मुख्यमन्त्री शाहीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । उक्त प्रस्तावको मत विभाजन भने बुधबार बस्ने बैठकमा गराइने भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सदस्यहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि नबढाई बैठक भोलिसम्मका लागि स्थगित गरिएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

एमालेको १०औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि मङ्गलबारको बैठक औपचारिकतामा सीमित भएको थियो ।

बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपनि प्रमुख प्रतिपक्ष अनुपस्थित भएकाले भोलिसम्मका लागि स्थगित गरिएको जनाइएको छ । अधिवेशन सकिएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोलिको प्रदेशसभा बैठकमा सहभागी हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्