एमाले अधिवेशनको सन्देश



नेकपा एमालेको १०औं महाधिवेशन सम्पन्न भएको छ । तीन दिनमा महाधिवेशन सकेर एकताको सन्देश दिन खोजेको एमालेले सन्देश त दिएको छ तर पार्टीभित्र अझै पनि विवाद र असन्तुष्टि बाँकी रहेको सन्देश । चुनावी प्रक्रिया शुरू भएपछि दुई दिन लम्बिएको महाधिवेशनले निर्वाचनमा गएर लोकतान्त्रिक अभ्यास भने देखाउन सफल भएको छ ।

पार्टी विभाजनका कारण थलिएको एमालेका शीर्ष नेताहरुले एकताको सन्देश दिन खोजे पनि पार्टीका केही नेताले आफूहरुलाई पदाधिकारीमा नसमेटेको भन्दै पार्टी अध्यक्ष केपी ओलीले बन्द सत्रमा वाचन गरेको नामावलीमा असहमति जनाउँदै उम्मेदवारी दिएपछि एकताको सन्देशमा समेत धक्का लाग्न पुगेको हो । महधिवेशनस्थल सौराहाको रौनक हेर्ने हो भने प्रतिनिधि नेकपा एमाले पार्टीभन्दा पनि केपी ओली केन्द्रित देखिनुले अन्य नेता छायाँमा परेको भान हुन्थ्यो । ओलीमय महाधिवेशनमा अर्का नेता भीम रावलले वरिष्ठ उपाध्यक्ष पाए सहमति गर्ने नपाए अध्यक्षमा चुनाव लड्ने अडान लिएपछि सहमतिमा महाधिवेशन अन्त्य गर्ने ओलीको चाहनामा धक्का लाग्न पुगेको छ ।

पार्टीभित्रै फरक समूह र माओवादीबाट एमालेमा आएकाहरुलाई व्यवस्थापन गर्नुपर्ने चुनौतीको सामना गर्दै १९ सदस्यीय पदाधिकारी र ३ सय १ सदस्य केन्द्रीय कमिटीको घोषणाविरुद्ध उम्मेदवारी दिनेहरुले पनि ओलीसंँग भिड्न खोजेको देखिँदैन । चुनाव हुने भएपछि उम्मेदवारी अनुमान गरेभन्दा बढी पर्छ भन्ने थियो, त्यो भने भएन । चाहिने संख्याभन्दा एक÷दुई जनाले मात्रै उम्मेदवारी दिनुले पनि त्यसको पुष्टि गर्छ । माक्सवादका नेपाली दार्शनिक भनेर चिनिएका घनश्याम भुसालले महासचिवमा उम्मेदवारी दिने हिम्मत नगर्नुले पनि नेताहरुले चुनावको नाममा चुनाव गराउन खोजेको जस्तो देखिन्छ ।

नेतृत्वलाई चुनौती दिने तर चुनाव जित्नभन्दा पनि ओलीविरोधी खेमा तयार गर्ने काम मात्रै केही नेताबाट भएको देखिन्छ । ओलीलाई चुनौती दिनेभन्दा पनि पार्टीमा आफ्नो अस्तित्व देखाउने मात्र काम हुनुले पनि नेताहरु नेतृत्वसँंग लडाइँ लड्न खोजेको नदेखिनु अर्को बिडम्वना नै मान्नु पर्दछ । जेहोस्, ओलीलाई चुनौती दिएर रावलले आफ्नो अस्तित्व रक्षा गर्न खोजेको प्रस्ट हुन्छ । महाधिवेशनस्थलमा जम्मा भएका भीडको सामना गर्न नसकेर रावलले मिडियाको सहारा लिनुपर्ने अवस्था आउनु पक्कै सुखद पक्ष होइन ।

मिडियाका लागि उहांँ हटकेक त बन्नुभएको छ तर आम पार्टी पक्ति भने उहाँंको विपक्षमा देखिनुले पनि रावलको आगामी यात्रा भने सहज देखिँदैन । उहाँले मतदातालाई रिझाउने भन्दा पनि ओलीले गरेरका क्रियाकलापका बारेमा मिडियालाई गुहार माग्नुलाई पक्कै पनि राम्रो मान्न सकिँदैन ।आम कार्यकर्ताको भावना समेटेर अगाडि बढ्दै पार्टी नेतृत्वमा पुग्ने काम गर्नुपर्नेमा केही नेताहरुले नेतृत्वमा आउन हतार गरे, र निर्वाचनमा पराजित पनि भए । उनीहरुले ल्याएको मत हेर्दा ओलीलाई तक्कर दिने नेता एमालेमा नदेखिएकै पुष्टि हुन्छ ।

पार्टीभित्र र बाहिर पनि अध्यक्ष ओलीका कमजोरीको सूची लामो बनाएर बसेका व्यक्ति यत्रतत्र भेटिन्छन्, तर पनि उनलाई नै अत्यधिक मत प्राप्त भइरहेको छ । पार्टीभित्र ओलीको एकाधिकारलाई चिर्नुपर्ने आवश्यकता थियो तर केही नेताहरुले मात्रै त्यो हिम्मत गरेको देखियो, त असफल अभ्यास !

प्रतिक्रिया दिनुहोस्