एमाले महाधिवेशन : बन्दसत्र सुरु हुँदै



सौराहा ।

चितवनको सौराहामा जारी नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजे सुरु हुने भनिए पनि ढिला गरी सुरु हुन लागेको हो । आठ बजेका लागि प्रतिनिधिलाई बन्दसत्र हलमा बोलाइएको छ । बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरेका प्रतिनिधि दिनभर बन्दसत्र सुरु हुने नहुने अन्योलमा बसेका थिए । अहिले प्रतिनिधि बन्दसत्र हलमा प्रवेश गर्न थालेको छन् ।

बन्दसत्र सारेर अहिले महाधिवेशन अध्यक्षमण्डलको बैठक बसिरहेको छ । बैठकमा केपी शर्मा ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमाथि छलफल भइरहेको छ ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ । त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा हुनुुहुन्छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सहमतिमै नेतृत्व चयन गरिने भएकाले बन्दसत्र सुरु गर्न समय लागेको बताउनुभयो । उहाँले सहमतिको अन्तिम खाका तयार गर्न शिर्ष नेताहरु जुटेको जानकारी दिनुभयो । पार्टी अध्यक्ष ओलीलगायतका नेता दिनभर आवासका लागि प्रबन्ध गरिएको होटेलमा अनौपचारिक छलफलमा जुट्नुभयो ।

प्रतिक्रिया दिनुहोस्