मलाई माफ गर



 

आँगनमापाठा उफ्रँदै रमाएको देख्दा
आफ्नो बाँझो कोखलाई सुमसुम्याउँदै सोच्थेँ
मेरो पनि एउटा सन्तान भइदिए !
खेल्दै काखमा लुटुपुटु भइदिए !

सपनामा, हजुरले रिसाउँदै
बगैँचामा बर्षौंदेखि फल नलागेका आँपका रूखहरू
एक एक गर्दै काट्नुभयो
मैले डराउँदै सोधेँ- किन ?
जवाफ थियो
थारा रूख किन राख्नु ?

आज म आफैँ त्यस्तै रुख भएकी छु !

बाँझो कोख
आकांक्षाहरूको बोझ
म एक्कासि कसैकी सौता भएकी छु
सुनबाट हठात पित्तल भएकी छु ।
घर एकलास भएको छ
वृद्धाश्रम मेरो वास भएको छ ।

सङ्लो पानीमा भल पसेपछि
आफ्नै छाया कहाँ देखिँदो रहेछ र ?
ऐनाअगाडि उभिएर पनि हेरेँ
आफ्नै रूप बीभत्स देखेँ
कारण- मेरो बाँझो कोख ।

सँगै बाँच्ने र मर्ने वाचा थियो
तर सन्तान जन्माउने सम्झौता थिएन

खै कसका भूलहरूले
रित्तै मेरो काख रह्यो,
र म नासिएँ, भासिएँ
झ्याल ढोका सब बन्द भयो ।

उता,
दोस्रो खेतमा पनि बाली नसप्रिएपछि
बल्ल आँखा खुलेछन्—
खराब माटो होइन
बिउ नै खोटी रहेछ !

सबै प्रयास प्रभाव शून्य भएपछि
टेस्टट्युब पुत्र भित्रिएछ कुलमा,
त्यस प्रविधि पुत्रले बाबु–आमाको आँसु पुछ्न सकेन सायद
धेरै वर्षपछि उहाँलाई पनि यही आश्रममा देखेँ!

उमेरले खाइसकेका क्लान्त आँखाहरूमा
पश्चात्तापका धर्सा थिए

छेउमै आएर भन्नुभयो
हामीलाई वृद्धाश्रम पठाउने सन्तान जन्माउन
मैले घरकी लक्ष्मीलाई घरबाट निकालेछु
म साँच्चै पापी हुँ
मलाई माफ गर

  • जुनी चापागाई 

 

प्रतिक्रिया दिनुहोस्