आफ्नो दुःख लुकाएर अरूलाई खुसी बनाइरहेको छु: आनन्द कार्की


साेलुखुम्बुमा जन्मिए पनि आर्मीमा जगिरे पिताको साथमा सानै उमेरमा भारत पुगेका गायक आनन्द कार्कीले लखनऊमा संगीत सिकेर सांगीतिक करिअर शुरू गरी कार्यक्रमको सिलसिलामा नेपाल आएपछि नेपाललाई नै कर्मथलो बनाएर संगीत क्षेत्रमा ख्याति आर्जन गरे।

लाग्छ मन हेरिरहुँ, जनम जनम जिउँला सँगै, यी हल्लाहरू हुन्जस्ता दर्जनौं सदावहार गीतका गायक कार्कीले नेपाली फिल्मका शीर्ष गीत, आधुनिक गीत गजल र भजन गरी चार दशक लामो सांगीतिक जीवनमा हालसम्म पाँच हजार बढी गीतमा जादुमय स्वर दिएका छन्। नेपाली मात्र नभई, हिन्दी, कोरियनलगायत विश्वका सात भाषामा गीत गाउन सक्ने खुबी बोकेका आनन्द कोरियन भाषाको गीत गाउने पहिलो गायकसमेत बनेका छन्। देशदेखि विदेशसम्म ख्याति आर्जन गर्न सफल उनै गायक कार्कीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

रश्मी थापा

हाल के गर्दै हु्नुहुन्छ?
भर्खरै सांगीतिक कार्यक्रम, रेकर्डिङ तथा श्रीमतीको स्वास्थ्य जाँचका लागि इन्डिया गएर फर्कें, अहिले केही गीत–संगीतका कामहरू गरिरहेको छु।

कोरोनाका कारण तपाईंको सांगीतिक करियरमा कत्तिको असर प¥यो ?

कोरोनाका कारण जुनसुकै क्षेत्रमा पनि असर परेको छ। संगीत क्षेत्रमा पनि यसको असर अवश्य परेको छ। तर, मेरो आफ्नै युट्युब च्यानल सञ्चालन गरिरहेका कारण गीत–संगीत र कार्यक्रमहरू च्यानलमार्फत दर्शकमाझ पु-याइरहेको छु। त्यस कारण करिअरमा खासै असर परेन।भर्चुअल माध्यमबाट दर्शकमाझ पुगेर उहाँहरूलाई खुसी र मनोरञ्जन दिइरहको छु। तर, कोरोनाका कारण गीत संगीतका कार्यक्रम हुन सकेनन्, केही भर्चुअल माध्यमबाट भए पनि त्यो पहिले जस्तो प्रभावकारी हुन सकेन।

तर कोरोना काल र लकडाउनमा गीत–संगीतको ओइरो नै लाग्यो नि?

कतिपयले आफ्नै ढंगले गीतहरू रेकर्डिङ तथा रिलिज गर्ने कार्य गरें। तर, परिस्थितिले गर्दा भौतिकरूपमा सांगीतिक कार्यक्रम हुन सकेनन्। त्यो हिसाबले चाहिँ सांगीतिक गतिविधि ठप्पै भए नि।

संगीत क्षेत्रमै लागेर जीवनयापन गर्न सम्भव छ कि छैन?

आफूले राम्रो चिज दिन सकियो भने त केही गाह्रो छैन। समयअनुसार दर्शकलाई राम्रो गीत संगीत पस्किन सक्नुपर्छ। म पनि पछिल्लो समय कार्यक्रम कम भए पनि युट्युबमार्फत गीत संगीतबाट नै निर्भर भइरहेको छु। तर, सबैका लागि यो सम्भव छैन।

तपाईं नेपालमा भन्दा बढी बाहिर बस्नुहुन्छ, किन?

परिस्थिति नै त्यस्तो छ। नेपालमा कोभिडका कारण अहिले पनि राम्ररी कार्यक्रम हुन सकिरहेका छैनन्। बाहिरबाट सांगीतिक कार्यक्रमबाट डिमान्ड आउँछ। संगीत क्षेत्रमै लागेर जीवन चलाउने भएपछि कार्यक्रमका सिलसिलामा त देश–विदेश गरिरहनै पर्छ नि।

विदेशका कार्यक्रममा हिन्दी गीत गाउनुहुन्छ नि?

त्यस्तो होइन। म हिन्दी, कोरियनलगायतका विभिन्न भाषाको गीत गाउँछु। दर्शकका डिमान्डअनुसार र माहोलअनुसारका गीत गाउने गर्छु। धेरैजसो नेपालीहरू भएकै ठाउँमा कार्यक्रम हुन्छन् र नेपाली गीत नै बढी गाउने गर्छु।

गायन क्षेत्रमा आएको नयाँ पुस्ताको कारण पुरानो पुस्ता छायाँमा परेको हो?

नयाँ पुस्ता त आउन परिहाल्यो नि। म पनि कुनै दिन यस क्षेत्रमा नयाँ थिएँ। नयाँ पुस्तालाई रोक्ने कुरा पनि भएन। तर, राम्रा र स्तरीय गीत–संगीत दर्शकलाई दिइरहने हो भने छायाँमा परिँदैन। पुरानो चिजलाई झन् सम्झाइरहेको हुन्छ। मैले गाएको जनम जनम भन्ने गीत पुरानो गीत हो। उक्त गीतमा हालसम्म २२ मिलियन भ्युज भइसकेको छ। दर्शकले हेर्ने र मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नेहरू पनि बढिइरहनुभएको छ र मैले त्यही अनुसारको आम्दानी पनि गरिरहेको छु।

मानिसले गीत दर्शकमाझ पु-याउनका लागि म्युजिक भिडियो बनाएर, गीतमै राम्रो पैसा हालेर रिलिज गर्दा पनि भ्युज गइरहेको हुँदैन। मैले त त्यो गीत एक स्टेज कार्यक्रमको क्रममा गाएको थिएँ र तयसलाई युट्युबमा राखेपछि २२ मिलियनले हेरिसक्नुभएको छ। यो भनेको दर्शकको माया र आर्शिवाद हो। हुन त त्यही गीत एक रियालिटी शोको क्रममा नयाँ पुस्ताका कलाकारले पनि गाउनुभएको थियो। तर, पनि नयाँ पुस्ताले गाएको भन्दा मैले गाएको गीतले नै दर्शकको माया बढी पाएको छ। यस हिसाबले मानिसले ओरिजिनल र राम्रो कुरालाई बढी महŒव दिन्छन् भन्ने बुझ्न सकिन्छ। निरन्तरता र राम्रा चिज दिनेहरू टिकिरहेका छन्। अहिले आज एकदमै सुपरहिट भयो भनेर सेलिब्रेसन गरेका गीतहरू भोलि दर्शकले बिर्सिसकेका हुन्छन्। तर, पहिले पहिलेका गीतहरू दर्शकले अहिले पनि सुनिरहेका छन् नि।

संगीत क्षेत्रमा एक अर्कालाई गरिने सम्मान र माया हराउँदै गएको हो?

अहिले परिस्थिति नै त्यस्तो छ। कोभिडका कारण जमघट हुन सकिइरहेको छैन। भेटघाट नहुनु भनेको समयको कारणले पनि हो। भेटघाट हुँदा एक अर्कालाई गरिने माया र सम्मानमा फरक पाएको छैन।

गीत–संंगीत क्षेत्रमा विकृति बढेको महशुस गर्नुभएको छ?

को कस्तो रूपमा प्रस्तुत हुने भन्ने कुरामा भर पर्छ। अहिले भाइरल हुने नाममा हल्का खालका गीत–संगीत र प्रस्तुति लिएर आउने कलाकारहरूको जमात पनि देखिन्छ। तर, त्यो लामो समय टिकेको देखिँदैन। हल्का खालका गीत–संगीत र गाउनेहरू आउँछन् जान्छन्। दर्शक पनि हल्का कुराहरूमा रमाउने गरेका देखिन्छ।

अहिले श्रीमतीको स्वास्थ्य अवस्था कस्तो छ?

उहाँको अवस्था पहिले जस्तै हो। किड्नी ट्रान्सप्लान्ट गर्ने भन्ने कुरा मिलिरेको छैन। उपचार त भइरहेको छ। उहाँकै कारण पनि मैले आफूलाई अफर आएका कार्यक्रम रिजेक्ट गर्नुपर्ने स्थिति आइरहेको छ। तर, पनि मैले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेको छु।

श्रीमतीको उपचारका लागि सांगीतिक क्षेत्रबाट कतिको सहयोग पाउनुभयो?

त्यस्तो खासै भएको छैन, मैले आशा राखेको पनि छैन। उपचार महँँगो छ, तर मानिसहरू आनन्द कार्की धेरै धनी छ भन्ने सोच्छन्। आफू दुःखमा हुँदा पनि त्यसलाई लुकाएर सबैले बोलाएको ठाउँमा गएर मनोरञ्जन दिने र खुसी बनाउने त गरिरहेको छु। सरकारले बोलाएको ठाउँमा पनि गएर कार्यक्रम गरेको छु। सरकारले पनि केही हेर्नुपर्ने हो, तर त्यो हुन सकिरहेको छैन। अहिलेसम्म आफैं गरिरहेको छु। सबैले मेरो अवस्था देखिरहुनुभएको छ। कतिपय मानिसहरू सहयोग माग्न आउँला र दिउँला भन्ने पनि हुन्छन्, तर म स्वाभिमानमा बाँचेको मान्छे भएकोले मागेको छैन।

नेपाली गीत–संगीतलाई विदेशमा चिनाउन के गर्नुपर्ला?

अहिले युट्युबको माध्यमबाट धेरै देशमा नेपाली गीतले लोकप्रियता कमाइरहेको छ। जस्तै जनम जनम बोलको गीत पाकिस्तानीहरूले भिडियो बनाएर हालेका थिए। कुटुमा कुटु बोलको गीतले पनि लोकप्रियता पाएको छ। पहिलो कुरा त गीत राम्राे हुनुपर्छ। अनि विश्वका धेरै देशमा नेपाली एम्बेसी रहेका छन्, ती एम्बेसीमार्फत पनि सरकारले कलाकारहरूलाई लगेर सांस्कृतिक कार्यक्रमहरू गर्नुपर्छ।

यस्ता कार्यक्रम गर्दा राजनीति गरेर नाचघर जस्ता ठाउँमा बसेका कलाकार नभई पपुलर फेसलाई लानुपर्छ। नाम नेपालको लिएर ग्रिनकार्डचाहिँ अमेरिकाको बोकेर आफ्नो स्वार्थका लागि हिँड्ने कलाकारभन्दा पनि नेपालमै बसेर नेपालकै लागि कलाकारिता गरेका कलाकारमार्फत कार्यक्रम गरेर विश्वमाझ नेपाली गीत–संगीतलाई चिनाउन सकिन्छ।

सांगीतिक कार्यक्रमका लागि नेपाल आउनुभएको तपाईं नेपालमै बसेर ठीक गरेँ भन्ने लाग्छ कि भारत नै फर्केको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ?

नेपालमै राम्रो छ नि। हुन त म इन्डियामा संगीत सिकेर इन्डियामा नै पपुलारिटी कमाइसकेको मान्छे, नेपालमा कार्यक्रमका लागि आएँ। यहाँ आएपछि आफ्नो देशको दर्शकको माया र पपुलारिटीको कारण यहाँको मायाले तान्यो र नेपालमै रहेर सांगीतिक यात्रालाई निरन्तरता दिएँ। इन्डियामै बसेर गाएको भए पनि मैले सफलता त अवश्य पाउँथें नै, तर नेपाली दर्शकले दिनुभएको मायाका कारण यहीं नै ठीक लाग्यो। सायद, मैले शुरूमा माया र कदर नपाएको भए उदितनारायण झा जस्तै म पनि इन्डियामा गाइरहेको हुन्थें होला।

तपार्इंले विज्ञापन र टेलिसिरियलमा पनि काम गर्नुभएको छ। कतै हिरो बन्ने सोच पनि थियो कि?

हिरो नै बन्छु भन्ने सोच त थिएन, तर साथीहरूले टेलिफिल्म निर्माण गर्नुुहुन्थ्यो। मलाई पनि अभिनय गर्नुपर्छ भन्नुुहुन्थ्यो, त्यस कारण अभिनय गरेको थिएँ। दुईतिर पाउ राख्दा कतै पनि सफल भइँदैन। त्यसकारण एउटा क्षेत्रमा मात्र लागेँ। उदितजी पनि पहिले एक्टर हो, तर पछि उहाँले गायनलाई निरन्तरता दिँदा गायनमा सफल हुनुभयो। मैले पनि एक्टिङलाई भन्दा पनि गायनलाई प्राथमिकतामा राखै। तर, गाउनका लागि एक्टिङ पनि चाहिन्छ। गीत गाउँदाखेरि त्यसमा डुबेर फिल गरेर गाउनुपर्छ। कतिपय आफ्ना गीतको म्युजिक भिडियामा मैले अभिनय गरेको छु। अभिनय आवश्यक कुराचाहिँ हो।

पछिल्लो समयको सांगीतिक क्षेत्रलाई कसरी नियालिरहनुभएको छ?

पछिल्लो समय नेपाली गीत–संगीत राम्रो अवस्थामा अघि बढिरहेको छ। नेपालमा पनि गायन रियालिटी शोहरू भइरहेका छन्। जुन काम नेपाल टेलिभिजनले गर्नुपर्ने थियो, त्यो काम प्राइभेट टेलिभिजनले गरिरहेका छन्। यस्तो कार्यक्रम यो क्षेत्रमा आउनेका लागि अवसर बनेको छ। पहिले त गायन क्ष्ँेत्रमा आउन सजिलो थिएन, अहिले निकै सजिलो छ।