उपसभापति निधिको उपस्थितिमा डडेलधुरा कांग्रेसको अनशन स्थगित



न्युज अफ नेपाल, काठमाडौँ  ।

एकलौटी ढंगबाट क्रियाशील सदस्यता वितरण गरी गराइएको जिल्ला अधिवेशन बदरको माग गर्दै गराएको अनसनमा बसेका नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्ल सहितका नेताहरूले अनसन स्थगित गरेका छन्। पार्टी कार्यालय सानेपामा जारी अधिवेशनको १४ औँ दिनमा उपसभापति विमलेन्द्र निधिको आग्रहपछि उनीहरूले अनसन स्थगित गरेका हुन्।

डडेल्धुराको मागप्रति आफू सकारात्मक भएको भन्दै उपसभापति निधिले यस विषयमा आफूले सभापति शेरबहादुर देउवासँग मौखिक र लिखित रूपमै पुनः वडा अधिवेशन गर्न आग्रह गरेको स्मरण गराए। यसबारे सुरुमा सभापति देउवा सकारात्मक भए पनि कार्यान्वयन नभएको उल्लेख गरे।

जिल्लाबाट सिफारिस भएर आएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट सिधै नाम थपेपछि विवाद उत्पन्न भएको हो। नेता निधिले सदस्यता छानबिन नगरी निर्वाचन प्रक्रिया अघि बढाउनु विडम्बनापूर्ण भएको बताए। निर्वाचन समितिका सदस्यहरूबिच सहमतिका आधारमा निर्णय गर्नुपर्नेमा अल्पमत र बहुमतका आधारमा निर्णय हुनु दुःखद भएको निधिको भनाई थियो।

आफ्ना मुद्धाहरुलाई पार्टीका विभिन्न फोरममा राख्दै १४ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनका लागि अनशन स्थगित गर्न निधिले आग्रह गरेका थिए। उनले डडेलधुरा कांग्रेसको मागप्रति ऐक्यबद्धता जनाए।  क्रियाशील सदस्यता विवादपछि डडेल्धुरामा जारी ११ दिनको अनशनपछि सभापति मल्लसहितका नेताहरू काठमाडौँ आएर अनशन बसेका हुन्।

प्रतिक्रिया दिनुहोस्