दलहरु महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेका छन् : प्रचण्ड



यमलाल भुसाल, बुटवल ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पार्टीहरूले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताउनु भयो । अध्यक्ष दाहालले अन्य पार्टीहरू चुनावमा जुटेकाले आफ्नो पार्टी पनि चुनावको तयारीमा जुट्न लागेको बताउनु भएको छ ।

बुटवलमा मंगलबार आयोजित पार्टीका नेता रामप्रसाद बन्जाडे टंकमणिको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि त्यसको तयारी गरिरहेको बताउनु भयो । प्रचण्डले तीनै तहको चुनावका लागि अहिलेदेखि नै सक्रियतापूर्वक लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिनु भयो ।

मुलुक चुनावतिर गइसकेको सङ्केत दलका महाधिवेशनहरूका गतिविधिले गरिरहेका छन्,’ उहाँले भन्नु भयो, ‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबिच आपसी समझदारी र सहकार्य जरुरी छ । उहाँले समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबिच सहकार्य जरुरी रहेको जिकिर गर्नु भयो ।

‘संविधानको समावेशी र समानुपातिक मूल्यमान्यतालाई आत्मसात् गर्दै जनताका चाहना पूरा गर्न सहकार्य र सहमतिको खाँचो छ,’ उहाँको कथन रहेको छ । प्रचण्डले पार्टीका दिवंगत नेता टंकमणि असामान्य व्यक्तित्व भएको भन्दै जनयुद्धको समयमा गुनासो रहे पनि शान्ति प्रक्रिया पछि उहाँ प्रतिको आरोप आफै खण्डन भएको दाबी गर्नु भयो ।

बन्जाडेले पार्टीमा मलाई यो चाहियो त्यो चाहियो भनेर कहिल्यै माग गर्नु भएन ,राष्ट्र र पार्टीको हितका लागि केही गर्ने उहाँको सपना पूरा गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने प्रचण्डले औँल्याउनु भयो । सहिद पार्क बनाउने कामलाई जिल्ला, प्रदेश र केन्द्रबाट सहयोग गर्ने प्रचण्डले प्रतिबद्धता जनाउनु भयो । पार्टीमा लामो योगदान रहका स्वर्गीय बन्जाडेको सडक दुर्घटनामा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्