नदीजन्य पदार्थ उत्खनन्बाट थप सवा करोड राजस्व



हेटौंडा, ।

मकवानपुरगढी गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन्बाट थप सवा करोड राजस्व उठाउने भएको छ । नदीजन्य पदार्थ उत्खनन् गर्दा थप २८ हजार घनमिटर नदीजन्य पदार्थ संकलन भएको पाइएपछि गाउँपालिकाले थप राजस्व संकलन गर्न सफल भएको हो ।स्वीकृत १ लाख ३५ हजार घनमिटरमा १ लाख ६३ हजार ८ सय ७४ घनमिटर नदीजन्य पदार्थ उत्खनन् भएको थियो । सामरी खोलामा ज्यालादारीका कामदार र स्वयम्सेकको बदमासीका कारण नदीजन्य पदार्थ उत्खनन् बढी भएको पुष्टि भएको छ । सोही बढी उठेको नदीजन्य पदार्थ बिक्री गर्दा पालिकालाई राजस्व पनि बढी उठ्ने गाउँपालिका प्रवक्ता भागवत् घिमिरेले जानकारी दिनुभयो ।

बढी उत्खनन् गरिएको नदीजन्य पदार्थको परिमाण २८ हजार ८ सय ६१ को हाल बिक्री मूल्य उत्खनन्सहित १ करोड २२ लाख १८ हजार ५ सय ९२ रुपियाँ गाउँपालिकालाई थप राजस्व रकम प्राप्त हुने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।गाउँपालिका कार्यालयले पत्रकार सम्मेलन गर्दै ज्यालादारी कर्मचारीको बदमासीले नदीजन्य पदार्थ बढी संकलन भएको जानकारी गराएको हो । सामरी खोलाबाट वर्षाको समयमा खोलाको सतह बढेर बस्तीमा खोला पस्ने जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन् गरेको थियो ।बस्ती जोगाउन उत्खनन् गरिएको नदीजन्य पदार्थ खोला क्षेत्रमै घाटगद्दी गरेर राखिएको थियो । उक्त घाटगद्दी गर्दा ज्यालादारी कर्मचारीले बढी उत्खनन् गरेको र यसलाई राजनीतिक दल, पत्रकारले चासो देखाएपछि गाउँपालिकाले कदम अगाडि बढाएको थियो ।

गाउँपालिकाका अनुसार नदीजन्य पदार्थ उत्खनन्मा खटिएका ज्यालादारीका कामदार र स्वयम्सेवकले प्रतिट्रिपका आधारमा गाउँपालिकालाई हिसाब बुझाएको पाइएको छ । हिसाबमा उनीहरुले १ लाख ३५ हजार घनमिटर नदीजन्य पदार्थ रहेको भन्ने प्रतिवेदन दिएको प्रवक्ता घिमिरेले बताउनुभयो ।उक्त प्रतिवेदनकै आधारमा नदीजन्य पदार्थ बिक्री गर्दा नेपाली कांग्रेसले नदीजन्य पदार्थ उत्खनन् परिमाणमा चित्त नबुझेको भन्दै पालिकाको ध्यानाकर्षण गराएको थियो । उत्खनन् गरेर राखिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति र गाउँपालिकाको प्राविधिक टोलीले नाप गर्दा स्वीकृत भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरिएको पत्ता लागेको थियो ।

गाउँपालिकाका प्रवक्ता घिमिरेले ६ नम्बर वडामा मात्र घाटगद्धी गरिएको नदीजन्य पदार्थमा बढी उत्खनन् भएको पाइएको जानकारी दिनुभयो । प्रवक्ता घिमिरेले भन्नुभयो–सामरी खोलामा धेरै स्थानमा नदीजन्य पदार्थ थुपारेर राखिए पनि ६ नम्बर वडाको एउटा थुप्रोमा मात्र बढी देखिएको हो । प्रवक्ता घिमिरेले स्वयम्सेवक कामदारका कारण झण्डै गुमेको राजस्व उठाउने भूमिका खेलेकोमा पालिकाभित्रका राजनीतिक दललाई धन्यवाद दिनुभएको छ ।

नदीजन्य पदार्थ उत्खनन्मा ज्यादालारी कामदार र स्वयम्सेवकले बढी उत्खनन् गरेको आवाज उठेपछि पालिकाले तत्काल कदम चालेको पाइएको छ । पालिकाले सर्वदलीय बैठक बोलाएर सबै दलको निगरानीमा डम्पिङ गरी राखेको बाँध झोलुङगे पुलमुनिको थुप्रोबाट नदीजन्य पदार्थ बिक्री बितरण गर्ने कार्य गरिएको जनाइएको छ ।गाउँपालिकाबाट जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको थुप्रोको परिमाण थप घटबढ हुनुका कारण तथा नदीजन्य पदार्थमा देखिएको विवादबारे यथार्थ विवरण गाउँकार्यपलिकामा पेश गर्न गाउँ कार्यपालिकाको बैठकले पालिका उपाध्यक्षको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्