाई कोपा ट्रफी

स्पेनिस क्लब बार्सिलोना तथा स्पेनको राष्ट्रिय टोलीका युवा मिडफिल्डर पेड्री गोन्जालेजले कोपा ट्रफी अवार्ड जितेका छन् । बालोन डीओर अवार्ड घोषणा कार्यक्रममा पेड्रीलाई २०२१ को बेस्ट युवा खेलाडीको अवार्डले सम्मानित गरिएको हो । उक्त अवार्डलाई कोपा ट्रफीबाट पनि सम्बोधन गरिन्छ ।पेड्रीले जर्मन क्लब बोरुसिया डर्टमन्ड तथा इंग्ल्यान्डका युवा खेलाडी जुडे बेलिङ्हमलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । गत वर्ष यो अवार्ड फ्रेन्च क्लब पीएसजीका क्लियन एमबाप्पे र त्यसअघि हाल इटालियन क्लब युभेन्ट्समा रहेका माथिस डि लिग्टले जितेका थिए ।

पेड्रीले अवार्ड ग्रहण गरेपछि पूर्वसहकर्मी लिओनल मेसीले आफूलाई ठूलो सहयोग गरेको बताए । पेड्रीले केही दिनअघि मात्रै गोल्डेन ब्वाई अवार्ड जितेका थिए । त्यसैगरी, केही समयअघि मात्रै भएको युरो कपमा उनी प्रतियोगिताको बेस्ट युवा खेलाडी घोषित भएका थिए । गत सिजनका लागि उनी बार्सिलोनामा प्लेयर अफ् द सिजन पनि बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्