प्रकाशकीय : ३८ वर्षे अनुभव



श्रद्धेय पाठकहरूको हातमा रहेको यस नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना समूह आजदेखि ३८ वर्षमा प्रवेश गरेको छ । ३७ वर्ष पार गरेको व्यक्ति वा संस्था उमेरका हिसावले परिपक्व मानिन्छ, उसका अनुभव अन्य सहयात्री र शुभचिन्तकका लागि चासोका विषय हुन सक्छन् ।

व्यावसायिक पत्रकारितामा समर्पित कामना न्यूज पब्लिकेसन्स प्रालिका अनुभव पनि श्रद्धेय पाठक तथा मिडियाकर्मीका लागि सरोकारको विषय हुनुपर्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले यसको स्थापना वर्ष २०४१ सालदेखिका अनुभवको सारांश यहाँ अनुरोध गर्न चाहन्छु ।

चलचित्र तथा कलासम्बन्धी मासिक पत्रिका कामनाबाट शुरू भएको यस प्रकाशन गृहको यात्रा स्वास्थ्य र सौन्दर्य विधाको अर्को मासिक पत्रिका साधना, सन्ध्याकालीन दैनिक महानगर, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र अनलाइन न्यूज पोर्टल न्यूज अफ नेपाल डट कम हुँदै अघि बढेको छ । ‘प्रिन्ट फर क्रेडिबिलिटी, टेलिभिजन फर भिजिबिलिटी र अनलाइन फर भाइरालिटी’ भन्ने विश्वव्यापी पछिल्लो जुन अभिव्यक्ति छ, त्यसलाई स्वीकार गर्ने हो भने विश्वसनीयताका पक्षमा समर्पित भएर नै यस प्रकाशन गृहले आफ्ना करिब चार दशक लामो यात्रा पूरा गरेको छ ।

यसको जीवनको प्रारम्भिक काल दलविहीन पञ्चायती व्यवस्थाको रापमा सेकियो, बहुदलीय काल कुनै दलमा आबद्ध नभएको प्रकाशन गृहका कारण कसैको पनि आफ्नो हुन नसकेर बित्यो, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र कालमा पनि न्यु मिडियाको आकर्षण ताप बनेर प्रकट भएको छ ।

यद्यपि, सबै खालका चुनौतीको सामना गर्दै यो प्रकाशन गृह आम पाठकको सेवामा निरन्तर समर्पित छ । श्रद्धेय पाठकलाई थाहै छ, कामना प्रकाशन गृह नेपालमा सञ्चालित निजी क्षेत्रका प्रकाशन गृहहरू जो निरन्तर चलिरहेका छन्, मा सर्वाधिक ज्येष्ठ छ । यसलाई निरन्तर सेवामा समर्पित बनाउने काममा शुभचिन्तक सबैको उच्च योगदान छ ।

चार दशकसम्म नेपाली मिडिया बजारमा नेतृत्वदायी लहरमा कामना समूहलाई खडा गर्न यहाँहरुले दिएको मायाका लागि जति आभार व्यक्त गरे पनि थोरै हुन्छ ।यस समूहले २०५९ सालमा शुरू गरेको अनलाइन न्यूज पोर्टल आज नेपाली वेबसाइटको बजारमा शीर्ष २० स्थानभित्र पर्न सफल छ । नेपाल समाचारपत्रले पनि आधुनिक परिवेश र आम पाठकको रुचिलाई ध्यानमा राखेर फेसबुकमा समेत अपडेट गर्नेगरेको छ, यसले २२ लाख ‘लाइक’ पाएको छ ।

कामना र साधनाका लागि प्राप्त ‘लाइक’ जोड्दा ३० लाख पुग्न जान्छ । पाठकहरूको न्यु मिडियाप्रतिको आकर्षणलाई ख्याल गर्दै न्यूज अफ नेपाल डट कमले यसै वर्षदेखि भिडियो सामग्री थप्ने योजना बनाएको छ । यसरी नेपाल समाचारपत्र, कामना र साधनाले ‘क्रेडिबिलिटी’ को पाटो सम्हाल्ने छन् भने ‘भिजिबिलिटी’ र ‘भाइरालिटी’ को काम अनलाइन न्यूज पोर्टलबाट हुनेछ । न्यूज अफ नेपाल डट कमलाई पूर्णतः मल्टिमिडियाको एक नमुना बनाउने लक्ष्यका साथ प्रकाशन गृह सक्रिय छ ।

पछिल्लो समय कामना समूह बृहत् नेपाली मिडिया परिवारको सक्रिय सदस्यका रूपमा उभिएको छ । प्रकाशन–प्रसारण गृहहरुबीच भाइचाराको सम्बन्ध बढेको सुखद समाचार पनि श्रद्धेय पाठक वर्गमा अनुरोध गर्नैपर्छ । नेपाली मिडिया बलियो भए मात्र नेपालको लोकतान्त्रिक व्यवस्था सबल हुने यथार्थलाई ख्याल गर्दा मिडिया जगत्को एकता एक उत्साहजनक पक्ष हुन आउँछ ।

राजनीतिक दलदेखि सरकारसम्म पारदर्शी हुनुपर्छ, आम नागरिकका लागि सूचनाको हक बहाल हुनुपर्छ भन्ने लोकतान्त्रिक तथा मानवअधिकारको सिद्धान्तमा अडिक कामना परिवारका लागि मिडिया जगत्को एकता उत्साहको विषय बनेको छ ।अन्त्यमा, आम पाठकको स्वास्थ्य सुरक्षामा सरोकार राख्ने कामना परिवारले नेपाल समाचारपत्रको ‘मास्ट हेड’ लाई मास्क लगाइदिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोरोनाविरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै आएको थियो ।

विगत आठ महिनादेखिको यो मास्क अभियान आजैबाट अन्त्य गरिएको छ । कोरोनाको असर घट्दै गएको बेला अझ बढी मास्क देखाएर पाठकलाई निरन्तर त्रसित बनाउन हामी चाहन्नौं । हामी, तपाईंकै आवश्यकतालाई आफ्नो आवश्यकता ठान्छौं– ‘मास्ट हेड’लाई मास्क एक दृष्टान्त मात्र हो ।कामना परिवार आफ्नो ३८औं वार्षिकोत्सवका उपलक्ष्यमा शुभकामना दिनुहुने श्रद्धेय पाठक वर्गमा हार्दिक धन्यवाद प्रकट गर्दै विगत वर्षहरूमा जस्तै आगामी दिनका लागि पनि सप्रेम आशीर्वाद चाहन्छ ।

दिरेकलाल श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक

https://epaper.newsofnepal.com/2021/12/01/4986/

 

प्रतिक्रिया दिनुहोस्