एमालेलाई प्रश्न– कोरोना फैलाउन पाइन्छ ?



कोरोना महामारीबाट पुनः एकपटक सबै राष्ट्र घेरिएको छ । कतिपय देशले लकडाउन घोषणा गरिसके भने अधिकांशले देशका सीमा बन्द गरिसकेका छन् । चीनको विभिन्न प्रान्तमा पनि लकडाउन गरिसकेको छ । हाम्रै छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण दर बढ्दै गएको खबरहरु आइरहेका छन् । भारतमा कोरोनाको संक्रमण बढेसँगै त्यहाँ रोजगारीका लागि गएका, घुम्न गएकाहरु लकडाउन हुने हल्लाले धमाधम नेपाल फर्किने क्रमको शुरुवात भएको छ । नेपाल र भारतको सिमाना खुला छ । नेपालीहरु सजिलै भारत छिर्न पाउँछन् भने भारतीयलाई नेपाल आउन त्यति गाह्रो छैन ।

अहिले नेपालीहरु भारतबाट कोरोना बोकेर नेपाल फर्किरहेको छन् तर नाकामा कोरोना परीक्षण गरिएको छैन । उनीहरु सीधै कोरोना बोकेर आफ्नो गाउँठाउँमा पुगेका छन् । नेपाल सरकारले कोरोना नियन्त्रण गर्न बनाएका मापदण्डहरु नेपाली जनताले नै पालना गरेका छैनन् ।चीनले तीनवटा कोरोना केस भेट्दा आफ्ना देशको विभिन्न प्रान्त नै लकडाउन ग¥यो । हाम्रो देशमा अहिले पनि संक्रमण दर र मृत्यु दरमा केही फरक आएको छैन । तर पनि स्वास्थ्य मन्त्रालयलाई चासो छैन । आफ्नै छिमेकी मुलुकमा कोरोना संक्रमण बढ्दा पनि मन्त्रालयले नाकाहरुमा परीक्षण गरेको छैन । वडा, नगरपालिकाले पनि कोरोना परीक्षण गर्न छाडिसकेका छन् । नेपालबाट बाहिर गएकाहरुमा पनि कोरोना भेटिएको छ । अरु देशको नागरिक नेपाल आउँदा पनि कोरोना नभेटिएको भने होइन ।

अस्पताल र मेडिकलको पैसा खाएर पोजिटिभलाई नेगेटिभ बनाइदिने गरेका छन् । अरु देशले उडान स्थगित गर्दा, सिमाना बन्द गर्दा नेपाल टुलटुलु हरेर बसेको छ । नेपाल सरकारले नेपाली जनता बचाउन न सिमाना बन्द गर्छ, न त उडान नै । लामो दूरीका गाडी, मालवाहक ट्रकहरु भित्रिँदा पनि परीक्षण भएको छैन ।
स्वास्थ्य विज्ञहरु स्कुल, कलेजहरु बन्द गर्नुपर्छ, नेपालको कोरोना बढ्ने स्थिति देखिन्छ भनेर पटक–पटक भनिरहेका छन् । जनताले पनि कोरोनालाई हेलचेक्र्याइँको रुपमा लिइरहेका छन् भने सरकारलाई पनि मतलब छैन । हिँउदको महिना शुरु भइसकेको छ, उसै पनि घाम देख्न मुस्किल परिरहेको छ । प्रदूषण ह्वात्तै बढेको छ । प्रदूषण बढ्दा रुघाखोकी, ज्वरोजस्ता सरुवा रोग देखा परिरहेको छ । प्रदूषणबाट जोगिन स्वास्थ्य मन्त्रालयले कुनै पनि सतर्कता अपनाउन सहयोग पुग्ने सूचनाहरु जारी गरेको छैन ।

प्रदूषण बढेको कारणले सरकारले उचित कदम चालेर जनता जोगाउन आवश्यक घडी आएको छ । त्यसका लागि लकडाउन गर्ने हो कि, सरकारले नै सोच्नुपर्दछ ।
सवारीसाधनमा पनि अत्यधिक भीड देखिन्छ । सार्वजनिक यातायातमा यात्रा गर्नेहरु कुनैले पनि स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । यता ट्राफिक प्रहरीहरु पनि हरेर बसेका छन् । ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा ढोकैसम्म यात्रु झुन्ड्याउँदा पनि कारबाही गरेको छैन । गाडीमा चढ्ने यात्रुहरुले मास्क लगाएका छैनन् भने चालक–सहचालकको मुखमा पनि मास्क छैन ।

यससँगै कुनै पनि क्षेत्रमा काम गर्ने मानिसले स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । फुटपाथ व्यवसायी, रात्रिकालीन व्यवसायी, वित्तीय संस्था या विभिन्न थरीका कार्यालयहरुमा हेलचेक्र्याइँ भइरहेको छ । सरकारले पनि अनुगमन गरेको छैन ।अब नेपालमा कोरोनाको भव्य आगमन हुन्छ भन्ने संकेत देखिएको छ । जनता पनि कोरोना केही होइन खोप लगाइसकेको छ भन्दै छाडा हिँडिरहेका छन् । तर, खोप लगाएकालाई नै दुईचोटि कोरोना संक्रमण भएको घटना पनि छ । तैपनि आफ्नै स्वास्थ्यप्रति यस्तो लापरबाही किन ? अहिलेसम्म झन्डै १२ हजार मानिसको कोरोनाका कारण मुत्यु भइसकेको छ ।

आखिरी कोरोना लागेर मर्ने पनि जनता नै हुन् । अझै कोरोना लाग्ने क्रम जारी छ । मर्नेको संख्या अब फेरि पनि बढ्नेछ, जसलाई सरकारले बेवास्ता गरिरहेको छ । संक्रमितको संख्या कम देखिन थालेपछि हामी आफैं पनि लापरबाही गर्छौं । जथाभावी मनोमानी गर्दै निस्किन्छौं । स्वास्थ्यसम्बन्धी कुनै पनि प्रोटोकलको पालना गर्दैनौं । जसको उदाहरण नेकपा एमालेले पनि दिएको छ । चितवनमा भइरहेको एमालेको दशौं महाधिवेशनमा विदेशी पाहुनासमेत सामेल भएका छन् । देशभरका एमालेका कार्यकर्ता पनि चितवनमा ओइरिएका छन् । भेडाबाख्राझैँ सबै कार्यकर्ता कोचेक्रिएका छन् । मानौं कोरोना त गायब नै भइसकेको छ । केपी ओली मञ्चमा भाषण ठोक्न गए कोरोना र खोपलाई लिएर ठुल्ठूला भाषण दिए । तर, आफैँले मास्क लगाउन बिर्से ।

केपी ओलीको भाषण सुन्न पुगेकाहरुलाई पनि उनले मास्क लगाउनपर्छ भनेर सिकाएनन् । प्रधानमन्त्री देउवा, भीम रावलजस्ता शीर्ष नेताहरु पनि त्यहाँ पुगे तर कसैले पनि कोरोनाको जोखिमलाई अड्कल गरेनन् । देशका नेताहरु आफैँ त जथाभावी गरेर हिडेका छन् भने त्यस्ताबाट जनताले के सिक्ने ?चितवनमा जारी महाधिवेशनबाट भव्यरुपमा कोरोना फैलने निश्चित छ । चुनाव नजिकिँदै जाँदा राजनीतिक दलले जनता भेला गरेर कार्यक्रम गर्ने काम भइरहेको छ । महाधिवेशनमा पुगेका कुनै पनि नेताले कोरोनाको विषयमा टीकाटिप्पणी गरेनन् । न उनीहरुले जनतालाई कोरोनाबाट सतर्कता अपनाउन आग्रह नै गरे । कार्यक्रमभर आफ्नो जयजयकार गरे, जनताको विषयमा कसैले सोच्दै सोचेनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यो कार्यक्रमको उद्घाटन गरे भने उनीबाटै सर्वप्रथम कोरोना फैलाउने काम भयो ।

जनताको बाच्ँने अधिकार सरकारमा बस्नेले खोस्ने भए । यिनीहरुले जनतालाई कोरोना लागेर मर्नुपर्ने स्थिति बनाइदिए । आफ्नो पार्टी शक्तिशाली देखाउन कोरोना फैलाएर जनता मार्न पाइन्छ ? यो एमालेलाई जनताद्वारा सोधिएको प्रश्न हो ।२०७६ साल माघमा नेपालमा एउटा कोरोना संक्रमित भेटिँदाखेरि केपी ओलीको सरकारले लकडाउन ग¥यो । २०७६ साल चैत ११ गते देशभर ओली सरकारले लकडाउन ग¥यो । सरकारमा हँुदा जनताको लागि काम गर्न नसकेर ओलीले दोस्रोचोटि पनि लकडाउन ग¥यो । २०७८ वैशाख १६ गते दोस्रोचोटि पुनः लकडाउन केपीद्वारा गरिएको थियो । आफू सत्तामा हुँदाचाहिँ लकडाउन गर्ने, अहिले आफू हटेपछि कार्यकर्ता बटुल्दै हिँड्ने ।

कोरोना फैलाएर जनता मार्ने काम एमालेले गरिरहेको छ । एमालेको देश र जनताप्रतिको कर्तव्य यति नै हो ? स्वास्थ्य मन्त्रालयले अहिले पनि कोरोनाको विवरण सार्वजनिक गरिरहेको छ । कोरोनाबाट यति मरे, संक्रमणदर यति छ भनेर स्वास्थ्य मन्त्रालयले भनिरहेको हुन्छ । तर, स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रण गर्न कुनै पनि योजना बनाएको छैन । स्वास्थ्यमन्त्री प्रधानमन्त्रीको अगाडि लम्पसार परेका छन् । स्वास्थ्यमन्त्रीले जनताको हितमा रहेर अलिकति पनि काम गर्न सकेनन् ।
कोरोना लागेर मरिसकेको त अब फर्केर आउँदैन । अब सरकारले कोरोना फैलाएर जनता मार्ने काम गर्नुभएन । कार्यकर्ता र राजनीतिक दल हो भन्दैमा कोरोनाले बाँकी राख्दैन । यसतर्फ राजनीतिक दलले मात्र होइन, उनीहरुका कार्यकर्ताले पनि ध्यान दिनुपर्छ । चितवनमा महाधिवेशनमा जम्मा भएकाहरु जनता पनि हुन् । उनीहरुलाई पनि कोरोना लाग्छ । मर्ने त मरिसके तर अरु बचाउनका लागि सरकारसँगै जनता पनि जिम्मेवार हुनुपर्छ ।

– अनुसा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्