गाउँघरमै निःशुल्क परिवार नियोजन सेवा



नेपाल समाचारपत्र, बैतडी । 

स्वास्थ्य कार्यालय बैतडीले परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यसहित बैतडी जिल्लाको विभिन्न स्थानीय तहमा निःशुल्क परिवार नियोजन शिविर सञ्चालनमा आएको छ । जिल्लाका आठ स्थानीय तहका विभिन्न स्वास्थ्य चौकीमा शिविर सञ्चालनमा रहेको हो ।

पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्य चौकीबाट मंसिर ५ गतेदेखि शुरु भएको भएको शिविर मंसिर २३ गते डिलाशैनी गाउँपालिकाको सिमार स्वास्थ्य चौकीमा समापन हुने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिनुभयो । हाट र कुवाकोट सञ्चालन भएको शिविरमा २२ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । हाटमा ८ र कुवाकोटमा १४ जनाले बन्ध्याकरण गरेका उहाँको भनाइ छ । सन्तानको रहर पुगिसकेकाहरुलाई गाउँमै सेवा दिने उद्देश्यले स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा र सुनौलो परिवार नेपाल (मेरी स्टोप्स इन्टरनेसनल) को प्राविधिक सहयोगमा शिविर सञ्चालनमा रहेको हो ।

स्थायी बन्ध्याकरणअन्तर्गत भ्यासेक्टोमी र मिनिल्याप तथा लामो अवधिका लागि अस्थायी साधन आईयूसीडी र इम्प्लान्ट सेवा दिनको लागि शिविर सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।उक्त शिविर सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्य चौकीमा मंसिर ९ गते, मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ११ गते, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा १२ गते र शर्माली स्वास्थ्य चौकीमा १३ गते, पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकीमा १५ गते, सुर्नया गाउँपालिकाको वासुलिंग स्वास्थ्य चौकीमा १७ गते र रौलेश्वर स्वास्थ्य चौकीमा मंसिर १८ गते शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यस्तै, जिल्लाको दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्य चौकीमा २० गते र पन्ज्युनयामा २२ गते तथा डिलाशैनी गाउँपालिकाको सिमार स्वास्थ्य चौकीमा मंसिर २३ गते शिविर सञ्चालन गरिनेछ । व्यवस्थित परिवार बनाउन चाहने दम्पतीहरुलाई शिविरमा सेवा लिन समेत स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्